अरुबेला हुँदो हो त बिहान सबेरैको यो समयमा वरपरका पसल र मन्दिरहरुबाट निस्कने अनुप जलोटाका भजन अनि सडकका खाल्डोहरुमा खोच्याउने रिक्सा र टाँगाका आवाज सुनिन्थे। किर्रर्र, घच्याक्क अनि घोडाका टाप र घन्टीहरुको छम्छम्। मान्छेको चहलपहल पनि सुरु हुन्थ्यो। टोल टोलका चियापसलहरु सलबलाउन थाल्थे।
पत्थर कोइलाको धूवाँ पुत्पुताएपछि एकछिनसम्मै अनौठो गन्ध फ्याँक्छ। त्यसले केहिबेरमा उम्लिन थालेको चियाको बाफसँग मिसिएर एकखाले स्वाद बनाउँछ जुन मधेसको वायुमण्डलमा मात्र पाइन्छ। त्यसपछि सुरु हुन्थ्यो, अहिलेको मधेस आन्दोलनलाई लिएर अनेक मत–मतान्तर।
तर, अचानक मंगलबार बिहानको वीरगन्ज बेग्लै बनेको छ। सोमबार दिउँसोदेखिको कर्फ्युले गर्दा ठप्प। आवाज छ त केवल चराहरुको।
त्यसो त बेलाबेलामा मान्छेहरु फाट्टफुट्ट हिडेका पनि देखिन्छन्। तर, उनीहरुको चाल निस्फिक्री छैन। अनि यसरी एकसुरमा एक्लै हिड्नेहरुलाई सुरक्षाकर्मीले रोकेका पनि छैनन्। भित्री टोलहरुमा भने कुनाकाप्चातिर मान्छेहरु भेलाभएर अहिलेकै विषयमा कुरा गरिरहेका देखिन्छन्।
‘यो त केही पनि होइन,’ भर्खरै दुई साताभन्दा लामो कर्फ्यु भोगेका स्थानीयवासी भन्छन्, ‘अघिल्लो पटक त केहि दिनसम्मै निस्कन पनि दिइएको थिएन।’
दिउँसो हुँदै गएपछि बजारले कस्तो रुप लिन्छ त्यसले नै अहिले जारी कर्फ्युको पनि भविष्य निर्धारण गर्दै लैजान्छ भन्ने कुरामा सबै प्रष्ट छन्। दिउँसो चाहिँ के हुन्छ, कसैले भन्न सक्दैनन्। यतिबेला त भित्रभित्रै सल्किरहेको आगो स–साना जमघटहरुमा ब्यक्त भइरहेका छन्। घाम चढ्दै गएपछि कसको आवेग कताबाट सम्हालिन नसकेर फुस्किन्छ र सुरुहुन्छ नाराबाजी, जुलुश अनि थपिँदै जाने लश्कर। वीरगन्ज मात्र नभइ पर परका गाउँहरुबाट स्वस्फूर्त भेला भई आउने जुलुशहरुले पनि यसपालाको आन्दोलनलाई बेग्लै बनाएको छ। त्यसलाई सहरका नाकाहरुमा रोक्ने कोशिश भयो भने उतैबाट पनि तनाव भित्रन थाल्छ।
यसरी विभिन्न किसिमले तयार हुने प्रदर्शनकारीहरुको जमातमध्ये कोहीकोही प्रहरी थुप्रिएको ठाउँमा ढुँगामुढा गर्न उद्दत हुन्छन्। नत्रभने प्रायः सबैको उद्देश्य कुनै तवरले रक्सौल–वीरगन्ज सिमानामा पुगेर धर्नामा बसेकाहरुको मनोबल बढाउनु नै हुन्छ।
***
सीमानामा धर्ना दिइरहेका आन्दोलनकारीको मनोबल बढाउने काम आइतबारसम्म पनि बेग्लै किसिमले चलिरहेको थियो। त्यतिन्जेल वीरगन्ज क्रमशः खुल्दै गएको थियो र आन्दोलनको स्वरुप पनि स्वादलाग्दो बन्दै गएको थियो। त्यो यस्तो थियो–
