नाम : शर्मिला थापा
उमेर : १७
ठेगाना : भोटसिपा–५, सिन्धुपाल्चोक
शिक्षा : प्लस टु अध्ययनरत
सम्पत्ति : एक हल मेलो लाग्ने पाखो बारी
जिम्मेवारी : घरकै मूल अभिभावक
(दुई बहिनी र आफूलाई पढ्ने खर्च जुटाउने, घर खर्च धान्ने )
आम्दानीको स्रोत : ..........?
यो व्यक्तिगत विवरण उनको हो। जसको काँधमा सानै उमेरमा ठूलो जिम्मेवारी आइपरेको छ। समाजमा रहेर एउटा परिवारले गर्नुपर्ने सबै कर्तव्य उनैले गर्नुपर्छ। पाका अभिभावकको भूमिका निर्वाह गरिरहेकी छिन्। हिम्मतवाली बनेर।
भोटसिपा–५ स्थित एउटा टोलमा गाउँ छिर्ने गोरेटो बाटो माथिपट्टी जस्ताले बारेको एउटा शौचालय छ। त्यसमुनी पुराना खिया लागेका जस्ताले बारिएको एउटा अस्थायी टहरा। हो, त्यही बस्छिन् शर्मिला। अनि उनले त्यहीं राख्छिन् आफ्ना दुई बहिनीलाई।
सुखी र खुसी परिवार थियो उनको। भोटसिपा–५ मा रहेको पुर्ख्यौली घरमा आमाबुबासहित तीनै दिदीबहिनी रमाएरै बसेका थिए। शर्मिला सानै हुँदा बुबाको मृत्यु भयो। घरको जिम्मेवारी उनकी आमातिर सर्यो। सानै उमेर भएकाले शर्मिलालाई त्यति साह्रो परेन। तर, बुबाको मृत्यु भएको केही समयपछि उनकी आमालेसमेत छाडेर गइन्। त्यसपछि उनलाई ठूलो समस्या आइलाग्यो। अनि बाँकी बसेको तीन जनाको परिवारमा दुःखका दिन सुरु भए।
शर्मिलाकी बहिनी सुमिता नौ कक्षामा र शान्ता सातमा पढ्छन्। शर्मिला भने अहिले एघारमा। बहिनीहरू दिउँसो विद्यालय जान्छन् उनी घरको काममा व्यस्त हुन्छिन्। बहिनीहरू र आफूलाई लाग्ने खर्च शर्मिलाले नै जुटाउने गरेकी छिन्। सम्पत्तिको नाममा रहेको एक हलको बारीबाट आएको अन्नलाई उनले उचित व्यवस्थापन गरेर घर धान्दै आएकी छन्। ‘समस्या धेरै छ, भनिसक्नु छैन,’ उनले सेतोपाटीसँग कुरा गर्दै भनिन्, ‘कुन चाँहि समस्या प्रमुख हो खुट्याउनै सक्दिन।’
घर थियो। दुई तल्लाको। भुईचालोले ‘ग्राउण्ड–जिरो’ बनाइदियो। घरमा पालिएका बाख्रालाई बेचेर जिविकोपार्जन गर्ने गरेकी थिइन् उनले। अर्को दुःखको कुरा। भुईंचालोले घर ढाल्दा उनको प्रमुख सम्पत्ति या भनौं आयस्रोतका रुपमा रहेको नौ वटा बाख्रा पनि पुरियो। ती बाख्राबाट हुने आम्दानी झण्डै २ वर्षलाई घर खर्च पुग्न सक्थ्यो।
दुःख छ। चिन्ता पनि। गर्नलाई पनि गाह्रो छ। चाडबाड आउँछ। नाता कुटुम्ब हुन्छन्। सबै एउटा सानो अनि काँचो दिमागले थेग्नु परेको अवस्था छ। घर छैन। टहरामा जिन्दगी बित्दैन। त्यही टहरा पनि छिमेकीले बनाउन सहयोग गरेकाले अहिले बस्नलाई सहज नै भएको छ।
नयाँ घर बनाउने सोच नै छैन अहिले उनमा। ‘कसरी बनाउनु, कहाँबाट पैसाको जोहो गर्नु र?,’ मलिन हुँदै शर्मिला भन्छिन्, ‘नयाँ घर बनाउन सक्ने अवस्था नै छैन, हेरूँ के–के हुँदोरहेछ।’ उनले आफ्नो लागि अहिलेसम्म आवास बनाइदिने भनेर सहयोगका लागि कोही नआएको दुखेसो पोखिन्।
यो गाउँमा भुईचालोपछि सरसफाईको क्षेत्रमा यूएन ह्याविट्याटको सहयोगमा सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च (सिडिइसिएफ) ले काम गरिरहेको छ। शर्मिलाको परिवारले प्रयोग गर्ने शौचालयलाई भुईँचालोले क्षतिग्रस्त बनाएपछि मर्मतका लागि सहयोग गरिएको थियो। शौचालयका लागि सहयोग आएपनि घर निर्माणका लागि कर्तबाट कुनै पहल नभएको उनले बताइन्।
बिहान क्याम्पस जानु र दिउँसो घरायसी काममा व्यस्त हुनु उनको दैनिकी हो। जीवन गुजाराका लागि उनी एउटा सानो कामको पर्खाईमा छिन्। ‘सबै आफ्नै भरमा घर चलाउनुपर्छ,’ उनले सुनाइन्, ‘आम्दानीको स्रोत पनि केही छैन, केही काम गर्न पाए बेसै हुनेथियो।’ उनले भुईँचालोमा परेर बाख्रा गुमाएपनि अब घर धान्नका लागि आर्थिक अभावले सताउने बताइन्।
उनको मामाघर गाउँमै हो। आमाले आफूहरूलाई छाडेर अन्तै विवाह गरेपछि एकचोटी भेट भएको उनले सुनाइन्। बुबाको नाममा भएको एउटा खेत उनकी पोइल गएकी आमाले शर्मिलाको मामाको नाममा सारेकी थिइन्। ‘त्यो खेत मामाको नाममा छ भन्ने हामीलाई थाहै थिएन,’ उनले भनिन्।
दुःखलाई बिर्सदै अहिले शर्मिलाले घर धानिरहेकी छिन्। भएको एउटा पाखो बारी उनले तीनै दिदीबहिनीको नाममा बनाएकी छिन्। ‘भएको सम्पत्ति यत्ति हो, त्यसैले तीनैजनाको सयूंक्त नाममा छ,’ उनी भन्छिन्, ‘आमाले अन्तै विवाह गरेपछि एउटा बारी हामीले नामसारी गरेका हौं।’ उनले परिवारको अभिभावक आफैं भएकाले सबै मिलाएर बहिनीहरूलाई खुसी तुल्याउने कोसिस गरिरहेको बताइन्।