दश महिनाअघि स्थानीय नगेन्द्रबहादुर श्रेष्ठ नक्साल, नारायणचौरमा ‘मर्निङवाक’ गर्दै थिए। नारायणचौर सुरक्षा र सम्भारको जिम्मा पाएको सामुदायिक सेवाकेन्द्रका अध्यक्षसमेत रहेका श्रेष्ठलाई एकजना व्यक्तिले च्याप्प समातेर सोधे, ‘तपाईंले चौरमा इनार किन्न खन्नुभएको?’
श्रेष्ठले उनलाई निर्माणाधीन इनारको खाल्डो नजिक लगे। र, जवाफ दिए, ‘काठमाडौंमा कुनै पनि बेला भुइँचालो जानसक्छ, त्यो बेला टोलभरिका मान्छे यहाँ पाल टाँगेर बस्नुपर्छ, एउटा इनार खन्यो भने कसैलाई पानीको समस्या हुँदैन।’
यो २०७१ चैत २२ को घटना हो। नभन्दै ठ्याक्कै २० दिनमा भुइँचालो आयो। राजधानीकै अरू ठाउँका बासिन्दाले नजिक खुला चौर नपाएर टुँडिखेल र रंगशालामा बास बस्नुपरेका बेला नक्सालबासीले भने घरपायक आफैंले व्यवस्थित गरेको नारायणचौरमा आश्रय पाए।
टोलकै शोभा बढाएको र ‘कंक्रिट जंगल’ को बीचमा सास फेर्ने खुला ठाउँ दिएको यो नारायणचौर नजिक पुग्दा कुनै बेला नाक थुनेर हिँड्नुपर्थ्यो। स्थानीयकै पहलमा यसको रूप फेरिएको हो। त्यही भएर नै, गुठी संस्थानको स्वामित्वमा रहेको यो सार्वजनिक जग्गाको सञ्चालन, व्यवस्थापन र सुरक्षा जिम्मा स्थानीयलाई दिइएको छ।
फोहोरको डंगुर लाग्ने नारायणचौरलाई आँखै तान्ने नन्दीबगैंचा बनाउनमा स्थानीयले कम मिहिनेत गरेका छैनन्।
रणबहादुर शाहकी कान्छी रानी त्रिपुरासुन्दरीले बनाएको यो नन्दीबगैंचा झारैझारको झ्याङमा परिणत भइसकेको थियो, बगैंचाको नामनिसान थिएन। वरपरका टोलबाट समेत फोहोर थुपार्न ल्याइन्थ्यो। लागुऔषध किनबेच गर्नेहरूले यसलाई आफ्नो अड्डा बनाएका थिए।
स्थानीय नागरिक अगुवा श्रेष्ठ २०५८ सालको घटना सम्झन्छन्, ‘त्यतिबेला दिनहुँजसो कहिले कार, कहिले मोटरसाइकल हुइकिँदै आउँथ्यो। पछिपछि अरू मोटरबाइक हुर्रर आउँथे। आपसमा फुसुरफुसुर गर्थे। गुपचुप केही साटासाट हुन्थ्यो। अनि सबै बेपत्ता, मानौं केही भएकै छैन।’
‘यो सब देख्नेलाई थाहा हुन्थ्यो, त्यहाँ लागुपदार्थ कारोबार भएको हो। प्रहरीलाई पनि खबर नभएको होइन, तर उनीहरु देखे–नदेखेजस्तै गर्थे, अरूलाई त बोल्ने आँटै भएन,’ उनले भने।
एकदिन नक्सालका केही नागरिक अगुवा जम्मा भएर भने, ‘अब त अति भयो, जसरी भए पनि यो चौरमा हुने अनैतिक काम रोक्नुपर्यो।’
सामुदायिक सेवाकेन्द्रले चौर वरिपरिका युवाको भेला गरे। भेलामा लागुपदार्थ किन्ने वा बेच्ने पनि थिए। बुज्रुकहरूले उनीहरूलाई नै चौर सुरक्षाको जिम्मा दिए।
उनीहरू प्रत्येक रात एक–दुईपटक सिठी मार्दै ओहोरदोहोर गर्थे। यति मात्रले पनि त्यहाँ अवैध धन्दा गर्न आउनेहरूको मनोबल स्वाँट्टै घट्यो। छ महिनामै नारायणचौरमा हुने लागुपदार्थ कारोबार नियन्त्रणमा आयो। चौरको सुरक्षामा खटिएका युवामध्ये चार जनालाई स्थानीयले सामुदायिक प्रहरी बनाए। त्यो टिमको नाम थियो– ‘सुरक्षा सेवा लिमिटेड’ अर्थात् सुसेली।