बिहान सबेरै स्थानीय एफएमहरुले ‘आज फलाना समुदायको तर्फबाट ऐक्यवद्धता जुलुस’ भनेर प्रचार गरिदिन्थ्यो। त्यसपछि दिउँसो १२ बजेदेखि घन्टाघरमा मान्छेहरु भेलाहुन सुरु हुन्थे। लोहार समुदायको जुलुस भनिएको छ भने कतिपयका हातमा गल र हथौडा झुण्डिएका हुन्थे, डोम समुदायको भनिएको छ भने हात हातमा झाडु। गाउँ गाउँबाट ट्याक्टरमा वा पैदलै आउनेहरु पनि थपिँदै जान्थे।
‘लाठी फाठा लेके होखिँ तैयार
नेपाल अभी बन्दे बा
देखिँ होखलबाटे बडा हाहाकार
नेपाल अभी बन्दे बा
केपी ओली देले गोली चलवाए
विचार अभी गन्दे बा
लाठी फाठा लेके होखिँ तैयार
नेपाल अभी बन्दे बा’
वीरगन्जको इतिहासमा यो गीत जत्तिको लोकप्रिय सायदै आजसम्म अरु कुनै भएको होला। यु ट्युबमा समेत उपलब्ध यसका गायक हुन् यसअघि कसैले नचिनेका पर्सा कै प्रशान्त कुमार। डिजिटल क्रान्ति वीरगन्जमै पनि भित्रिएपछि आजभोलि स–साना सिडी पसलेले पनि रेकर्डिंङको बोर्ड झुण्ड्याउन थालेका छन् जसले गाउँबाट आएका ठिटाहरुलाई लोभ्याउने गरेको छ। एकैछिन् भित्र पसेर मनको भारीलाई साङ्गीतिक बनाउने यो सजिलो तरिका हो। उनीहरु कम्प्यूटरमै उपलब्ध आवाजहरु भरेर गाउँछन्, पेनड्राइभ र मोबाइलमा लिन्छन् अनि गाउँलेलाई सुनाउन लैजान्छन्।
यसरी नै तयार भएको रहेछ प्रशान्तको यो गीत। भोजपुरी तराना र झंकारको पुरापुर स्वादलाग्दो सजावट रहेको यो गीत यतिबेला प्रत्येक आन्दोलनकारीको जिब्रोमा झुण्डिएको छ।
यसरी आइतबारसम्म जसै घन्टाघरमा भेला सुरुहुन्थ्यो यो गीत पर परसम्म सुनिनेगरी घन्किन थाल्थ्यो। बेलुकी घाम डुब्ने बेला भएपछि ती भेलाभएकाहरु लश्कर लागेर सीमानातर्फ बढ्थे। जुलुसलाई गाउँगाउँबाट आएका अनेक झाँकी र नाचहरु समेतले रमाइलो पारेको हुन्थ्यो। कतिपय ट्याक्टरमा भने लाठी, भाला, गँडासीजस्ता घरेलु हतियार बोकेका पनि देखिन्थे। कुनै कुनै ट्याक्टरमा भने दौरा सुरुवाल लगाएका नेता बनाएर कसैलाई राखिएको हुन्थ्यो र छेउछाउमा उनी विरुद्ध आक्रोश पोख्दै गरेका मधेसीहरुको नाटकीय रुप पनि झल्काइएको देखिन्थ्यो। तर, अघिल्लो मधेस आन्दोलनभन्दा धेरै नै संयमित यसपालाको आन्दोलनमा भने यति सबै हुँदाहुँदै पनि छेवैबाट गुज्रने पहाडे समुदायका मानिसहरुलाई भीडले केहि गर्दैन थियो। चिनेजानेको र उनीहरु प्रति सहानुभूति राख्ने हुन् भन्ने थाहा पाए बरु सम्मानै गर्थे।
