चितवनमा ट्राफिक प्रहरी कार्यालयले असुरक्षित हेलमेट नियन्त्रण अभियान सुरु गरेको छ ।
हेलमेटमा लापरबाही गर्ने र तालु मात्रै ढाक्ने जस्ता साना तथा असुरक्षित हेलमेटका कारण दुर्घटनामा ज्यान जोखिम हुने भन्दै प्रहरीले यस्तो अभियान थालेको जनाएको छ । दुई दिनअघिबाट सुरु भएको अभियानअन्तर्गत अहिलेसम्म प्रहरीले १६० वटा हेलमेट नियन्त्रणमा लिइसकेको छ ।
चितवनका ट्राफिक कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक राजन भेटवालका अनुसार असुरक्षित हेलमेट नियन्त्रणमा लिने र सुरक्षित हेलमेट लिएर आएपछि छाड्ने गरिएको छ । प्रारम्भिक चरणमा जरिवाना लिने गरिएको छैन, जरिवाना लिँदैन भनेर लापरबाही गरिएको पाइएमा कडाइका साथ जरिवाना लिने प्रक्रियासमेत सुरु गर्ने उनले बताए।
यसैबीच ट्राफिक प्रहरीले शुक्रवार विहान सवारी जाँचका क्रममा १८० जना चालकलाई कारबाही गरेको छ । गएको २४ घन्टाको अवधिमा नियम उल्लङ्घन गर्नेहरुलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । उनीहरुबाट करिब रु एक लाख ६१ हजार राजस्व सङ्कलन भएको छ । जसमा ६ जना मापसे गरेर सवारी चलाउनेसमेत रहेका छन् । रासस