शान्ति आचार्यकी सानीछोरी घरि हात र घरि घुँडा टेकेर भुइँमा खुरखुर घस्रन्छिन्, घरि खुट्टा कमाउँदै थिरथिर उभिन्छिन्।
छोरीको धर्मर पाइला र तोतेबोलीले शान्तिका आँखामा खुसीको बिजुली चम्किन्छ। अनि, एकैछिनमा मुटु गाँठो परेर आउँछ। ओठ थर्थराउँछन्। आँखाको बिजुली गड्गडाउँदै असारेझरी बर्सिन थाल्छ।
मुटु तेजाब खन्याएजस्तो भत्भती पोल्छ।
नानीका बाबा सँगै भइदिएका भए कति खुसी हुन्थे होलान्! चिच्याउँदै उनलाई बोलाउँथे होलान्, ‘शान्ति, हेर त छोरी उभिई!’
उनी एकछिन भान्छामै अल्मलिइरहन्थिन्, वा नसुनेझैं गर्थिन्! नानीका बाबा आफ्नो उत्साह थाम्न नसकेर फेरि चिच्याउँथे होलान्! उफ्रँदै भान्सामै आइपुग्थे होलान्! उनको हातै समातेर तान्दै बाहिर ल्याउँथे होलान्! छोरीतिर इसारा गर्दै भन्थे होलान्, ‘हेर त, हाम्री छोरी हिँड्ने भई!’
थिरथिर गर्दै भित्ताको भर लिन खोजिरहेकी छोरी बल्डङ्ग भुइँमा पछारिँदा उनी अत्तालिँदै अघि सर्थे होलान्। र, छोरीको हात समाएर फेरि उभ्याउन खोज्दै भन्थे होलान्, ‘थिरथिर छोरी थिरथिर, थिरथिर छोरी थिरथिर!’
नभन्दै भुइँमा पछारिएर छोरीको घुँडा दधारिन्छ। घरको आँगनमा विचरण गर्न पुगेको शान्तिको मन भकुन्डोजस्तो हुत्तिँदै फेरि लमजुङ कारागारको उही बन्द कोठाभित्र खस्न आइपुग्छ, जहाँ उनले लालाबाला स्याहार्दै पतिको वियोगमा छट्पटिएको तीन महिना बितिसक्यो। उता, उनका पति प्रमोद सुनार त्यति नै समयदेखि तनहुँ कारागारमा छन्।
बहुविवाहको मुद्दामा बन्दी जीवन बिताइरहेका भए पनि उनीहरूले सजाय त्यसबेला मात्र पाए जब बिहे भएकै चार वर्ष नाघिसकेको थियो, दुइटी छोरी नै जन्मिसकेका थिए।
आज पनि शान्ति दुई छोरी स्याहार्दै त्यो दिनको प्रतीक्षामा छिन्, जब उनी र उनका पति दुवै जेलमुक्त हुनेछन् र नयाँ जिन्दगीको सुरुआत हुनेछ।
त्यो दिन छोरीहरू रुँदा उनी कारागारको अँध्यारो भित्तामा कोतरिएका आकृतिहरू होइन, खुला आकाशमा पखेटा फिँजाउँदै उडिरहेका चराहरू देखाउनेछिन्। रुखका हाँगाबाट बजिरहेका चराका गीत सुनाउनेछिन्। इन्द्रेणीको रंग देखाउनेछिन्। सिमसिम पानीमा भिजेको कलिलो माटोको सुवास सुँघाउनेछिन्।
र, भन्नेछिन्, ‘छोरी, संसार त्यति साँघुरो छैन, जतिमा तिम्रा गोडाहरू अटाउँथेनन्, यो त यति फराकिलो छ, जति तिम्रो कल्पनाले पनि समेट्न सक्दैन।’
***
सदरमुकाम बेसीसहर, सेराबजारको खेतमाथि छ लमजुङ कारागार।
फलामे साङ्लोले कसिएको फलामको ढोका प्रहरीले उघारिदिए। सानीछोरी काँधमा बोकेर ठूलीलाई दाहिने हातको औंलाले र्डोयाउँदै बाहिर निस्किइन्, शान्ति।
अघिसम्म आमाको औंला समाउँदै टुकुटुकु हिँड्दै आएकी छोरी आफू वरिपरि मान्छेको भीड देखेर आमाको म्याक्सीको फेर समाउन पुगिन्।
‘जे कुरा गर्नुछ हाम्रै अगाडि गर्नू है,’ जेलका कर्मचारीले आदेश दिए।
सुरक्षाकर्मीले शान्तिलाई बस्न कुर्सी देखाइदिए। त्यही छेउको कुर्सीमा म केही बेरदेखि बसिरहेकै थिएँ, शान्तिलाई कुरेर।
शान्तिका रसिला गहिरा आँखाबाट अनेक प्रश्नको भेल उर्लिरहेको म प्रस्टै देखिरहेकी थिएँ। काठमाडौंदेखि बिनासूचना टुपुल्किएको अनपेक्षित आगन्तुकलाई देखेर को छक्क नपरोस्!