यसरी अघि बढेको जुलुसले सीमानामा धर्नाकारीहरुको नजिक पुगेपछि ठूलो उल्लास मनाउँथ्यो। एकछिनसम्मै होहल्ला गर्थे। परपरसम्म बसेकाहरु आनन्दमा डुब्थे। गाउँगाउँबाट आएका ट्याक्टरहरुमा चामल, दाल र आलुका बोराहरु लादिएका हुन्थे। मानिसहरु तिनलाई धमाधम रक्सौल भन्सार छेवैस्थित ट्रान्सपोर्ट कम्पनीको एउटा ठूलो यार्डमा ओसार्थे। त्यो ट्रान्सपोर्ट कम्पनी हजारीमलका नाती महेश अग्रवालको हो, जसका बाजेले पचासौं वर्षअघि रक्सौलमा खोलेको शिक्षण संस्था र वीरगन्जमा स्थापना गरेको धर्मशाला अहिले पनि उनकै नामले चलिरहेकै छ। यार्ड भित्रको दृश्य कुनै विशाल भोजको जस्तो चलिरहेको हुन्थ्यो जसमा जुलुसका सहभागीहरु धमाधम भरिन थाल्थे र लहरै बसेर दाल, भात र आलु–सोयाबिन तरकारीको सामूहिक आनन्द लिन्थे।
त्यतिन्जेल घाम डुबिसकेको हुन्थ्यो। सबै आ–आफ्ना घर फर्कन्थे।
उतातिर दैनिक चलिरहेको यो दृश्यबाहेक वीरगन्ज बजार भने क्रमशः सामान्य हुँदै गएको थियो। पसलहरु खुल्न थालेको थियो, केटाकेटी स्कुल जान थालिसकेका थिए। जिल्ला प्रशासन र प्रहरीबाहेक अन्य कार्यालयहरु बन्द नै थिए। लामो दुरीमा चल्ने सार्वजनिक यातायातका साधनहरु चढ्न सिमरा पुग्नु पथ्र्यो। बिहान टम्म भरिने खेलकूदका चौर र खुल्दै गएका सिनेमाहलहरुले सहर भित्रै बसिरहेकाहरुलाई लामो समय कफ्र्यू र बन्दको छटपटीबाट विस्तारै राहत तर्फ लैजाँदै थियो।
***
हत्तपत्त हुलमुलमा आफूलाई कहिल्यै समावेश नगराउने वीरगन्जका व्यापारिक समूदायले केही दिनअघि मात्र जुलुस निकाल्दै धर्नास्थलसम्मै पुगेर आन्दोलन प्रति ऐक्यवद्धता जनाएका थिए।
‘त्यो ऐक्यबद्धता अहिले पनि कायम छ,’ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गणेश लाठ भन्छन्, ‘किनभने मधेसलाई गरिने विभेद हामी सबैले भोगेकै हौं।’
सारा कारोबार वीरगन्जमा हुने भए पनि काठमाडौंले चाहे क्षेत्रीय कार्यालयहरु हेटौंडामा राखेर होस् वा महत्वपूर्ण कुराका निम्ति काठमाडौं नपुगी नहुने बनाएर ताल्चा साँचो सदैव मधेस बाहिरै राख्न नछोडेको लाठको भनाइ छ।
‘मधेसलाई न कहिले विश्वास गरियो, न कहिले माया,’ लाठ भन्छन्, ‘यस्तो अवस्थामा चलेको आन्दोलनले यो रुप लिइरहँदा हामी व्यापारी मात्रै होइन सबै तह र तप्काका मानिसहरुको निजी स्वार्थ निकै पर हराइसकेका छन्।’
तर, यतिकुरा भन्दा भन्दै पनि लाठले उद्योगी व्यापारीहरुको पीरमर्का सुनाउन छाडेनन्।
‘आयात गरेका कन्टेनरहरु महिनौंसम्म उतै अड्किँदा दिनको नौ लाख रुपैँयासम्म डेमरेज चार्ज तिरिरहेका व्यापारीहरु पनि वीरगन्जमै छन्। बैंकको ब्याज र भन्सार पेनाल्टीको त अझ हिसाबै छैन,’ उनी भन्छन्, ‘त्यसमाथि उद्योगहरु पनि उत्तिकै समयदेखि बन्द रहँदा कतिपयले त धमाधम अब अन्त जाने विकल्प सोच्न थालिसकेका छन्।’
