नेपाल विज्ञान तथा प्रविधि (नास्ट), जनताका लागि उर्जा तथा वातावरण विकास (पीडा) र नेपाल जैविक उर्जा समाजको संयूक्त आयोजनामा आज कात्तिक २० गते नेपालको बद्लिदो परिवेशमा जैविक उर्जा एक मुख्य वैकल्पिक उर्जा श्रोतः चुनौती र सम्भावनाहरु विषयक एक दिवसीय गोष्ठी सम्पन्न भएको छ।
कार्यक्रमको मुख्य उद्देश्य वर्तमान उर्जा संकट तथा दिगो रुपमा उर्जा श्रोतको सम्मिश्रणमा जैविक उर्जा नै आत्मनिर्भर बन्ने एक उत्तम उपाय हो भनेर राष्ट्रिय चासोलाई यस विषय तर्फ मूल प्रवाह गर्ने थियो।
गोष्ठीमा उपप्रधान तथा उर्जामन्त्री टोप बहादुर रायमाझी, नास्टका उपकूलपति प्रा.डा. जीवराज पोखरेल, पुल्चोक इन्जिनियरिङ कलेजका प्रा.डा. अमृतमान नकर्मी, नेपाल योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्द राज पोखरेल, बोटानी केन्द्रिय विभाग त्रिविका डा. चन्द्र प्रसाद पोखरेल, पीडाका सिइअो प्रवास देवकोटा लगायत अन्य विभिन्न सम्बन्धित क्षेत्रका विज्ञहरु उपस्थिति रहेको थियो।
कार्यक्रममा उपप्रधान तथा उर्जामन्त्री टोप बहादुर रायमाझीले तत्कालै हामीले जैविक उर्जाबाटै आत्मनिर्भर हुन सम्भव नभएपनि दिर्घकालिन सोच भने राख्न पर्ने बताए। साथै यसका लागि सरकारको तर्फबाट यथाशक्य योगदान र सहयोग गर्ने आश्वासन पनि दिए।
कार्यक्रममा विज्ञहरुले जैविक उर्जाको सम्भाव्यता, यसका लागि गरिएका र गरिदैँ आएका प्रयासहरुका साथै यसका चुनौतिलाई औल्याउँदै यसका बारेमा विचार विमर्श र विश्लेषण गरिएको थियो। यसका साथै नेपालमा भइरहने इन्धनको समस्यालाई तत्काल जैविक इन्धनले पूर्णरुपमा समाधान गर्न नसके पनि केही योगदान पुर्याउने बताइएको थियो।
यसका साथै सजिवनको तेल मिश्रित जैविक इन्धनबाट गाडि समेत चलाएर प्रदर्शन समेत गरिएको थियो।
पीडाले विगत ८ वर्षदेखि ओखलढुंगाका विभिन्न गाविसहरुमा सजिवनको खेती, बाँझो तथा अनुपयूक्त जमिनमा गर्दै आएको छ। त्यस्तै त्यहाँ संकलित दानाहरु प्रशोधन गरी तेल निकाल्दै आइरहेको छ। उक्त तेलबाट सामुदायिक स्तरमा चाहिने विभिन्न प्रयोगहरु जस्तै सावुन, व्रिकेट, चुल्हो प्रयोगका लागि अनुसन्धान गर्दै पनि आइरहेको छ।
त्यस्तै नास्ट र नेपाल जैविक उर्जा समाजले पनि जैविक उर्जाका विषयमा विभिन्न अनुसन्धान तथा वकालतका कार्यक्रमहरु गर्दै आएको छ।