‘त्यति टाढा देखुन् आउनुभएछ,’ उनले काँधमा बोकेकी छोरीलाई काखमा बिसाउँदै भनिन्, ‘के सोध्नुथ्यो र त्यस्तो?’
सानीनानी आमाको काँधबाट काखमा पसारिन पाएपछि खुसीले लडिबुडी गर्न थालेकी थिइन्। गुच्चाजस्ता चम्किला आँखाले उनको अनुहार धपक्कै बलेको थियो। उनी चुलबुले थिइन्। घरिघरि लडिबुडी गर्दै आमाको काखबाट भुइँमा झर्न खोज्थिन्। शान्ति फेरि उनलाई सम्हालेर काखमै गुट्मुट्याइहाल्थिन्।
ठूलीछोरीले भने आमाको म्याक्सीको फेर छाडेकै थिइनन्। उनी त्यसलाई मुखभित्र छिराएर जिब्रोले चलाउँथिन्, अनि भिजेको कपडा ओठमाथि टाँसेर जुँगा बनाउँथिन्। जुँगा भएको आकृतिमा उनी आफ्नो बाबुको छवि देख्छिन्, सायद।
उनका गोडाका बूढी औंलाले एकोहोरो भुइँ कोतरेको कोतर्यै थियो। उनको औंला टाढिएका बाबुलाई खोज्दै थियो, सायद।
म उनलाई हेर्दै मुसुक्क हाँसे। उनी लाजले आमाको काखमा लुट्पुटिन गइन्। बहिनीसँगै टाँसिइन्।
‘साढे दुई वर्ष भइन् यिनी, तीन महिनादेखि जेलमा बसेर होला, बाहिरको मान्छे देखे कि डराउँछे,’ शान्तिले भनिन्।
‘अनि यी नानी?’ मैले उनको काखमा खेलिरहेकी सानीछोरीतिर इसारा गरेँ।
‘दस महिना पूरा भई,’ उनले भनिन्, ‘आफू त सजाय भोग्न याँ आइयो, यी बालखाहरूले पनि सानैमा जेल बस्नुपर्छ भनी पुर्पुरोमा लेखेर ल्या रैछन्, के गर्नु!’
