कञ्चनपुरको झलारी नगरपालिकाकी १६ वर्षीया रामवती बोहरा (नाम परिर्वतन) गत साउन १० गते बुबा–आमाको आशीर्वाद थापेर धन कमाउने सपना बोकेर ज्वाइँ प्रकाश मगरसित भारत पसिन्।
गाउँकै स्कूलमा कक्षा ८ मा अध्ययनरत बोहरालाई उनकी ठूलोबुबाकी नातिनी जानकी र ज्वाइँ प्रकाशले माइतीमा आएको बेला आर्थिक लाभको प्रलोभन देखाएर भारतको बम्बै हुँदै पुनासम्म पुर्याए। कैलालीको सहजपुर खानीडाँडा घर भएका प्रकाशले तीन वर्षअघि झलारीकी जानकीसित मागी विवाह गरेका थिए।
“ससुराली आउँदा छोरी र ज्वाइँ मेरै घरमा आएर भारतमा पैसा कमाउन प्रलोभनमा पार्ने गर्थे,” हाल माइती नेपाल कञ्चनपुरको आश्रयमा रहेकी रामवतीले भनिन्:“पुना पुगेर भारतीय नागरिककहाँ बेच्ने सुइँको पाएपछि रात १० बजे कोठाबाट भाग्न सफल भएँ।”
“घरमा पढेर के गर्छ? पुनामा १२ हजार मासिक भारतीय रुपैयाँ कमाउन सकिन्छ भनेर दुबै जनाले घरमा बुबा आमालाई सम्झाएपछि उहाँहरुले मलाई जागिर गर्न जान अनुमति दिनुभयो,” रामवतीले भनिन्, “पुना पुगेपछि त्यै छोरीले यता तँलाई पूजा गर्न ल्याएको होइन भनेर धम्की दिन थाली। आफन्तबाटै यस्तो होला भन्ने कल्पनासम्म गरेको थिइनँ।” हाल जानकी र प्रकाश पुनामै काम गरिरहेका छन्। “पुना पुगेपछि त्यो कोठामा एक भारतीय महिलालाई मेरै कोठामा राखेको थियो,” रामवतीले भनिन्, “हामी दुबै जना राति भागेर मध्यप्रदेशको जवलपुर पुग्यौँ ।”
भारतीय युवती जवलपुरकी निशा चन्द्रावती र रामवतीलाई रेलको यात्रा गर्दै गर्दा भारतको दमवाबाट नियन्त्रणमा लिएपछि निशालाई जवलपुर घरको जिम्मा लगाएको भारतीय प्रहरीले रामवतीलाई जवलपुरस्थित रामकुमारी वाई बालिका निकेतनको आश्रयमा राखिदियो ।
“म आश्रममा चार महिना संसार जितेर बसेँ,” गत पुस १० गते माइती नेपालले उद्धार गरी भीमदत्तनगर पुर्याएकी रामवतीले भनिन्, “पुनामा मलाई प्रकाशले ज्यान मार्ने धम्कीसम्म दियो।” धनगढीको गौरीफन्टा नाका हुँदै भारत पसेकी रामवतीले त्रिनगर भन्सारमा सोधपुछ गर्दा प्रकाशले भारतको पलिया उपचारका लागि जान लागेको बताएका थिए।
रामकुमारी वाई बालिका निकेतनले रामवतीका घरमा पत्राचार गरेपछि उनका बुबाले माइती नेपाल कञ्चनपुरलाई छोरीको उद्धार गरिदिन गुहार मागे। “म आफैं जवलपुर पुगेर रामवतीलाई लिएर आएको हुँ,” माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भनिन्, “बेचबिखनका लागि लैजाने प्रकाश र जानकी विरुद्ध प्रहरीमा उजुरी दिन्छौँ ।” माइती नेपालले रामवतीलाई आवश्यक परामर्श दिएर आफन्तको जिम्मा लगाउने जनाएको छ ।
त्यसैगरी, माइती नेपालकै आश्रयमा पुगेकी कञ्चनपुरको पुनर्वास नगरपालिकाकी निकिता बोहरा (नाम परिर्वतन)को व्यथा रामवतीको भन्दा दर्दनाक छ । डेढ वर्षअघि गाउँकै प्रताव बोहराको विवाह गर्ने प्रलोभनमा परेर भारतको दक्षिण भारतस्थित उडिसा पुगेकी १८ वर्षीया निकिताको जिन्दगीमै शत्रु बनेका प्रताव अहिले भारतमै लुकेर बसेका छन्।
“यहाँबाट गएको डेढ महिनासँगै बस्यौँ,” निकिताले भनिन्,“त्यसपछि प्रताव कहाँ गयो अहिलेसम्म थाहा छैन।” बाँकी दिनहरु कसरी बिते भन्ने बारे उनले मुख खोलिनन्। माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले निकितालाई झापा माइती नेपाल हुँदै माइती नेपाल केन्द्रीय कार्यालयले पारिवारिक मिलनका लागि यहाँ पठाएको जानकारी दिइन्।
“निकिताको बुबा छोरी भारत गएपछि सम्पर्कमा नआएपछि छोरी खोज्दै उडिसासम्म पुगेछन्”, संयोजक भट्टले भनिन्–“तर बुबा छोरी खोज्दाखोज्दै भारतमै बिते ।” बुबासमेत छोरीको खोजीमै मृत्यु भएपछि निकिताको आश मारेका उनकी आमा अहिले छोरीसित सम्पर्कमा आएपछि खुसी छिन् ।
त्यसैगरी गत कात्तिकमा गाउँकै स्थानीयवासीबाट भारतको पौडीगडवाल बेचन लागेकी बर्दियाकी १४ वर्षीया सञ्जु नगरकोटीलाई पनि माइती नेपाल कञ्चनपुरले भारतबाट उद्धार गरी पारिवारिक मिलन गराएको छ ।
नगरकोटीलाई भारत लगेर यौन प्यास मेटाउने बर्दियाका रामबहादुर खड्का अहिले प्रहरी कारबाहीमा छन्। माइती नेपाल कञ्चनपुरले मानव बेचबिखनविरुद्ध मुद्दा दायर गरेपछि जिल्ला अदालत कञ्चनपुरले सोमबार पुर्पक्षमा राख्न आदेश दिएको छ।
“यो दलाललाई नै पक्राउ गरी कानुनी दायरामा ल्याएको ठूलो सफलता हो,” संयोजक भट्टले भनिन्: “धेरै उद्धार गरिएका युवती दलाली गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन निकै चुनौतीपूर्ण छ ।” माइती नेपाल कञ्चनपुरले सन् २०१५ मा मात्रै २०० युवतीको उद्धार गरी पारिवारिक मिलन गराएको जनाएको छ ।रासस