विख्यात हलिउड अभिनेत्री एन्जेलिना जोलीको 'जिन' जाँच रिपोर्टले यनलाई उनलाई भविष्यमा 'स्तन क्यान्सरको ८७ र पाठेघरको ५० प्रतिशत सम्भावना' देखायो। क्यान्सरकै निर्मम प्रहारले आमा गुमाएकी उनले आफ्ना केटाकेटीलाई सम्झिइन्।
कथं आफूलाई केही भइहाले त्यसको सबैभन्दा ठूलो पीडा छोराछोरीले भोग्नुपर्ने उनले ठानिन्। छोराछोरीले आमाको न्यानो काख गुमाउनले कल्पनाले उनी छटपटिइन्।
न्यूयोर्क टाइम्सका अनुसार उनले कठोर निर्णय लिइन्, 'सम्भावित खतराबाट जोगिन म्यास्टेक्टोमी (दुवै स्तन काट्ने) गर्ने।'
यहि अप्रिलमा उनको अप्रेसन भयो। 'सुपर सेलिव्रेटी' एन्जेलिनाले अप्रेसन गोप्य राखिन्। डाक्टरहरुले तीन महिना लगाएर कृतिम स्तन बनाइदिए। उनले आफ्नो काम जारी राखिरहिन्।
मन बदलियो। उनी आफैले जुलाईमा न्युयोर्क टाइम्समा लेख लेखेरै स्तनको शल्यक्रियाबारे खुलासा गरिदिइन्। ग्ल्यामर दुनियाँको कुनै पर्वाह गरिनन्।
ढाकछोप भइसकेको अप्रेसनबारे किन उनी आफैले छताछुल्ल पारिन् त?
एन्जेलिनाकै शव्दमा, 'क्यान्सरसम्बन्धी मेरो अनुभवले अन्य महिलालाई सचेत बनाउन सहायता पुग्ने आशा गरेर म सारा इतिवृत्तान्त लेखिरहेको छु।' त्यो खवर सात समुन्द्र तरेर नेपालसम्म आइपुग्यो।
एन्जेलिना क्यान्सर लागेको खवर भन्दा अघि नै कुनै जमानामा बलिउडमा राज गरेकी नेपाली चेली मनिषा कोइराला क्यान्सर पीडित भएर अमेरिका गइसकेकी थिइन। संयोगले यी हलिउड र वलिउड स्टारको उपचार अमेरिकामा एकसाथ जस्तै भइरहेको थियो।
एन्जेलिनाको सम्भावित स्तन क्यान्सर र मनिषामा देखा परेको पाठेघरको क्यान्सर नेपालमा पनि सबैभन्दा धेरैलाई लाग्ने रोग हो। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको तथ्याङ्कलाई आधार मान्ने हो भने कुल क्यान्सर विरामीमध्ये २० प्रतिशतलाई पाठेघर र स्तन क्यान्सरले पिरोलेको हुन्छ। यहिँ कारणले नेपालमा पुरुषभन्दा क्यान्सरका महिला विरामी धेरै हुन्छन्।
'हाम्रो अस्पतालमा आउने क्यान्सर विरामीमा महिला ५४ र पुरुष ४६ प्रतिशत छन्,' अस्पतालकी तथ्याङ्क अधिकृत ज्योती झाले सेतोपाटीसँग भनिन्।
विरामीको अनुपात मात्र धेरै हैन, पुरुषभन्दा महिलालाई क्यान्सरले कलिलै उमेरमा आक्रमण गर्छ। 'धेरै पुरुष विरामी ५५ देखि ७० र महिला '४५ देखि ६५ वर्षका हुन्छन्,' ज्योतीले भनिन्।
आफ्ना अजम्बरी गीतहरुको कोशेली छाडेर तीन दिनअघि स्वर्गिय गायक फत्तेमान फोक्सो क्यान्सरबाट पिडित हुन्। चुरोटका अम्मली फत्तेमानलाई लागेको क्यान्सर पुरुषहरुमा सबैभन्दा बढि देखिने रोग हो। क्यान्सरपिडित पुरुषमध्ये १५ प्रतिशतलाई फोक्सोको लागेको हुन्छ।