‘अब त छुट्ने बेला भैहाल्यो नि?’ मैले सोधेँ।
जेलमा राम्रो व्यवहार गरे जेलरले आधा कैद माफीको सिफारिस गर्न सक्ने मैले सुनाएँ।
‘अझै तीन महिना त बस्नुपर्छ होला।’
यति भनेर उनी भुइँतिर टोलाइरहिन्। सायद मेरो आगमनको कारण जान्न उत्सुक थिइन्।
‘म तपाईंको कथा सुन्न आको,’ मैले भनेँ, ‘पत्रिकामा तपाईंको समाचार पढेँ, अझ धेरै कुरा जान्न मन लाग्यो ।’
उनी एकछिन चुप्पै लागिरहिन्। आँखा टिलपिल थिए। दाहिने हातले ठूलीछोरीको पातलो कपाल मुसारिरहेकी थिइन्। जेलमा भन्किने एउटा माखो कताबाट भुनभुन गर्दै सानीछोरीको नाकैमा बस्न आइपुग्यो। उनी चल्मलाइन्। आँखा झिमझिम गरिन्। शान्तिले हात हम्केर माखो भगाइन्। छोरीको छाती विस्तारै थप्थपाइन्। गुच्चाजस्ता आँखाका नानी चम्किए। उनी हातले आमाको गाला मुसार्न थालिन्। घरि कपाल तान्थिन्, घरि आमाको मुखमा हात लगेर खेल्न खोज्थिन्।
यी बालखालाई आफू कहाँ छु, किन छु भन्नेसँग के मतलब! यिनका लागि त जहाँ आमा त्यहीँ स्वर्ग!
‘अलिअलि त समाचारमा पनि थियो, त्यो पढेर मलाई झन् बढी खुल्दुली भयो,’ मैले फेरि कोट्ट्याएँ, ‘तपाईं कसरी यहाँ आइपुग्नुभो, किन आइपुग्नुभो, सब जान्न मन लाग्यो।’
‘सम्चारमा के–के पढ्नु भो म जान्दिनँ, तर याँसम्म आउनुभो, म भन्छु आफ्नो कथा,’ उनी राजी भइन्, ‘फोटो चाहिँ खिच्न पाउनुहुन्न। यहाँको फोटो संसारलाई देखाउन मन छैन।’
उनको सर्तमा म पनि राजी भएँ।
***
यो शान्ति र प्रमोदको प्रेमकथा हो। यस्तो प्रेमकथा, जसले जातीय विभेदको सामाजिक जकड तोड्ने हिम्मत गर्यो।
यो कथा २०६६ सालबाट सुरु हुन्छ, जतिबेला तनहुँ, भोर्लेटारकी शान्ति व्यास नगरपालिका, दमौलीमा क्याम्पस पढ्न थालिन्।
शान्ति र उनका साथी भोर्लेटारबाट दमौली जाँदा दिनहुँ जुन बस चढ्थे, त्यही बस चलाउँथे प्रमोद। सिनेमाजस्तो पहिलो नजरको प्रेम होइन यो। दुई वर्ष एउटै गाडीमा एउटै ठाउँ ओहोरदोहोर गरेपछि बल्ल उनीहरूबीच प्रेम टुसाउन थालेको थियो।
‘बोलीचाली र अरूलाई गर्ने व्यवहार एकदम राम्रो छ उहाँको,’ शान्ति लजाउँदै हाँसिन्, ‘पछि पछि मलाई त्यही कुरा मन पर्न थाल्यो।’
प्रमोदले धेरै पढेका थिएनन्। शान्तिलाई त्यसको कुनै परवाह थिएन। नपढे पनि उनको बुद्धि आफूले चिनेका धेरैका भन्दा तेज छ भन्ने शान्तिलाई लाग्थ्यो। ‘म १२ कक्षा पढेकीको भन्दा उहाँको बुझाइ राम्रो छ, उहाँ जुनसुकै कुरा छिटो बुझ्नुहुन्छ,’ उनले प्रमोदको तारिफ गरिन्, ‘संसारमा पढ्नु नै सबथोक हो र!’
