भोटसिपा–८ का जगतबहादुर मगर भुईंचालो आए पनि ढुक्कैसँग बस्ने गरेका छन्। बैशाख १२ को भुईंचालोले उनको घर एकै झट्कामा ढालेपछि केही समय त्रिपालमा आश्रय लिएका उनले केही महिनापछि भुकम्प प्रतिरोधी अस्थायी आवास बनाए। झण्डै तीन फिट अग्लो पर्खाल र त्यसमाथि जस्ता राखेर बनाइएको घरमा अहिले उनी ढुक्कैसँग बसोबास गर्छन्। ‘अब भुईंचालो आए पनि डर छैन,' उनले भने।
बैशाख १२ को भुईंचालोपछि अग्लो घरमा बस्न डराएका सिन्धुवासीले अहिले एक तल्ले घरमा बस्दै आएका छन्। ‘यसलाई त अब पक्कै पनि भुईंचालोले ढाल्न नसक्ला,' भोटसिपाका जगतबहादुरकै जस्तो भुकम्प प्रतिरोधी आवास बनाएका सिपापोखरे–५का तेजबहादुर विकले आफ्नो सानो घर देखाउँदै भने, ‘त्यही भएर भुईंचालो आउँदा पनि डराइएन।' उनले यही घरमा आफू र परिवार बसोवास गर्ने गरेको सुनाए।
गाउँमा भएका अग्ला घरहरु पहिल्लै ढलिसकेको छ। अब आउन सक्ने भुईंचालोले ढाल्नलाई गाउँमा एउटै घर छैनन्। ‘कि ठूलो भुईंचालो आएर जमिन भास्सिने या चिरा पर्ने हुनुपर्यो,' भुईचालोबाट आफू सुरक्षित रहेको सुनाउँदै तेजबहादुरले भने, ‘केही गरि अहिले बनाइएको घर ढाले पनि मानवीय क्षति हुनेछैन।' उनले आफू र सिंगो गाउँवासी भुईंचालोबाट सुरक्षित रहेकाले डर नभएको बताए।
भुईंचालोको पराकम्प आउँदा भाग्ने बानी परिसकेका सिन्धुवासी बिहीबार पनि यताउति दौडिए। ‘भुईंचालोले जमिन हल्लाएपछि त्यत्तिकै अनियन्त्रित भईंदोरहेछ, अनि भागिँदोरहेछ,' चौताराका कुमार श्रेष्ठले भने, ‘आफू सुरक्षित स्थानमा भएपनि पहिलादेखिकै भाग्ने बानी भएकाले आफसेआफ दौडिइयो।' उनले आफू सुरक्षित अस्थायी आवासमा बसेको बताउँदै अब सम्भावित आउन सक्ने भुईंचालोको डर नभएको सुनाए।
बिहिबार आएको पराकम्पले फेरि अग्ला घर भएकाहरुलाई त्रास फैलाएको छ। अग्ला घरछेऊमा भुकम्प प्रतिरोधी सानो आवासमा बसेकालाई पनि केही डर छ। अग्लो घर भत्केर आफूलाई पुर्ला भन्ने भय छ। गाउँ–गाउँमा रहेकाहरुलाई भने कुनै डर नभएको गाउँवासी बताउँछन्।
जगतबहादुर र तेजबहादुरको परिवारलाई यूएन ह्याविट्याटको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च(सिडिइसिएफ)ले अस्थायी आवास बनाइदिएको हो। यूएनले सुरक्षित आवासका लागि सहयोग गरेपछि उनीहरु आफूलाई भुईंचालोको डर नभएको बताउँछन्। ह्याविट्याटले अस्थायी आवास निर्माणका लागि २ बण्डल जस्ता र ७ हजार रुपैयाँ नगद सहयोग गरेको थियो।
जिल्लाका इर्खु, सिपापोखरे, कुविण्डे र भोटसिपामा आवास र सरसफाईमा काम गरिरहेको यूएन ह्याविट्याटले लक्षित वर्गलाई अस्थायी आवास बनाइदिएपछि भुकम्प पीडितलाई भुईंचालोको डर नभएको हो। चार गाउँका लक्षित वर्गलाई सिडिइसिएफ र जनहित ग्रामीण सेवा समितिले काठ र जस्ताको सहायताले भुकम्प प्रतिरोधी घर बनाउन सहयोग गरेको हो। यूएन ह्याविट्याटका जिल्ला संयोजक फुर्वासाङ्गे मोक्तानले मृतक परिवार, एकल महिला, निम्न आयस्रोत भएका परिवारलाई सहयोग गरिएको जानकारी दिए। ‘भुईचालोले घर भत्काएपछि आर्थिक अभावका कारण छिट्टै आवास बनाउन नसक्नेका लागि सहयोग गरिएको हो,' मोक्तानले भने, ‘भुकम्प पीडितको दैनिकी कष्टकर नहोस् भन्ने उद्धेश्यले अस्थायी आवास निर्माणका लागि गाउँका सरोकारवाला निकाय र व्यक्तिको रोहवरमा सहयोग गरिएको छ।'
चारै गाउँमा बनेका अस्थायी आवासको डिजाइन उस्तै छ। कतै पर्खाल लगाइएको छ, कतै छैन। सबैको साइज उस्तै छ। यूनका प्राविधिकहरुले बनाएको डिजाइनमा १५ फिट चौडाई र १७ फिट लम्बाईको घर तयार गरिएको हो। ‘यो घरमा आफ्नो सिंगै परिवार अट्न सक्नेछन्,' इन्जिनियर राजनकुमार श्रेष्ठले भने, ‘भुकम्प पीडितलाई भुईंचालो आएपनि डर नहुने गरि सुरक्षित घरको डिजाइन गरिएको हो।'