सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयको अनुसन्धान टोलीले कैलालीको पहलमानपुरबाट बाघ मारेर तस्करी गर्ने गिरोहका आठ जनालाई बाघको छालासहित पक्राउ गरेको छ।
भारतबाट नेपालमा घुमन्तेका रुपमा आएका भारतीय आदिवासी समुदाय मानिने बावरियाले बाघ मारी तस्करी गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कैलालीको पहलमानपुरबाट आज पक्राउ परेकामध्ये छ जना बावरिया समुदायकै रहेका छन्।
विशेष सूचनाको आधारमा प्रहरीले पहलमानपुरबाट ११ फिट २ इन्च लम्बाइ तथा ३ फिट २ इन्च चौडाइ भएको एउटा र १० फिट ९ इन्च लम्बाइ एवम् ३ फिट २ इन्च चौडाइ भएको अर्को गरी दुई थान छालासहित आठ जनालाई पक्राउ गरेको हो। उनीहरुबाट साढे ३९ किलो बाघको जस्तो देखिने वन्यजन्तुको हड्डीसमेत बरामद गरिएको छ।
पक्राउ पर्नेमा भारतको हरियाणा हिसार काब्रेल बस्ने जगदिशचन्द बावरिया, सोही ठाउँकै रामपाल बावरिया, लुदियाना पञ्जाबका रामु बावरिया, लुदियानाकै श्रवण बावरिया, रोपड चम्पकोरशाही पञ्जाबकी कमला बावरिया र सोही ठाउँकी अनारकली बावरिया रहेका छन्। अनारकली दूधे बच्चासहित पक्राउ परेकी हुन्। यस्तै, कैलालीको भजनी–त्रिशक्ति नगरपालिकास्थित लालबोझी बस्ने दुखराम चौधरी र पहलमानपुर–६ का अंगानु चौधरी पनि बाघको छाला तस्करीमा पक्राउ परेका छन्।
क्षेत्रीय अनुसन्धान समूहका प्रहरी निरीक्षक वीरेन्द्र जोहारीको नेतृत्वमा रहेको अनुसन्धान समूह (आरआइटी)ले बाघको छाला र हड्डीसहित संलग्न व्यक्तिलाई पक्राउ गरेको हो।
पत्रकार सम्मेलनमा प्रहरी नायब महानिरीक्षक माधव नेपालले पक्राउ परेका बावरिया जातिका मानिस ‘पेसेवर’ बाघ सिकारी रहेको खुलेको बताए। उनले ठूलो मेहनतपछि प्रहरीलाई नेपालमै पहिलो पटक बाघ मार्ने सञ्जालको गिरोहलाई पक्राउ गर्न सफलता मिलेको बताए।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार नेपालमा बाघलाई अति दुर्लभ तथा संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ। पछिल्लो पटक भारतका बावरिया जातिका मानिस नेपालमा बाघ मार्न सक्रिय रहेको लामो अनुसन्धानबाट खुल्न आएको पत्रकार सम्मेलनमा अनुसन्धान समूहका प्रहरी निरीक्षक वीरेन्द्र जोहारीले दाबी गरे। जोहारीले बर्दियाको राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघ मारेर तस्करी गर्न लागिएको अनुसन्धानबाट खुलेको बताए।रासस