दिउँसो २ बजेतिर उनको घर पुग्दा अगेनामा आगो फुक्दै थिए कमरेड ऋषि। श्रीमती पारिवारिक भेटघाटका लागि केही दिन माइत गएकीले स्कुल छुट्टीपछि घर फर्कने छोराछोरीलाई खाजाको धामा गर्दै थिए। नाकाबन्दीले ग्यास अभाव। त्यसमा पनि आर्थिक अभावले सकेजति काठका झिजालाई उपयोग गर्दै गरेको प्रस्टै देखिन्थ्यो।
ओदानमाथि तावाले छोपेको भाडोभित्र तरुल थियो। ‘के गर्नु यार, बूढी माइत गएको दुईतीन दिन भो। छोराछोरी स्कुलबाट आएपछि अर्नि खुवाउनु पर्यो नि। तरुल उसिन्दै छु।’
धबाङ ३ पेवाका स्थायी वासिन्दा हुन्, ऋािष। हाल लिबाङ ८ मेबाङमा बस्छन्।
एनेकपा माओवादी रोल्पा उपाध्यक्ष ऋषिराम रोकामगर। ४३ वर्षीय उनका एक दिदी र चार दाजुभाइमध्ये कान्छा हुन्। एक छोरा र एक छोरीका बाबु ऋषि २०४६ सालको जनआन्दोलनदेखि राजनीतिमा रहर गर्न थालेको थिए। २०५२ सालबाटै भुमिगत जीवनमा थालेका हुन्।
सदरमुकामस्थित बालकल्याण माविबाट एसएलसी सकाएका ऋषिले आइए पाल्पामा पढे। तर पास गर्न पाएनन्।भूमिगत अवस्थामा संगठन, स्वास्थ्य विभाग हुँदै लडाइँमा भाग लिए। सानाठूला दर्जनाैं लडाइँ लडेका देखेका ऋषि ‘समाज परिवर्तन’का लागि माओवादीमा लागेको सुनाउँछन्।
‘सुरुमा नबुझेरै लागियो। पछिल्लो समय भने दर्शनप्रति आकर्षित भइयो।’ माओवादी आन्दोलन पछिल्लो समय सोचेअनुसार नभएको ठान्ने ऋषि पार्टी फुटबाट चोटको अनुभव गर्छन्, ‘जे कारणले फुट भए पनि त्यो आफैमा राम्रो हैन।’
शान्ति प्रक्रिया अगाडिको गति अनुसार पार्टी धेरै ढिलो हिँड्न थालेको अनुभव गर्छन्। ‘हिजोको लडाइँ एकोहोरो थियो। एउटा मर्दथ्यो, एउटा बाँच्थ्यो। अहिले घनत्वको लडाइँ टेबुलमा छ। टेबुलको लडाइँ पनि चानचुने हैन।’
‘म यो पाउँछु भनी राजनीतिमा लागेको, भूमिगत भएको हैन। निजी सम्पत्तिका लागि लडिएन। सबै त्यागेर हिँडेको हो। त्यही लडाइँले आज राजतन्त्र ढाल्यो। यत्रो परिवर्तन आयो,’ उनी गर्व गर्छन्।
जाँड, रक्सीसँग कहिल्यै मितेरी नगाँसेको ऋषिसँग आफूले जोडेको वा आफ्नो सम्पत्ति भन्नु केही छैन। पुख्र्यौली सम्पत्ति भने गाउँतिर अलि अलि छ। शान्ति प्रक्रियापछि बेरोजगार बनेका उनी २०६४ सालतिर छोराछोरी पढाउने भन्दै दाङ झरे। तर आर्थिक अवस्थाले थिचेपछि फेरि रोल्पा फर्किए।
चार पाँच वर्षअगाडि साहिलो दाइ मूलबहादुर रोकामगरले सदरमुकाम बजारदेखि माथि केहि जग्गा किनेपछि त्यसैमा सानो छाप्रो बनाएर यतै बस्न थाले। पहिला कुखुरा पाले। घाटा भयो। अहिले तरकारी लगाउँछन्। कृषि, बन कार्यालयको सहयोगमा नर्सरी व्यवसाय पनि सुरु गरेका छन्।
‘सकेजति मेहनत गर्छु। दु्ःख गर्छु। यसैले बचाएको छ,’ ऋषिले थपे, ‘बनको सहयोगमा नर्सरी जमाउँछु। बेच्छु।’
अलैची खेतीमा आकर्षण बढाएका ऋषि यो बर्ष चार पाँच लाख आम्दानी हुनेमा ढुक्क छन्। ‘द्वन्द्वको समयमा राजनीति नै मुख्य देखियो। अब व्यवसाय मुख्य भयो, राजनीति सहायक,’ उनले सुनाए।
राजनीतिमा आफू भन्दा कनिष्ठका जीवनस्तर फेरिएकोमा खासै चासो दिँदैनन ऋषि।
‘कठीन भए पनि आफ्नो श्रम खान्छु। दैनिकी बल्लबल्ल चलेको छ। मजदुरी गर्छु,’ उनले सुनाए।
आफ्नो घरछेउमा सीटीइभिटीको भवन बन्दैछ। त्यता देखाउँदै भने, ‘त्यतै गारो लगाउँछु। मजदुरी गर्छु। दिनको पाँच सय दिन्छ। प्रायः श्रीमान श्रीमती जान्छौँ। दिनको एक हजार हुन्छ। श्रम गरेर खान केको लाज?’
पहिला पहिला आफ्नै जीवनशैलीसँग असन्तुष्टी पैदा हुन्थ्यो। अहिले जे भयो त्यसमा पीडा छैन। पश्चाताप पनि छैन। कहिलेकाहीँ आर्थिक समस्याले भने भित्रभित्रै पोल्छ।
‘मलाई अप्ठेरो पर्यो। सहयोग गर भनेर कहिले, कतै, कोहीसँग पुगेन। बरु ऋण गरेर दैनिकी चलाएँ,’ आर्थिक अवस्थाले बलिया भनिएका नेता कार्यकर्ताप्रति लक्षित गर्दै ऋषिले भने।
कुनै समय प्रचण्डलाई काँधमा बोकेर खोला तारेका ऋषि आज आफू भने खोलावारि नै छुटेको अनुभव गर्छन्। प्रचण्डलाई बोकेको काँधले हिजोआज घाँस, दाउरा, गिट्टी, ढुङ्गा बोक्दैछ।
‘प्रचण्डसँग खुबी छ। उनको बानी अलि बढी बोल्ने, हौसिनेखाले छ। साथीभाइ, आफन्तका कुरा बढी सुन्ने बानी छ। क्षमता नभएको त आफ्नो ज्यान फालेर उनलाई बचाउन त्यत्रा मान्छे पछि किन लाग्थे र,’ ऋषिले हँसिलो मुद्रामा सुनाए।
सत्तादम्भले माओवादी पछाडि परेको आँकलन गर्छन् उनी।
‘अब क.प्रचण्ड आफूले पार्टी हाक्ने, सत्ताको जिम्मा दोस्रो पुस्तालाई दिनु पर्छ,’ ऋषिले सुझाए।