शान्तिका बुवा ६ महिना भारत बस्थे, ६ महिना घर। दुई दिदी–बहिनी र एक भाइसहित पाँच जनाको परिवार थियो उनको। घरको सानोतिनो काममा आमालाई सघाउनुबाहेक शान्तिको काम पढ्नु मात्र थियो। बाह्र कक्षा पढ्दापढ्दै घरमा बिहेको कुरा चल्न थाल्यो। बढेकी छोरीलाई धेरै घरमा राख्न हुन्न भन्दै नातागोताका मान्छे आमाको कान भर्न थाले। दस गाउँबाट दसथरीका मान्छेको प्रस्ताव आउन सुरु भयो।
शान्ति त दृढ थिइन्। प्रमोदबाहेक अरू कसैसँग विवाह गर्ने कल्पनासम्म गरेकी थिइन।
प्रमोदले भने शान्तिको हात माग्ने आँट गरेनन्। उनलाई थाहा थियो, सँगसँगै धड्किने यी दुई मुटुको बीचमा जातीय विभेदको गहिरो खाडल छ। त्यो खाडल नाघ्न उनीहरूले ठूलै छलाङ मार्नुपर्नेछ। छलाङ नपुगे विभेदको रसातलमै भासिनुपर्नेछ।
भारतमा जन्मेहुर्केकी शान्तिलाई भने समाजको यो जकडबारे उतिसारो भेउ थिएन। उनको परिवार सुरुमा रुपन्देही र त्यहाँबाट मामा–हजुरबुवाको घर तनहुँ आएको थियो। तनहुँ आउँदा उनी ८ कक्षा पढ्ने भइसकेकी थिइन्। गाउँको रितिथिति भोगेर हुर्केबढेकी भए उनले घरगाउँ र स्कुलमै छुवाछुत देखिसकेकी हुन्थिन्। र, बाहुनकी छोरी भएर सुनार केटोसँग प्रेम गर्नु भनेको कति ठूलो सामाजिक चुनौती मोल्नु हो भन्ने अन्दाज गरिसकेकी हुन्थिन्।
प्रमोद भने जन्मेदेखि नै यो जकडमा बेरिँदै आएका थिए।
‘हामी तल्लो जातका हौं शान्ति,’ उनले सम्झाउन खोजे, ‘तिम्रो घरमा मैले छोएको पानी चल्दैन।’
‘के भो त, तपाईं मान्छे होइन?’ उनले सोधिन्।
‘तिम्रा बाआमालाई सोधी हेर न त,’ प्रमोदले भने।
शान्तिले त्यसपछि आफ्नो घरमा ‘तल्ला’ जातिलाई गरिने व्यवहार नियाल्न थालिन्। प्रमोदले भनेको साँच्चै रहेछ– अन्तर–जातका दुई मुटुलाई त सँगै धड्किने अधिकार पनि खोसेको रहेछ समाजले!
जहाँ रगतमै विभेद छ भनिन्छ, त्यहाँ माया गर्ने मुटुको के मोल!
तर, जातपातको पर्खाल जति अग्लो भए पनि प्रेमको लहरालाई त्यसको उचाइँले के रोक्न सकोस्! त्यो त जसरी पनि झांगिन्छ। बरु झ्यांगिदै झ्यांगिदै कुनै दिन यति घना हुनेछ, कसैले त्यहाँ जातपातको पर्खाल थियो भन्ने नै पत्तो पाउँदैनन्।
एकदिन प्रमोदले भने, ‘बाआमाको अनुमतिमा बिहे गर्ने भनेको अर्को जूनीको कुरा हो शान्ति, म तिमीलाई अर्को जूनीसम्म पर्खन सक्दिनँ।’
उनले शान्तितिर दाहिने हात बढाए।
शान्तिले आफ्नो देब्रे हात अघि सारिन्।
२०६८ कात्तिक अन्तिम साता उनीहरू केही थान लुगा झोलामा कोचेर घरबाट भागे।
गाउँभरि हल्ला चल्यो– शान्ति ड्राइभरसँग भागी अरे!
