महिला हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेको रहेछ, मैले त भुसुक्कै बिर्सेकी।
एक सहकर्मीले हाँसो गर्दै भने, ‘उसो भए यसपालि मौसमी लेख पढ्न पाइने भएन!’
मैले केही जवाफ दिइनँ।
गत मंगलबारको कुरा हो यो। त्यसै दिन धनगढीमा एक महिलासँग भेट भयो।
कालो रङका तीन टेबलमाथि सेतो फूलदानीमा गुलाबी फूलहरू सजाउँदै थिइन् उनी। खरानी रङको धोती र रातो टिर्सटमा फूलजस्तै उज्याली देखिएकी थिइन्।
‘जयदेवी पार्की,’ उनले आफ्नो नाम भनिन्।
‘तपाईं थारु हो?’ मैले सोधेँ।
‘हैन,’ उनले सोझो जवाफ दिइन्, ‘सार्की हुँ।’
उनी धनगढीको होटलमा बढारकुँढार गर्थिन्। बैठक सफा गर्थिन्। कोठाचोटाका फोहोरमैला बढार्थिन्। अनि, सेता फूलदानीमा गुलाबी फूल सजाउँथिइन्।
दुइटी छोरी रहेछन् उनका। कान्छीकै उमेर २१ वर्ष पुगिसकेको। दुवैको बिहे भइसकेको।
छोरा पनि छन्, नातिहरू पनि छन्। तर, छोरा उनले आफैं जन्माएकी हैनन्।
‘सौताको हो,’ भनिन्, ‘सौताको भनेर के गर्नू, सानैदेखि देखेको, माया लागिहाल्दो रैछ।’
‘तपाईंले छोरी मात्रै जन्माउनुभयो भने बूढाले अर्को बिहे गरेको?’ मैले सोधेँ।
‘हैन, म कान्छी।’
‘किन आउनुभयो त सौता भएर?’ मैले हाँसेर सोधेँ।
उनका आँखा अँध्यारा भए। निधारमा मुजा परे। मलाई पनि बिनासित्ति अर्काको घरेलु कुरा खोतलेँ कि भनेर थकथकी लाग्यो।
‘मलाई त थाहै थिएन,’ अँध्यारो मुहारमा फिस्स हाँसो ल्याउँदै भनिन्, ‘घर आएपछि बल्ल थाहा पाएँ, उसले त पहिल्यै बिहे गरिसकेको रहेछ।’
‘मेरो घर केरला हो, यिनी (श्रीमान्) उतै काम गर्थे, बाआमाले बिहे गरेर दिए, म के जानुँ,’ उनको प्रस्टीकरणले मलाई झन् सरमले पानी–पानी बनायो।
‘अहिले सबै सँगै बस्नुहुन्छ?’ मैले स्थिति सम्हाल्न खोजेँ।
‘हैन, बूढा मरेको त २५ वर्ष भइसक्यो।’
म झन् छक्क परेँ।
नाकमा हवाइजहाज आकारको छवटा पत्थर जडेको फुली र कानमा मारवडीजस्ता जुली लगाएकी थिइन् उनले। घाँटीमा पोतेसहितको तिलहरी पनि झुन्डिएकै थियो।
‘अर्को बिहे गर्नुभएको?’ मैले आफूलाई थाम्नै नसकेर फ्याट्ट सोधिहालेँ।
उनी हाँसिन्।
मेरो प्रश्न हाम्रो रीतिरिवाजले कोरेको सामाजिक बन्धनको उपज थियो, जहाँ विधवाले रातो पहिरन लगाउन पाउन्नन्, चुरा–पोते त टाढाको कुरा। बरु श्रीमान् मरेपछि धागोमा तिलहरी उनेर घाँटीमा लगाउने चलन थियो। मैले सानैदेखि आफ्नो गाउँमा विधवालाई जस्तो भेषभूषामा देख्दै आएकी थिएँ, जयदेवीलाई पनि त्यसैसँग दाँजेछु।
‘गरेको छैन,’ उनले भनिन्।
‘अनि रातो लुगा लगाएर हिँड्दा परिवारले केही भन्दैनन्?’
