ताइवानमा गत फेब्रुअरी ६ तारिखमा गएको भूकम्पमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १०८ पुगेको छ। सो शक्तिशाली भूकम्पबाट शनिबार बिहान ७ बजेसम्म १०८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ९ जना बेपत्ता भएका छन्।
स्थानीय समयानुसार फेब्रुअरी ६ का दिन बिहान ३ः५७ मा गएको सो भू्कम्प ६।७ रिक्टर स्केलको मापन गरिएको थियो। तर स्थानीय अधिकारीहरूले भने यो ६.४ रिक्टर स्केलको मात्र भएको जानकारी दिएका थिए। चिनियाँ नयाँ वर्षको दुई दिनआगाडि मात्र उक्त शक्तिशाली भूकम्प गएको थियो।
ताइवानमा रहेको एक अपार्टमेन्ट भवनबाट २८१ जना उद्धार गरिएको छ। भूकम्प गएको एक हप्तापछाडि पनि सो भवनमा अझै पनि नौ व्यक्ति वेपत्ता रहेका छन्।
उद्धारकर्ताहरुले अझै पनि बेपत्ता भएका व्यक्तिको खोजी कार्य जारी राखेका र तर गत सोमबारयता जिवितै व्यक्ति भने उद्धार नभएका बताएको छ।
ताइवानमा सन् १९९९ मा गएको ७।६ को भूकम्पमा परी करिब दुई हजार ४०० व्यक्तिको मृत्यु भएको थियो। रासस/एएफपी