आफूले गाएको 'मर्न बरु गाह्रो हुन्न' गीत जस्तै क्यान्सरको संक्रमण पत्ता लागेको केही दिनमा फत्तेमान विदा भए। सबै क्यान्सरपिडितले ७८ वर्षिय फत्तेमान जस्तै कम पिडादायी मरण पाउँदैनन्। शरिर, धन, सम्पत्ति सबै सकिएपछि मात्र प्राण जान्छ।
वीर अस्पतालमा कार्यरत क्यान्सर रोग विशेषज्ञ सन्ध्या चापागाईंका अनुसार 'शरिरको टाउकोदेखि पैतालासम्म सय भन्दा बढि प्रकारका क्यान्सर रोगको सम्भावना हुन्छ।'
अर्घाखाँचीमा जिल्लामा बसेर बिरामीको सेवा गरिरहेका डाक्टर चित्र वाग्लेलाई एपेन्डिक्स क्यान्सर भयो। 'वाग्ले डाक्टरसापलाई लागेको क्यान्सर लाखमा एकजनालाई हुने खालको हो,' मेडिकल एसोसिएसनका अध्यक्ष एवं भरतपुर क्यान्सर अस्पतालका डाक्टर अञ्जनीकुमारी झाले भने, 'क्यान्सरले गालिसकेपछि मात्र धेरैजसो विरामीले थाहाँ पाउँछन्।'
राजीव गान्धी मेमोरियल क्यान्सर अस्पतालमा लामो उपचारबाट फर्केपछि वाग्ले साहसका साथ सञ्चार माध्यममा आइरहेका छन्। रेडियो, टेलिभिजन, पत्रिका वा अनलाइनका अन्तर्वार्ताहरुमा उनले हात जोडेर एउटा आग्रह गरिरहेका छन्, 'समयमा जाँच गरायो भने क्यान्सर पत्ता लगाउन सकिन्छ। 'अर्लि स्टेज'को भयो भने उपचार गरेर निको बनाउन सकिन्छ। मेरो जस्तो दुख अरुले पाउनु पर्दैन।'
आफू घर, परिवार, इज्जत प्रतिष्ठा सबै छाडेर जान तयार भइसकेपछि पनि उनी बिन्ती गरिरहेका छन्, '३५ वर्ष नाघेका महिला र ४५ वर्ष नाघेका पुरुषले वर्षेनी जाँच गराउँदा क्यान्सर पत्ता लाग्छ।'
१२ वर्षको मानसिक रुपमा दुर्बल छोरो, दुईवटा साना छोरी र श्रीमतीलाई अभिभावकत्व दिन नसक्ने पीडाले उनलाई क्यान्सर भन्दा पनि ठूलो घात गरिरहेको छ। परिवारको सदस्यलाई यो घातक रोग लाग्यो भने परिवारमा के–कस्तो असर पर्न सक्छ भन्ने चिन्ताको ज्वलन्त उदाहरण पनि वाग्ले नै बनेका छन्।
'क्यान्सर रोग बेलैमा पत्ता लगाउन चेतना नै सबैभन्दा महत्वपूर्ण कुरो हो,' चापागाईृले भन्छिन्, 'सेलिव्रेटीहरुलाई यो रोग लाग्दा भने आम मानिस एकपटक झस्किन्छन्।'
एन्जेलिना, मनिषा, फत्तेमान वा चित्रालाई क्यान्सरले नगर्नु आक्रमण गर्दा पनि 'जनचेतना' बढाउन मद्दत पुगेको चिकित्सकहरु बताउँछन्। उनीहरु आफूले पीडाको भारी बोकेरै पनि सार्वजनिक हित गरिरहेका हँदा रहेछन्।
चापागाँइले एन्जेलिनाको उदाहरण दिएकी छिन्। 'एन्जेलिनाले अपरेसन गराएपछि अमेरिका यूरोपको अस्पतालमा स्तन र पाठेघर जँचाउने महिलाको विरामी भिड लागेको थियो,' उनले भनिन्, 'कतिपय क्यान्सर नियमित जाँचबाट बेलैमा पत्ता लगाउन सकिन्छ, र उपचार हुन्छ।'
सय भन्दा बढि क्यान्सर कसरि पत्ता लगाउने? उपचार कहाँ?