तीन दिनपछि प्रमोद शान्तिलाई लिएर सुटुक्क आफ्नो घर फर्के। यसबीच शान्तिका माइती र मावली उनीहरूलाई धुइँपत्ताल खोजिरहेका थिए। भेटिहाले शान्तिलाई जबर्जस्ती घर फर्काइने डर थियो।
‘मैले त घर छोड्नुपरेको पिरमा रुन पनि पाइनँ,’ सानीछोरीको अनुहार हेर्दै उनले भनिन्, ‘उहाँसँग छुट्टिनुपर्छ कि भन्ने डरले मुटु गाँठो परिरहन्थ्यो, आमाबाको सम्झनामा रुनलाई समय नै भएन।’
घर फर्केको दोस्रो दिन नै प्रमोदले शान्तिको सिउँदोमा आफ्नो प्रेमको रङ भरिदिए। उनको परिवारले धुमधामसँग छोराबुहारी भित्र्यायो।
विवाहपछि उनीहरू धादिङतिर बस्न थाले।
माइतीतर्फ सम्बन्ध चटक्कै टुटे पनि प्रमोदको माया पाएर शान्ति आफूलाई भाग्यमानी नै ठान्न थालेकी थिइन्। तर, सुखद दाम्पत्य जीवनको सपना साँचेर हिँडेको एक महिना पनि बितेको थिएन, शान्तिको जिन्दगीमा अर्को बज्रपात पर्यो।
उनले थाहा पाइन्, प्रमोदको त अर्की श्रीमती पनि रहिछे।
उनलाई आफ्नो मुटु रक्तनलीहरूसँग बेरिएर घाँटीसम्मै आइपुगेजस्तो भयो। फोक्सोहरू सासनलीसहित बाहिर उछिट्टिएलाजस्तो भएर आयो। घरको दलिन फनफनी घुमेर थिच्नै आउँछ कि जस्तो लाग्यो। उनी धर्मराउँदै भुइँमा थुचुक्कै बसिन्। निकै बेर छट्पटाइरहिन्। सारा आकाशै च्यात्तिने गरी चिच्याउन मन लाग्यो, तर सकिनन्।
आक्रोश, अपमान र धोकाको विष चुपचाप घुटुक्क पिइन्। कसैले नदेख्ने गरी।
उनलाई प्रमोदको पहिलो विवाहको खबर त्यसबेला मात्र थाहा भएको थियो, जब उनकी पहिली श्रीमतीले अदालतमा मुद्दा हालेकी थिइन्।
यो घटनापछि उनलाई आमाको बेस्मारी याद आयो। उनी पछुतो मान्दै माइत फर्किइन्। आमा त पिरैपिरले ओछ्यानै परेकी थिइन्।
एक महिनापछि प्रमोद आइपुगे।
‘मैले गल्ती गरेँ,’ उनले अँध्यारो अनुहार लाउँदै भने, ‘तिमीलाई त्यो कुरा भनेको भए तिमी मलाई हेर्दैनथ्यौ भन्ने डर लाग्थ्यो।’
खासमा प्रमोदको मागीबिहे भएको रहेछ। तर, जुन केटीसँग उनको बिहे हुन आँटेको थियो, तिनी लगनकै दिन भागिछन्। त्यसपछि उनले अर्कै केटीलाई दुलही बनाएर ल्याएछन्। बिहे भएदेखि नै उनीहरूको खटपट सुरु भएछ।
‘मलाई उ मन परेकै हैन,’ प्रमोदले शान्तिलाई फकाउँदै भने, ‘उसले पनि मसँग बस्न मन गरिन र माइत गई। हाम्रो बिहे भए पनि उसको र मेरो सम्बन्ध पराईको जस्तै छ।’
सबै कथा सुनेपछि शान्तिको मन पग्लियो। त्यो एक महिना प्रमोदसँग टाढिएर बस्दा उनलाई पनि कम्ता सकस भएको थिएन।
मनका सबै गुनासा आँसुका ढिक्का बनेर बगे।
शान्तिकी आमा भने मान्दै मानिनन्।
‘हैन आमा, उहाँले झूट बोलेको हैन, जे भयो भयो म त जान्छु,’ शान्तिले अड्डी लिइन्।
