सुनसरी जिल्लाको दक्षिणी भारतीय सीमा जोडिएको वसन्तपुर गाविस–४ निवासी लिलानन्द मेहताको घरमा आज दिउँसो हतियारधारी समूहले आक्रमणसहित गोली चलाएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । लुटपाटका क्रममा केही मानिससमेत घाइते भएको प्रहरीको भनाइ रहेको छ ।
घटना भएको तत्काल थाहा पाएको सशस्त्र प्रहरी बेस क्याम्प वसन्तपुरबाट प्रहरी सो स्थानमा पुग्दा ती हतियारधारी डाँका समूह गोली चलाउँदै फरार भएको र सशस्त्र प्रहरी हवल्दार सूर्यबहादुर तामाङले राईफलबाट एक राउण्ड हवाई फायरसमेत गरेपछि ती डकैत समूह भारतीय सीमापारितिर भागेको बताइएको छ ।
प्रहरीले घटनास्थलबाट लिलानन्दन मेहताको दलानमा रहेको खाटमा सानो २.२ राइफलको गोली थान २, आँगन र घर पछाडिको बाटोमा १–१ थान ८ एमएम केएफ लेखिएको गोलीको खोकासमेत बरामद भएको पनि प्रहरीले जानकारी दिएको छ ।
सो समूह भारतीय हो वा अरुको भन्ने विषयमा अनुसन्धान भई रहेको र उनीहरुले लुटपाट गरेका सामानको पनि खोजी भइरहेको बताइएको छ ।