डा. सन्ध्या चापागाँई
मेडिकल साइन्सले सय भन्दा बढि थरिको क्यान्सर पत्ता लगाएको छ। ती मध्ये धेरैजसो प्रकारका क्यान्सर हज्जारौं वा लाखौंमा एकजाना विरामीलाई लाग्ने खालको हुन्छ। नेपालमा वर्षेनी ५० हजार मानिस क्यान्सर अस्पताल/युनिटमा जँचाउन आउने गरेका छन्।
नेपालका क्यान्सर अस्पतालहरुमा के–कस्ता विरामी आउँछन् र के कस्तो जाँच/उपचार उपलव्ध छ त?
यी निकायबाट लिइएको तथ्याङ्कअनुसार महिला र पुरुष गरि सबैभन्दा धेरी मानिसलाई लाग्ने क्यान्सर फोक्सोको हो। दुर्भाग्यवस फोक्सोका क्यान्सर प्रारम्भिक अवस्थामै पत्ता लगाउने खालको जाँचहरु हाम्रोमा उपलव्ध छैन। चुरोट , बिडीको अम्मल र धुँवामा बसेर काम गर्नु फोक्सोको क्यान्सरको मुख्य कारण हो।
केहि अंगका क्यान्सर भने होशियार हुने भने बेलैमा पत्ता लगाउन सकिन्छ। क्यान्सरको ४ 'स्टेज' मध्ये पहिलो वा दोस्रोको उपचार सजिलो पनि छ। निको पार्न पनि सकिन्छ।
पाठेघरको मुखको क्यान्सर
महिलाहरुमा सबैभन्दा बढि देखिने क्यान्सर यहिँ हो। पहिलो यौनसम्पर्क भएदेखि नै यसको सम्भावना रहन्छ। उचित सरसफाई नहुनु र अरु कारणले पनि यसको सम्भावना बढ्छ।
पाठेघरको मुखको पानीको सामान्य जाँच गरेर यो पत्ता लगाउन सकिन्छ। यो जाँच केहि सय रुपैयाँमा हुन्छ र जहाँतहिको प्याथोलोजीमा हुन सक्छ।
तर यस्तो जाँच गर्नुपर्छ भन्ने चेतनाको अभाव छ। अशिक्षित र गाउँघर मात्र हैन शहरिया र पढेलेखेका महिलाले पनि यसमा हेक्का पुर्याएको देखिन्न।
स्तन क्यान्सर
महिलाहरुमा धेरै सँख्यामा देखिने दोस्रो क्यान्सर यहिँ हो। सेचत हुने हो भने यसलाई पनि बेलैमा पत्ता लगाउन सकिन्छ।
आफै पनि स्तन जाँच्न सकिन्छ। मासुमा केहि गाँठागुँठी आएको छ/छैन हास पुर्याउनुपर्छ।
छामेर फेला नपरिने ट्युमर म्यामोग्राम जाँच गरेर सजिलै पत्ता लाग्छ। यो जाँच गर्न क्यान्सर अस्पताल नै धाउन जरुरी छैन। जिल्लाका ठूला अस्पतालहरुमा पनि उपलव्ध छ।
तर स्तन क्यान्सर बढेर घाउँ, खटिरा आइसकेपछि मात्र धेरै विरामीहरु अस्पताल आउँछन्। रगत, पानी, पीप बग्न थालेपछि मात्र अस्पताल जाने चलन छ। लाजले लुकाउने र परिवारलाई नभनेको केस धेरै देखिन्छ। लुकाएर रोग बढ्न दिने चलन मधेसी महिलामा अझ बढि छ।
३५ वर्ष नाघेको महिलाले स्तनको जाँचमा विशेष ध्यान पुर्याउनुपर्छ। ४० वर्ष नाघेपछि वर्षमा एक पटक म्यामोग्राम गर्यो भने ट्युमर पलाउन सुरु भएको छ भने बेलैमा थाहाँ हुन्छ। रोग, पीडाबाट सजिलै छुटकारा पाइन्छ र धन, सम्पत्ति, पारिवारिक सुख जोगिन्छ।
