हरेक वर्ष झैं यो वर्ष पनि गुरुङ समुदायले आफ्नो महान पर्व तमु ल्होछार रमझमका साथ मनाएको छ।
धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार भेडा वर्षलाई विदा गरेर बाँदर वर्षको स्वागत गर्दै गुरुङ समुदायले बुधबार विभिन्न कार्यक्रम गरेर ल्होछार मनाएको हो। नयाँ वर्षका रूपमा ल्होछार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, भोटे, दुरा, लेप्चालगायतका जातिले मनाउने गर्छन्।
गुरुङ जातिले पुस १५ गते तमु ल्होछार, तामाङलगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार तथा शेर्पा र भोटेलगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होछार मनाउने परम्परा छ। परम्परालाई निरन्तरता दिंदै गुरुङ समुदायले बुधबार उल्लासका साथ तमु ल्होछार मनाएको छ। पर्वका क्रममा गुरुङ समुदाय चौबन्दी चोलो, घलेक, कछाड अनि भांग्रामा सजिएर झ्याउरे र ठाडो भाका तथा कौडा र मारुनी नाचमा रमाएको छ। काठमाडौमा वसोबास गर्दै आएका गुरुङहरुले आफ्नो जातीय पहिरनमा सजिएर विभिन्न स्थानबाट र्याली निकाली टुँडिखेलमा नाचगान गरेका हुन्।
सरकारले तमु ल्होछारको अवसरमा बुधबार सार्वजनिक विदा दिएको छ। सरकारले तमु ल्होछारलाई राष्ट्रिय चाडको मान्यता दिई २०६४ सालबाट सार्वजनिक विदा दिन थालेको हो।