केही वर्षपछि ‘सुसेली’ टिम स्वतः विघटन भयो। अनि, नारायणचौरमा फेरि सुरु भयो, फोहोरको डंगुर। हुँदाहुँदा फोहोर उठाउने कम्पनीहरूले पनि त्यही ठाउँमा फाल्न सजिलो र सस्तो मान्न थाले। उनीहरूलाई कसैले रोक्दा पनि रोकेन।
स्थानीय नागरिक समाज फेरि जुर्मुरायो। उनीहरूले नारायणचौरमा रुख रोप्ने योजना ल्याए। रुख रोप्नेलाई ५ हजार रुपैयाँ दिने र त्यसको सुरक्षा समितिले नै गर्ने सहमति भयो।
यतिमात्र होइन, नन्दीकेशर बहाल संरक्षणको कुरा उठेपछि युरोपियन युनियनले पनि सहयोगनिम्ति रुचि देखायो। उसको सर्त थियो– यो तिमीहरूको जग्गा होइन, तर यहाँ रुख रोप्ने, ट्र्याक खोल्ने र बगैंचा बनाउने इजाजत लिएर आए हामी सहयोग गर्न तयार छौं।’
यसका लागि नगेन्द्र श्रेष्ठ लगायत स्थानीय गुठी संस्थान गए। सुरुमा त संस्थानका कर्मचारी खुसी नै देखिन्थे। उनीहरूले मौखिक सहमति पनि दिए, तर निर्णय गर्ने बेला उल्टो भयो। संस्थानले ‘यो राजगुठी हो, त्यसैले यहाँ कुनै पनि काम नगर्नू’ भन्ने बेहोराको चिठी दियो।
मौखिक सहमति दिएको संस्थानले किन त्यस्तो निर्णय गर्यो? स्थानीय यसको जवाफ खोज्न फेरि गए।
‘जग्गा लिजमा दिएर बिल्डिङ बनाउने कुरा भइरहेको रहेछ,’ सेवाकेन्द्रका अध्यक्ष श्रेष्ठले सेतोपाटीसँग भने, ‘कति राजनीतिक कार्यकर्ताले त किल्लासमेत गाडिसकेका थिए, तर हामीले दिएनौं।’
संस्थानले नारायणचौरलाई पैसा कमाउने थलो बनाएको हो भन्ने बुझ्न स्थानीयलाई धेरै बेर लागेन। नागरिक समाजले यसमा खबरदारी गरिरह्यो। न उनीहरूले रुख रोप्न पाए न त गुठीले त्यो चौरलाई लिजमा दियो। युरोपेली युनियनले दिने भनेको आर्थिक सहायता पनि प्राप्त भएन। यसैगरी केही वर्ष बिते।
तत्कालीन एकीकृत माओवादी नेता बाबुराम भट्टराईको सरकार बन्यो। उनले काठमाडौंको बाटो फराकिलो पार्ने अभियान चलाए। नारायणचौरलाई भने फेरि पनि अन्याय नै भयो। बाटो चौडा पार्ने ठेक्का पाएका ठेकेदारले सहरभरिका घर र बाटो भत्काउँदा जम्मा भएको माटो र फोहोर नारायणचौरमै थुपार्न थाले। सार्वजनिक स्थल भएकाले रोक्ने पनि कोही भएनन्।
२०६८ भदौ ८ गते सामुदायिक सेवा केन्द्रले फेरि रुख रोप्ने योजना बनायो। त्यतिबेला काठमाडौं उपत्यका विकास प्राधिकरण स्थापना भइसकेको थियो। रुख रोप्ने कार्यक्रमका प्रमुख अतिथि प्राधिकरणका तत्कालीन आयुक्त केशव स्थापितलाई बनाउने निर्णय गरियो।
स्थापितले स्थानीयसँग सोधे, ‘गुठी संस्थानसँग सोध्नुभयो तपाईंहरूले?’
‘सोधेनौं,’ नागरिक अगुवाले जवाफ दिए, ‘फोहोर फाल्न कसैले सोध्न नपर्ने, हामीले सफा गरेर रुख रोपौं भन्दा किन अनुमति लिनुपर्यो!’
नारायणचौर सरसफाइ, व्यवस्थापन र वृक्षरोपण सुरु भयो। यसपालि चौर व्यवस्थित गर्न स्थानीयले ‘मास्टरप्लान’ नै बनाएका थिए, जसमा संलग्न थिए आर्किटेक्ट प्रबल थापा।
यतिञ्जेल नारायणचौर वरिपरि केही बैंकका भवन बनिसकेका थिए। अगुवाहरूले ती बैंक प्रमुखलाई भेला गरेर भने, ‘हामी यहाँ फोहोरको थुप्रो हटाएर फूलबारी बनाउँदैछौं, तपाईंहरूले पैसा दिएर सहयोग गर्नुपर्यो।’
बैंकका कर्मचारी अफिसमा बस्दा पनि फोहोरको दुर्गन्धले हैरान थिए। सेवाकेन्द्रको प्रस्ताव सुन्नेबित्तिकै उनीहरू पैसा दिन राजी भए।
‘उनीहरूबाट १२ लाख उठ्यो,’ श्रेष्ठले भने।
यता सरसफाइको तयारी हुँदै थियो, उता फोहोर फाल्नेहरू संगठित भइरहेका थिए। घरघरबाट फोहोर उठाउने ठेक्का लिएकाहरू यो योजनाको खोइरो खन्न थाले। चौरमा फालिएका फोहोर छुट्ट्याएर पैसा कमाउनेहरू पनि विरोधमा मिसिए। उनीहरूले फोहोर उठाउन दिएनन्।
यस्ता विरोध र अवरोधका कारण नारायणचौरबाट फोहोर र माटो उठ्न झन्डै एक वर्ष लाग्यो। सरसफाइ र व्यवस्थापनको काम अघि बढाउन तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले नै ‘त्यहाँ फोहोर नफाल्नू’ भनी आदेश दिनुपरेको थियो।
यसबीच सेवाकेन्द्रले चौर व्यवस्थापन र बगैंचा बनाउने योजना प्राधिकरणमा पेस गर्यो। चौर घेर्नलाई मात्र २९ लाख रुपैयाँ लाग्ने थियो। त्यसअघि नै त्यो चौर व्यवस्थित गरेर हराभरा बनाउन एक करोड लाग्ने प्रस्ताव प्राधिकरणका पूर्वआयुक्त स्थापितले गरिसकेका थिए।
प्राधिकरणका भाइकाजी तिवारीले भने, ‘हामी २९ लाख दिन्छौं, चौर घेर्ने काम सुरु गर्नुस्।’
सेवाकेन्द्रले भन्यो, ‘हामीलाई पैसा चाहिन्न। हाम्रो मास्टरप्लानअनुसारको चौर तपाईंहरू नै बनाइदिनुहोस्।’
त्यसपछि प्राधिकरणले नै चौर व्यवस्थापनको जिम्मा लियो। एक करोड ६२ हजारको ठेक्का आह्वान गरेर प्राधिकरणले नारायणचौर निर्माण गर्न थाल्यो। चारैतिर सडकको ट्र्याक खोल्ने र चौरलाई घेर्ने काम सुरु भयो। वरिपरि रुख रोपेपछि चौर चिटिक्क देखियो।
तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंह तथा सहरी विकास मन्त्री नारायण खड्काले चौरको सुरक्षा जिम्मा स्थानीयहरूको संस्था सामुदायिक सेवाकेन्द्रलाई नै दिए। चौरका रुख कसैले नभाँचुन, फोहोर नगरुन् र अरू संरक्षण होस् भनेर सेवाकेन्द्रले प्रहरी खटाइदिन अनुरोध गर्यो। त्यसैअनुसार यहाँ बिहानदेखि बेलुकी ९ बजेसम्म दुई जना प्रहरी खटिन्छन्।
नारायणचौरको चारै कुनामा डाँडाजस्ता थुम्का छन्। चौरलाई गोलाकार पारेर रुख रोपिएका छन्। बीचमा मान्छे हिँड्ने पेटी छ। स्थानीयको प्रयासले नारायणचौर नन्दीबगैंचाका रूपमा स्थापित भएको छ।
‘हामीले यत्रो मिहिनेत गरेर बनाएको बगैंचाले यसपालि भुइँचालोमा आश्रय पनि दियो,’ श्रेष्ठले भने।