भर्खरै सरुवा भएर आएका पूर्वक्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले आर्थिक पारदर्शीतामा आफू अत्यन्तै कडा रहेको बताएका छन् । मंगलबार पत्रकारहरूसँग परिचयात्मक कार्यक्रम गर्दै घिमिरेले प्रहरीले अनुचित काम गरे सूचना दिन पनि अनुरोध गरेका छन् ।
‘आर्थिक पारदर्शीताका निम्ति म एकदम स्टिक छु,’ घिमिरेले भने, ‘सूचना दिएर सहयोग गर्नुहोला, म खुलारुपमा कारबाही गर्छु ।’
आर्थिक पारदर्शीताका सवालमा आफू फिल्डमै गएर कारबाही गर्न तयार रहेको बताए । उनले अपराध नियन्त्रण आफ्नो दोस्रो प्राथमिकता रहेको बताए । प्रहरी प्रधान कार्यालयले लागू गरेको अपराध नियन्त्रण योजनालाई प्राथमिकतामा राखेर अपराध अनुसन्धान, पुराना मुद्धा खोज्ने र आधुनिक प्रविधिद्धारा डिजिटलाइजेसन गर्नु आफ्नो कार्यकालको प्राथमिकता रहेको बताए ।
घिमिरेले तराई आन्दोलनले चुनौतीपूर्ण बन्दै गएको मधेसका जिल्लामा प्रहरीलाई नागरिकमैत्री बनाउन जरुरी रहेकाले त्यसलाई ध्यानमा राखेर कार्य थाल्ने बताए । एक महिनाभित्र पूर्वका १६ वटै जिल्ला गएर अपराध नियन्त्रण र सुरक्षाको स्थिति बुझेर ‘एक्सन प्लान’ बनाउने आफ्नो योजना रहेको सुनाए ।
घिमिरेले सिमावर्ती क्षेत्रमा हुने गरेको तस्करीलगायत गैरकानुनी काम रोक्न क्षेत्रीय अनुसन्धान टोली बनाएर सक्रिय गराउने पनि बताए । ‘अहिले पेट्रोलियम पदार्थको कालोबजारी जारी नै रहेको गुनासो आइरहेको छ, मैले पूर्वका सबै सुरक्षा प्रमुखहरूलाई कडाइसाथ नियन्त्रण गर्न निर्देशन दिइसकेको छु,’ उनले भने ।