नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा दुई दिनको अवधिमा हजारौंले पुष्पगुच्छा अर्पण गरे।राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रका मानिसले कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गरे। श्रद्धाञ्जली व्यक्त गर्ने मध्येकै हुन् तीन राउटे पनि।
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको खबर सुर्यमान शाहीले रेडियोबाट सुने।त्यसो त मुलुकको प्रधानमन्त्री केपी शर्मा ओली भएको खबरपनि उनले रेडियोबाटै थाहा पाएका हुन्। प्रधानमन्त्री ओलीलाई भेटेर खर्च माग्ने योजना बनाइरहेका बेला दशैं खर्च दिएका पूर्व प्रधानमन्त्री कोइरालाको निधन भएको खबर पाएपछि सुर्यमान अन्य राउटेलाई साथै लिएर काठमाडौ हानिए। काठमाडौ झर्नासाथ उनी अन्य दुई राउटेलाई लिएर रंगशाला पुगे कोइरालाप्रति श्रद्धाञ्जलीका लागि। सुर्यमानले कोइरालाले गएको साउनमा बालुवाटारमा बोलाएर दशैं खर्चस्वरुप ४ लाख रुपैयाँ दिई फोटो समेत खिचाएर पठाएको सम्झनाले श्रद्धाञ्जलीमा सहभागी भएको बताए।
सुर्यमानसहितका सात जना राउटेहरु गत साउनको तेस्रो साता दशैं खर्च माग्न भन्दै काठमाडौ आएका थिए।उनीहरुले दशैं खर्च दिलाइदिनका लागि तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई सिंहदरबारमै भेटेर आग्रह गरेका थिए।त्यसबेला उनीहरुले नेम्वाङलाई काठको बाकस उपहारस्वरुप दिएका थिए।नेम्वाङको पहलमा तत्कालीन प्रधानमन्त्री कोइरालाले साउनकै अन्तिमतिर राउटेहरुलाई बालुवाटार बोलाइ खसी, दाल, चामल, बेसार, मसला लगायतका सामाग्री किनेर राम्रोसँग दशैं मान्नु भन्दै ४ लाख रुपैयाँ उपलब्ध गराउनुभएको थियो।राउटेहरु मध्यपश्चिम र सुदूरपश्चिमका जङ्गलमा घुमन्तेका रुपमा पाल टांगेर बस्दै आएका छन्।२०६८ सालको जनसंख्या अनुसार लोपोन्मुख राउटेहरुको संख्या ६ सय ८ रहेको छ।