अनि त, आमाले पनि बाटो रोक्न सकिनन्।
त्यसपछि चार वर्ष उनीहरूले सँगै बिताए। छोरीहरू जन्मे। सासू–ससुरा र परिवारका सबैबाट खुबै माया पाइन्। बिहेपछि छाडेको पढाइ पनि सुरु गरिन्। यसै वर्ष उनको परीक्षा थियो।
‘यो वर्ष परीक्षा दिनै नपाउने भएँ,’ शान्तिको अनुहार मलिनो भएर आयो।
‘जेलमा पनि परीक्षा दिने व्यवस्था हुन्छ नि!’ मैले भनेँ।
‘खै मलाई त थाहै छैन,’ उनले भनिन्।
छेउमै उभिएर हाम्रो कुरा सुनिरहेका प्रहरीले भने, ‘शिक्षा कार्यालयबाट अनुमति लिनुपर्छ, फर्म भरे हुन्छ।’
‘होस्, अब यो वर्ष त हाँसेरै जान्छ, पाँच वर्षसम्म त परीक्षा दिन पाइन्छ नि,’ शान्तिले भनिन्, ‘पढ्न, जागिर खान अझै कति समय बाँकी छ।’
यतिञ्जेल सानीछोरीको चकचक थामिएको थिएन। उनी आँखा ठूल्ठूलो पार्दै ट्वालट्वाल्ती घरि आमालाई, घरि मलाई हेरिरहेकी थिइन्। ठूलीछोरी भुइँमा टुसुक्क बसेर आमाका आँखा नियालिरहेकी थिइन्। हाम्रो कुराकानीका बीचमा ती आँखा धेरैचोटि आकाशको कालो बादलझैं बर्सिन–बर्सिन खोजेका थिए।
शान्तिले सानीछोरीलाई काखबाट उठाउँदै भनिन्, ‘ठूलीलाई त बाआमासित जेलमा छु भन्ने थाहा छ, यी सानीले चाहिँ बालाई पनि बिर्सिसकी।’
शान्तिकी आमाले छोरीहरूलाई लैजान खोजेकी थिइन् रे, तर शान्तिले दिइनन्। ‘बचेराबिना माउ कसरी बस्नसक्छ गुँडमा, उहाँ पनि हुनुहुन्न, यिनकै मुख हेरेर त बाँचेकी छु, यिनलाई पनि चुँडालेर लैजाने हो भने म त जरा निमोठेको डाँडजस्तै भइहाल्छु नि,’ शान्तिले मनको बह पोखिन्।
‘आमाबाले तपाईंहरूको बिहे स्विकारिसक्नुभयो?’ मैले सोधेँ।
‘अँ,’ शान्तिको अनुहार तेजिलो देखियो, ‘मेरो बिहेपछि आमा ओम शान्तिमा लाग्नुभयो, त्यहाँ प्रवचन सुन्दासुन्दै जातपात केही होइन रहेछ भन्ने लागेछ। पछि उहाँले नै मलाई बोलाएर घर भित्र्याउनुभयो।’
‘आमाले नबोलाएको भए मलाई मनमा कतै न कतै नराम्रो गरेँ कि भन्ने जिन्दगीभर हुने थियो होला।’
गाउँलेले भने अझै कुरा काट्छन् रे। आमा सुने–नसुन्यै गर्दिरहिछन्। बरु शान्तिलाई नै अर्काको कुरा सुन्नुपर्दा मुटु बिझाउँछ। त्यसैले, हत्तपत्त माइतधरि जाँदिनन्।
***
प्रेमविवाह गरेका शान्ति र प्रमोदलाई जसको उजुरीका आधारमा अदालतले जेल सजाय दियो, उनी (प्रमोदकी पहिली पत्नी) आफैं दोस्रो विवाह गरेर गइसकेकी छन्।
यस्तो कसरी भयो त?
त्यो कात्तिक अन्तिम साताको बेला थियो। आँगनमै तिहार नाचिरहेका बेला एक साँझ घरमा नयाँ मानिस आए।
‘तपाईंका श्रीमान कहाँ हुनुहुन्छ?’ एक जनाले सोध्यो।
‘काठमाडौं!’