खाने नली र आन्द्राको क्यान्सर
कतिपय मुलुकहरुमा हरेक वर्ष पेटको इण्डोस्कोपी गर्ने चलन हुन्छ। त्यसले पाचन प्रणालीका अंगहरुमा देखिने क्यान्सर 'अर्लि' स्टेजमै खुट्टिन्छ।
इण्डोस्कोपी सम्भावना नभएपनि 'स्टुल एकल्ट व्लड' जाँच गरे पत्ता लगाउन सकिन्छ। यो जाँच जुनसुकै प्याथोलोजीमा १०० रुपैयाँ भन्दा घटिमा उपलव्ध हुन्छ।
ठूलो आन्द्राको क्यान्सर
ठूलो आन्द्रामा क्यान्सर पलाएपछि पायल्समा समस्या देखा पर्न सक्छ। दिशामा रगत देखिने वा पीडा हुन थाल्छ। तर विराामीले पायल्स ठानेर आयुर्वेद उपचारमा लाग्ने चलन छ। त्यति मात्र हैन पायल्सको उपचार आयुर्वेदमा राम्रो हुन्छ भनेर धाएको धाई गर्ने चलन पनि छ। केहि सिप नलागेपछि मात्र 'एडभान्स स्टेज' मा पुगिसकेको क्यान्सर बोकेर विरामी आइपुग्छन्।
त्यसैले पायल्सको समस्या भएको व्यक्तिले कतै क्यान्सरको लक्षण त हैन भनेर बेलैमा जँचाइहाल्नुपर्छ। कोलोनोस्कोपी गरेर यसको सुरु जाँच गर्न सकिन्छ।
अल्सर
यो पनि पाचन प्रणालीसँग सम्बन्धित नै हो। दिशाको रंग परिवर्तन, कहिले कब्जियत केहिले छिनछिनमा चर्पी जनुपर्ने भएमा तुरुन्त जाँच गरिहाल्नुपर्छ। पेटको वा क्यान्सरको डाक्टर देखाउनुपर्छ।
मुखको क्यान्सर
विकसित मुलुकहरुम्ा 'भेलस्कोप' भन्ने एउटा यन्त्रको सहायताले मुखको क्यान्सर पत्ता लगाउन सकिन्छ। नेपालमा त्यो सुविधा उपलव्ध छैन। मुखमा घाउ हुने र निको नहुने भयो भने तुरुन्त डाक्टरलाई देखाइहाल्नुपर्छ। दाँतले घाउँ बनाएको ठानेर बिरामीहरु अस्पताल नआउने प्रवृत्ति छ। मुखको क्यान्सको चेतना पहाड भन्दा तराईमा बढि आवश्यक छ। गुट्खा, पान, सुर्ती लगायत अम्मल यसको प्रमुख कारण हुन्।
प्रोस्टेट क्यान्सर
६० वर्ष नाघेको पुरुषमा यसको खतरा हुन्छ। त्यसैले प्रोस्टेट ग्रन्थीको वार्षिक जाँच गराएर पत्ता लगाउन सकिन्छ। जुनसुकै क्लिनिकमा केहि सय रुपैयाँमा यस्तो जाँच हुन्छ।
यो बाहेक शरिरको जुनसुकै भागलाई वारम्वार राम्रोसँग छाम्ने गर्नुपर्दछ। नदुख्ने गाँठागुँठी देखापरे भने डाक्टरकहाँ गइहाल्नुपर्छ। तौल घट्नु, तीन साता भन्दा बढि खोकी, कोठीको आकार वा रंग परिवर्तन, आवाज धोद्रो हुँदै जानु पनि क्यान्सरको लक्षण हो।
क्यान्सरको मुख्य कारण जीवनशैली नै हो। निन्द्रा, नियमित व्यायाम, जङ्क फुड नखाने र कुनै पनि अम्मल नगर्ने व्यक्तिमा सितिमिति क्यान्सर सल्किन सक्दैन।