उनले थोरै मुस्कुराउँदै टाउको हल्लाइन्, ‘भन्दैनन्।’
उनले श्रीमान बितेपछि सेतो साडी नलगाएकी होइनन्। त्यसबेला छोरीहरू सानै थिए। उनलाई सेतो पहिरन र चुरा–पोतेबिनाको उजाड रूपमा देखेर छोरीहरू तर्सिएछन्। कयौं दिन परपर भाग्न थालेछन्। उनी फकाउन खोज्थिन्, छोरीहरू झन् बढी डराउँथे।
उनलाई त संसारै उजाडिएझैं लाग्यो रे।
यही देखेर जेठाजुले सेता लुगा नलगाउन भनेछन्। सुरुमा त उनले मान्दै मानिनन्। ‘नर्कको बास’ होला भनेर डराइछन्। पतिको आत्मा भौंतारिएला भन्ने चिन्ताले पनि सताएछ।
फेरि जेठाजुले हकारेछन्।
उनले बल्लतल्ल सेता कपडा हरबाट झिकिन्। सुरुसुरुमा रातोबाहेक अरू रङका कपडा लगाउन थालिन्। छोरीहरू फेरि झ्याम्मिन थाले। डराउन छाडे। उनको काख र संसारमा नयाँ रङ भरियो। मनमा बसेको डर विस्तारै पातलिँदै गयो।
बानी पर्दै गएपछि रातो कपडा पनि लगाउन सुरु गरिन्।
उनी केटाकेटी च्यापेर कामको खोजीमा डोटीबाट तराई झरेको निकै समय भइसक्यो। दुई छाक हातमुख जोर्न होटलमा सरसफाइको काम गर्छिन्। काम सकेर नाति स्याहार्न हतारिँदै डेरा पुग्छिन्।
‘उनीहरू माया गर्छन् कि गर्दैनन् थाहा नाइँ, मलाई चाहिँ नाति र छोराको खुबै माया लाग्छ,’ उनले भनिन्।
‘दिदी पनि हुनुहुन्छ होला नि घरमा?’
‘छैन,’ उनले भनिन्, ‘ऊ त बूढा मरेपछि अर्कैसँग भागी सकिन्।’
‘तपाईं यत्रो २५ वर्ष एक्लै किन बस्नुभयो त? अर्को बिहे गर्नु पथ्र्यो नि!’ मैले फेरि सोधेँ।
‘नगर्ने,’ भनिन्, ‘मैले अर्को बिहे गरे बाआमाको इज्जत जान्छ नि माइतीमा! म त आचार्यकी छोरी हुँ, बाआमाको खुबै इज्जत छ उता!’
यति भन्दै उनी डेरा फर्किने हतारमा भुइँ बढार्न थालिन्। म पनि भोलि भेटौंला है भन्दै फर्किएँ।
हाम्रो भेट फेरि होला–नहोला, थाहा छैन। उनले लगाएको रातो तिलहरीले भने मेरो सोचाइ फेरिदियो। म सोच्थेँ, श्रीमान बितेपछि महिलाले रातो लगाउँदैनन्। परिवारले विधवालाई दिने कष्ट पनि उत्तिकै हुन्छ। तर, यो सबै परिवारमा लागू हुँदो रहेनछ। रीति फेरिएका छन्। मानिसका सोचाइ फेरिएका छन्। यस्तो थाहा पाउँदा कति धेरै सन्तोष हुँदो रहेछ मनमा।
तर, केही दिन नवित्दै शनिबार देखेको अर्को दृश्यले भने मेरो मन बिथोलियो।
जयदेवीकै जिल्ला डोटीको काँडामान्डौं!
हामी गाउँमा हिँडिरहेका थियौं। पर डाँडामा गुलाबी रङको सफा लुगा लगाएर सानी बच्ची आइरहेकी थिइन्। उनीसँगै हरियो लुगा लगाएकी एक महिला थिइन्। नजिकै पुगेपछि थाहा पायौं, ती महिला सानी नानीकी आमा रहिछन्। न निधारमा रातो टीका न सिउँदोमा सिन्दुर। फुंग उडेको थियो अनुहार।नाम महेश्वरी जोशी।
पछिपछि आइरहेकी उनकी जेठानीले भनिन्, ‘बल्ल २३ वर्ष भई, लोग्ने बितिगयो, यसलाई देखेर मुलाई पिर हुन्या हो।’
श्रीमानको मृत्यु हुँदा महेश्वरी गर्भवती रहिछन्।
‘अब परिवारकाले यिनको बिहे गर्दिदैनन्?’ उनीहरू बाटो लागेपछि मैले साथीलाई सोधेँ।
‘यिनीहरू बाहुन हुन् नि, कहाँ अर्को बिहे गर्नु? जिन्दगीभर यस्सै बस्ने हो,’ उनले भनिन्।
केही समयपछि उनीहरूसँग फेरि भेट भयो। हिँड्ने बेला मैले महेश्वरीकी जेठानीसँग भनेँ, ‘उनलाई अर्को बिहे गर्ने मन भयो भने गरिदिनू है।’
उनी मेरा कुरा सुनेर तर्सिइन्। सम्हालिएपछि भनिन्, ‘छोरी छ नि, कहाँ अर्को बिहे गरिदिनु। त्यही पनि उसको इच्छा लागे बिहे गरेर जाली।’
म प्रतिक्रियाविहीन भएँ।
एकछिन टोलाइरहेँ। सोचेँ, पति कहिल्यै नफर्किने गरी जाँदा पत्नीको जिन्दगीकै रङ उड्ने दिन कहिले सकिएला?
यी महिलाको कथाले समाजको कस्तो ऐना देखाउँछ मलाई थाहा छैन। एउटा कुरा भने पक्का हो, हामीले ब्यानर बोकेर सहरका सडकमा र्याली निकाल्नुभन्दा अझै धेरै काम गर्न बाँकी छ।
के यो पनि मौसमी लेख भयो?