त्यतिखेर प्रमोद वैदेशिक रोजगारका लागि अरब जाने भिसा लगाउन काठमाडौं गएका थिए।
ती मानिस त्यत्तिकै फर्के। केही छिनपछि प्रहरी आएर भने, ‘श्रीमानलाई बोलाउनुहोस्, तपाईंहरूलाई जिल्ला अदालतले ५ हजार जरिवाना सुनाएको छ, तिर्नपर्यो!’
शान्तिको मन चिसो भयो। उनलाई प्रमोदकी पहिली श्रीमतीले जिल्ला अदालतमा बहुविवाहको मुद्दा हालेकी छन् भन्ने बल्ल याद आयो। उनी आफैं दोस्रो विवाह गरेर गइसकेकी र अंशदाबीसमेत नगरेकीले उनीहरूले त्यो मुद्दा बिर्सिसकेका थिए। कानुनको ज्ञान नभएका उनीहरूलाई त्यो मुद्दा स्वतः खारेज भयो भन्ने लागेको थियो।
‘हामीलाई त थाहै थिएन, कहिले फैसला भएको हो?’ उनले सोधिन्।
‘अदालतले तपाईंहरूलाई बोलाएको थियो,’ ती प्रहरीले भने, ‘तपाईंहरू आउनुभएनछ।’
‘हामीलाई अदालतले सूचना दिएकै थाहा भएन, नभए त हामी पनि आफ्ना कुरा राख्न जान्थेम!’ उनले सफाइ पेस गरिन्।
‘अब अदालतले फैसला सुनाइसक्यो, हाम्रो काम कार्यान्वयन गर्ने हो, श्रीमानलाई बोलाउनुहोला, हामी भोलि नै आउँछौं,’ यति भनेर उनीहरू गए।
शान्तिको मनमा हुन्डरी चल्न थाल्यो। उनले तुरुन्तै प्रमोदसँग मोबाइलमा कुरा गरिन्। उता, प्रमोदको मेडिकल जाँच सकिसकेको थियो। विदेश जाने अन्तर्वार्ताधरि पास भइसकेका थिए उनी।
‘अब अदालतले भनेको जरिवाना तिरेर मात्र (अरब) जानुहोला, त्यति गरेपछि ढुक्क हुन्छ,’ शान्तिले भनिन्, ‘बरु आजकै नाइटमा आउनू, भोलि फर्के हुन्छ।’
प्रमोद गाउँ फर्के। भोलिपल्ट प्रहरी आए। ठूलीछोरीलाई डोर्याउँदै, सानीलाई काखमा च्यापेर शान्ति र प्रमोद प्रहरीको पछि लागे। अदालत गएपछि थाहा भयो, उनीहरूलाई एक–एक वर्ष जेल सजाय पनि तोकिएको रहेछ। त्यो बेला उनीहरू दुवैलाई भाउन्न भयो। छाँगाबाट खसेजस्तै भए। पैतालामुनिको जमिन भासिएजस्तो गरी लर्खराए।
जीवनभर देखेका रंगीन सपना एकैचोटि भष्म भयो। जेलको कहालीलाग्दो भविष्य एकाएक शान्तिका आँखाबाट बर्बरी झर्न थाले।
प्रमोदलाई तनहुँकै कारागारमा राखियो। शान्तिलाई भने त्यहाँ ठाउँ नभएर लमजुङ सरुवा गरियो। पुतलीजस्ता नानी सम्झेर उनको मुटु सिसाझैं चिराचिरा भयो। छोरीहरूबाट अलग्गिएर कहिल्यै एक्लै नबसेकी शान्तिले दुवैलाई आफूसँगै लैजाने निर्णय गरिन्।
‘अदालतमा मुद्दा परेको थाहा भए पनि त्यहाँ गएर हामीले आफ्ना कुरा राख्नै पाएनौं,’ शान्तिले भनिन्, ‘पाएका भए हामी निर्दोष ठहरिन्थ्यौं।’
यहाँ कारागारभित्र कैदीहरूका लागि एउटा टेलिफोन छ। बिहान १० देखि बेलुकी ५ बजेसम्म आफन्तले फोन गरे बोल्न पाइन्छ। प्रमोद दिन बिराएर तनहुँ जेलबाट फोन गरिरहन्छन्। बाबाको फोन आएको थाहा पाएपछि ठूलीछोरी आफैं कुरा गर्न अघि सर्छिन् रे।
‘बाबा, हामीलाई लिन कहिले आउनुहुन्छ?’ फोनमा छोरीको प्रश्नले शान्तिको मन भरिएर आउँछ।
उता, बाबाको मन कति अमिलो हुँदो हो!
