चुरे क्षेत्रमा काठ तस्करी बढेपछि वन कार्यालय कञ्चनपुर र चुरे संरक्षण सञ्जालका पदाधिकारीले संयुक्त गस्ती थालेका छन्।
काठ तस्करी हुने क्षेत्रहरुको पहिचान गरी संयुक्त गस्तीलाई दुवै निकायले प्रभावकारीरुपमा अगाडि बढाएका हुन्।
“तस्करहरुले साइकल र मोटरसाइकलको प्रयोग गरी काठ तस्करी गर्न थालेपछि यसलाई रोक्न संयुक्त गस्ती अगाडि बढाएका छौँ” –इलाका वन कार्यालय ब्रह्मदेवका सहायक वन अधिकृत जीवछ यादवले भने।
राति र दिउँसो पालो मिलाएर गस्ती थालेकाले विगतको तुलनामा काठ तस्करी र जीवजन्तुको चोरी सिकारी नियन्त्रण हुँदैगएको उनले बताए।
केही दिनअघि मात्रै गस्ती टोलीले काठसहितका दुईवटा मोटरसाइकल बरामद गरी वन कार्यालयलाई बुझाएको थियो। तस्करहरु गस्ती टोली देख्नेबित्तिकै मोटरसाइकल र साइकल छाडेर भागेकाले पक्राउ गर्न नसकेको उनको भनाइ छ। रासस