मनले आँटेको पाउन वर्षेनी एक लाख दर्शनार्थी रुकुमको मुसीकोट नगरपालिका थर्पुस्थित डिग्रे पुग्छन्।
थर्पुका गौतमहरुले चराउन लगेका गाईलाई साइकुमारी भगवती देवीले दुध चढाउन आग्रह गरेको र दूध चढाइएपछि मात्र गाईलाई घर ल्याउन सकिएको किंवदन्ती छ।
हरेक दिन गाईको दुध देवीको लागि र हरेक एक वर्षमा देवीको वाहन बाघको लागि बोका बली दिनुपर्ने तथा देवीको सुरक्षाको लागि लठ्ठी नाच नाच्ने गरेको भनाइ छ।
मुसिकोट नगरपालिका घोषणा हुनुअघिको साँख गाविसबाट आउने मगर सगालहरुको लठ्ठी नाच देवीको सुरक्षाको लागि नाच्ने गरेको बताइन्छ।
पछिल्ला केही वर्षदेखि दर्शनार्थी बाक्लिन थालेको बताइन्छ। मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वाससाथ तीर्थयात्रीको संख्यामा वृद्धि भएको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ। समितिका अध्यक्ष शिव शर्माले टाढाका मान्छेहरु पनि एक वर्ष दुई वर्ष अथवा केही बर्ष बिराएर भए पनि आउँछन्।
डिग्रे धार्मिक मेलाको सुरुवात
हरेक वर्षको कात्तिक पूर्णिमाको अवसर पारी लाग्दैआएको डिग्रे धार्मिक मेला सुरु भएको आधिकारिक जानकारी कतै रहेको पाइन्न। मन्दिर व्यवस्थापन समितिका अनुसार मन्दिरमा १६४१ सालको घन्ट भेटिएको छ। १६४१ सालको घन्टा भेटिएपनि मन्दिरमा पूजाअर्चना, दर्शन तथा मेला भर्ने काम भने त्यसअघिदेखि नै भएको मानिन्छ। साइकुमारी भगवती देवीकै चाहनाबमोजिम मेला सुरु भएको किंवदन्ती छ।
मन्दिर नजिकै रहेका रहेका पानीका धारामा मेलामा मान्छे बढेसँगै पानी पनि बढ्ने विश्वास छ।
डिग्रे मन्दिरमा हरेक वर्ष कात्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मको तिथिमा विशेष महत्वसाथ देशका विभिन्न भू–भागबाट दर्शन तथा मेला भर्न दर्शनार्थीहरु आउँछन्। हरेक हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्छ। एकादशीदेखि नै मन्दिरमा दर्शनार्थीहरुको भीड लाग्छ।
आम्दानीको स्रोत मेला
जिल्लामा धेरै आम्दानी गर्नेमध्येका डिग्रे शाइकुमारी मन्दिर पनि पर्दछ। मन्दिरको नाममा रहेको गुठीको जग्गा र हरेक वर्षको मेलामा दर्शनार्थीबाट चढाइएको भेटीबाट मन्दिरमा आम्दानी हुने गर्दछ।
मुसिकोट नरपालिकाको छिमेकी गाविस स्यालापाखाको धपेमा २७ रोपनी खेत मन्दिरकै नाममा छ भने वर्षेने ५ देखि ७ लाख रुपैयाँ सम्म कात्तिके मेलाको अवसरमा भेटीस्वरुप मन्दिरमा जम्मा हुन्छ।
गत वर्ष ७ लाख आम्दानी गरेको मन्दिरले यस वर्ष पनि त्यसकै वरिपरिको अनुमान गरेको छ। यो वर्ष बोकाको टाउका विक्री गरेर मात्रै चार लाख ६५ हजार पाँच सय रुपैयाँ आम्दानी भएको छ। मन्दिरमा चढाइएका १५ हजार वटा बोकामध्ये ९ सय ४१ वटा टाउका मन्दिर व्यवस्थापन समितिले ३०० रुपैयाँ किलोको दरले बेचेको थियो। वाँकी टाउका प्रसादको रुपमा वितरण भएको छ।
मन्दिरमा चढाइएको भेटी गणना गर्न सकिएको छैन। त्यो गणना गर्न अझै केही दिन लाग्ने व्यवस्थापन समिति अध्यक्ष शर्माले जानकारी दिए। उनका अनुसार दर्शनार्थीले चढाएको १३ मुरी चामलको विक्रीबाट पनि आम्दानी हुनेछ।
मन्दिरमा रुकुमसहित सल्यान, रोल्पा, डोल्पा, जाजरकोट, सुर्खेत, दाङ, वाँके, कपिलवस्तु, नवलपरासी, रुपन्देही, काठमाडौंको साथै भारतका केही ठाउँबाट पनि दर्शनार्थीहरु आउँछन्। यो वर्ष मेलामा विगत भन्दा धेरै झाँकी प्रस्तुत भएको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ। समितिका अनुसार गत वर्षदेखि झाँकीसहित आउनेलाई व्यवस्थापन समितिले प्रसादस्वरुप केही सहयोग गर्दैआएको छ। यस वर्षको मेलामा ७० हजार मानिस आएको अनुमान मन्दिर व्यवस्थापन समितिको छ।