दसैंअगाडि महानगरीय प्रहरी अपराध महाशाखा टेकुका प्रमुख एसएसपी सर्वेन्द्र खनालको मोबाइलमा कुवेतबाट फोन आयो । फोन उठाउने वित्तिकै एक महिलाले रुन थालिन् । आफू अलपत्र अवस्थामा परेको र स्वास्थ्थ ठिक नभएकाले घर फर्काउन अपील गर्नुपर्यो भन्दै उनी भक्कानिन् । जवाफमा खनालले उनलाई नेपाल फर्काइदिने आश्वासन दिएर पीर चिन्ता नलिइ केही समय धैर्य गर्न भने ।
सोमबार उनी त्रिभुवन विमानस्थलमा ओर्लिइन्। उदयपुर त्रिवेणी ५ की लिलामाया पौडेल झन्डै ३० वर्षकी भईन् । आर्थिक अवस्था नाजुक भएका कारण उनी १० महिनाअघि कुबेत उडेकी थिईन । मोरङ वयरवनका इन्द्र बहादुर घले र काठमाडौं कपनका कृष्णबहादुर सुब्बाले उनलाई कुबेत पठाएका थिए ।
सुब्बाकी श्रीमतीपनि कुबेतमा नै काम गर्छिन् । श्रीमतीले भिसाका लागि सम्पूर्ण व्यवस्था मिलाएकी थिईन । १० महिनाअघि उनलाई घले र सुब्बाले सुरुमा दुबई भिजिट भिसामा पठाइदिए । त्यहाँबाट जान सजिलो हुने भएकाले उनीहरुले उतैबाट कुबेत पठाइदिने व्यवस्था मिलाएका थिए । घले र सुब्बाले सेटिङ मिलाएर उनलाई दुवई हुदै कुवेत पठाएका हुन् । त्रिभुवन विमानस्थलमा पनि उनीहरुले सेटिङ मिलाएका कारण अध्यागमनका कर्मचारीले केही प्रश्न नगरेको उनले बताईन् ।
युवतीहरु विदेश जान लाग्दा अध्यागमका कर्मचारीहरु नानाथरीका प्रश्न तेर्स्याउने गर्दथे । तर त्यसताका आफूलाई कहाँ जान समेत प्रश्न नगरेको उनले बताईन । काठमाडौंको विमानस्थलबाट मध्यरातमा दुवई उडेकी उनी बिहान दुवई हुदै दिउँसो कुबेत पुगेकी थिईन।
कुबेतको विमानस्थलमा कृष्णबहादुरकी श्रीमती पिंकीले उनललाई रिसिभ गरिन् । भोलिपल्टदेखि एक कुेवतीको घरमा हाउसमेडमा उनले काम लगाइदिइन् । काम गरेवापत उनलाई मासिक ७० केडी दिने सहमति भएको थियो । ३ महिना काम गरेपछि उनको स्वास्थ्थ ठिक भएन् । बिहान ४ बजेदेखि राती १२ बजेसम्म पनि काम हुने भएकाले उनी काम्न थालिन् । उभिन समेत नसक्ने नभएपछि उनले कुवेत पठाइदिने २ जना र पिंकीलाई फोन गरेर सबै कुरा बताईन ।
घर मालिकलाई पनि भनिन् तर घर मालिकले १२ सय केडी माग्यो । नेपालबाट कुवेत लैजान आफूलाई १२ सय केडी खर्च भएको र सो रकम घरबेटीले माग गरेको उनले बताइन । उनीहरुबाट कुनै जवाफ नआएपछि फेसबुकबाट एसएसपी सर्वेन्द्र खनालको नम्बर प्राप्त भएको र फोन गरेको उनले सेतोपाटीसँग बताईन । खनाललाई फोन गरेको थाहा पाएपछि घरमालिकले उनलाई एक हप्तासम्म मोबाइल बोक्न दिएका थिएनन् ।
त्यहाँबाट अर्के स्थानमा सार्ने तयारी भइरहदाँ खनालले विभिन्न निकायको सहयोगमा उनले काठमाडौं झिकाएका हुन् । उनलाई कुबेत पठाउन भएको सेटिङ र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।