प्रमोद पनि फोन गरेपिच्छे छोरीहरूकै बारेमा सोधिरहन्छन्। जेलका चार पर्खालभित्रको दैनिकी हरदिन के फरक हुन्थ्यो र, तै उनी एउटै कुरा सोधिरहन्छन्, ‘छोरीहरूलाई कस्तो छ?’ ‘मलाई सम्झिन्छ कि सम्झिन्न?’ ‘अनि, तिमीलाई कस्तो छ शान्ति?’
अन्तिम प्रश्न सुन्दा शान्तिका आँखा भरिएर आउँछन्।
‘ठिकै छु,’ यति भन्दा–नभन्दै उनका आँखाबाट झरी बर्सिन थालिसकेको हुन्छ।
शान्ति सुँक्सुँकाएको सुनेपछि प्रमोद सम्झाउन थाल्छन्, ‘अब ६/७ महिना त हो नि, त्यसपछि हाम्रो जिन्दगीमा लागेको यो ग्रहण सकिनेछ।’
शान्ति त्यही दिनको प्रतीक्षामा छिन्, जब उनका दुई छोरी बाबाको हात समाएर खेतमा निस्फिक्री दौडिरहेका हुनेछन्। उनीहरूको पछिपछि पखेटा फिजाउँदै खुला आकाशमा उडिरहेका हुनेछन्, चराहरु। रुखका हाँगाबाट बजिरहेको हुनेछ, चराका गीत। अनि, हावाले फैलाइरहेको हुनेछ, सिमसिम पानीमा भिजेको कलिलो माटोको सुवास।
र, उनी छोरीहरूलाई भन्नेछिन्, ‘छोरी, संसार त्यति साँघुरो छैन, जतिमा तिम्रा गोडाहरू अटाउँथेनन्, यो त यति फराकिलो छ, जति तिम्रो कल्पनाले पनि समेट्न सक्दैन।’
त्यतिबेला पर क्षितिजबाट सूर्यको लाली पोखिएर आकाश रंगीचंगी मुस्कुराइरहेको हुनेछ।
‘हामी समाजले बनाएको जातीय पर्खाल नाघेर त आयौं, तर हाम्रो प्रेमको अग्निपरीक्षा सकिएकै रहेनछ,’ शान्तिले विदा हुँदै भनिन्, ‘यो जेल बसाइ त्यही अग्निपरीक्षा हो, यसलाई पार गरेपछि चाहिँ हाम्रो जिन्दगीमा सुखैसुख लेखेको छ होला हगि!’
उनी मुसुक्क हाँस्दै फलामे साङ्लोले कसिएको फलामको ढोका नाघिरहेकी थिइन्।
सानीछोरी उनको काँधमा थपक्क बसेकी थिइन्। ठूलीछोरीले आमाको दाहिने हातको औंला समातेकी थिइन्। अलि पर पुगेपछि ठूलीछोरीले फर्केर हेरिन्। र, मुसुक्क हाँसिन्।
मैले हात हल्लाएँ।
उनी लाजले फरक्क फर्किन्।
प्रहरीले ढोका बन्द गरिदिए।