रुपन्देहीको सैनामैना–१ बनकट्टामा एक महिला आफ्नै घरमा मृत भेटिएकी छन्। घरमा एक्लै रहेकी स्थानीय चुरीकला अर्याल घरको कोठामै मृत भेटिएको प्रहरीले जनाएको छ।
शनिवार दिनभर घरमा कोही नदेखिएको र गोठमा रहेका बाख्राहरु कराएपछि स्थानीयले साँझपख प्रहरीलाई खबर गरेपछि घटनाबारे जानकारी भएको स्थानीयले बताएका छन्। इलाका प्रहरी कार्यालय रन्यौराका अनुसार घटनास्थलमा चुरीकला सुतेको खाटमा हतियार भेटिएको र उनको टाउकोको पछाडिको र आंखा माथिको भागमा हतियार प्रहार गरेको चोट देखिएकोले हत्या भएको हुनसक्ने आशंका गरिएको छ।
बनकट्टा पानी ट्याङकीबाट १ सय ५० मिटर भित्र रहेको उनको घरमा रहेको दराजमा समेत तोडफोड भएको छ। शुक्रबार राति घरमा एक्लै सुतीरहेकी चुरीकला अर्यालको चोरी गर्ने समुहले हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख बसन्त राना मगरले बताए।
मृतक चुरीकलाका श्रीमान लोकनाथ अर्याल महेन्द्रनगर तथा २ छोरा काठमाडौमा बस्दैआएका छन्। चुरीकलाको शव पोष्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ।