धनुषामा काठ तस्करको आक्रमणबाट वन कर्मचारीसहित चारजना घाइते भएका छन्। धनुषाको पुष्पवलपुर गाविसमा काठ तस्करको आक्रमणबाट सेक्टर वन कार्यालय पुष्पवलपुरका प्रमुख विष्णु यादव, जलाद साँझेदारी वनका अध्यक्ष श्यामलाल महतो, पोष्टबहादुर गिरी, समिति सदस्य महेन्द्र महतोलगायतका वन कर्मचारी घाइते भएको जिल्ला वन कार्यालय धनुषाका वन अधिकृत वीरेन्द्र साहले जानकारी दिए।
ट्याक्टरमा सखुवा काठ तस्करी गरेर अवैध रुपमा लैजाँदै गरेको काठ वनका कर्मचारीहरुले नियन्त्रणमा लिन खोजेपछि तस्करहरुले वन कर्मचारीमाथि नै आक्रमण गरेका थिए । घाइतेमध्ये महेन्द्र महतोको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
तस्करहरुले कर्मचारीहरु सवार ज ६ प ८४२१, ज७प ७०२७ र ज५प ४७४ नम्बरको मोटरसाइकल र पुष्पवलपुरमा रहेको इलाका वन कार्यालयमा समेत तोडफोड गरेको ढल्केवर इलाका प्रहरी कार्यालयले जनाएको छ । आक्रमणपछि तस्करहरु काठ लिएर फरार भएका छन् ।