युवा पुस्ताका लाठ मात्र होइन गैरव्यापारिक समूदायमा समेत बुद्धिजीवीका रुपमा परिचित ओमप्रकाश रुँगटालाई पनि मधेसीका माग प्रति राज्यले देखाएको बेवास्ता मनपरेको छैन।
‘स्वयं कांग्रेस र एमालेको हातमा रहेको समाधानलाई मधेसवादी दलहरुको पोल्टामा फ्याँक्ने काम उनीहरुले नै गरे,’ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रुँगटा भन्छन्, ‘अब मधेसवादी दललाई पनि बेवास्ता गर्ने हो भने यो कुरा सोझै अतिवादी कित्तामा पुग्छ।’
आफूहरु मधेसी नभए पनि मधेसलाई हेर्ने राज्यको दृष्टिकोणको शिकार सदैव हुँदैआएको रुँगटा सुनाउँछन्।
‘मधेसीहरुलाई विभेद गर्नुपर्छ भन्ने कुरा त पञ्चायतीदेखि लिएर ०४७ सालको संविधानले पनि लेखेको थिएन। तै पनि व्यवहारमा सदैव हेपिँदै आए,’ रुँगटा भन्छन्, ‘अब भने त्यो विभेद व्यवहारमा आउनै नसकोस् भनेर त्यसको प्रत्याभूति यो समूदायले संविधानमै खोजेका हुन्।’
वन विभागका पूर्व उप चिफ कन्जर्भेटरसमेत रहेका रुँगटाका अनुसार सीमाङ्कन, प्रतिनिधित्व र नागरिकताजस्ता मागमा त्यही प्रत्याभूतिको ग्यारेन्टी लुकेको छ।
***
एकातिरबाट प्रदर्शनकारीको ढुंगा, अर्कोतिरबाट प्रहरीको गोली चलिरहँदा म माइस्थान र घन्टाघर बीचैको मुख्य सडकमा बसेर यो सबै दृश्य हेरिरहेको थिएँ। आक्रोशित मधेसी समूदायको नजिकै जहाँ म सुरक्षित महशुस गरेर उभिएको थिएँ, संयोगले त्यो राजु रौनियारको घर थियो। उनीसहित दुई तीनजना आएर हत्तपत्त मलाई छोपे र भित्र लैजान खोजे।
‘तिमी यस्तो ठाउँमा किन आएको?’ उनले तनावकै बीच भने, ‘तुरुन्तै भित्र हिँड।’ म उनको घरभित्र घचेटिएँ र ढोका लगाइयो।
यसपटकको आन्दोलनमा अहिलेसम्म भीँड पहाडे समूदायको विरुद्धमा नदेखिए पनि आक्रोशको बेला जे पनि हुनसक्ने खतरा रहेको भन्दै राजुले मलाई बचाउनका निम्ति त्यसो गरेका रहेछन्।
उनले अतिथिका रुपमा मलाई स्वागत गरे र आन्दोलनको दृश्य हेर्ने मेरो इच्छा पुरा गर्नका निम्ति ताल्चा लागेको कौसीको ढोका खोलिदिए।
यतिन्जेल करिब चार किलोमिटर पर नेपाल भारत सिमानास्थित शंकराचार्यद्वारमा चलिरहेको यस्तै झडपमा गोली लागेर एकजनाको मृत्यु भएको समाचार आइसकेको थियो।
तलको भीड झनै उत्तेजित हुनथाल्यो। सडकको दृश्य हृदयविदारक थियो। आफू जन्मे हुर्केको सहर। सदैव गौरवगाथा गाउँदै आएको सहर। यस्तो लाग्दै थियो त्यो सिँगो सहर मुर्छा परेर भुइँमा लड्दैछ र फेरि उभिन खोज्दैछ, फेरि लड्दैछ।
यो कुनै शान्त जुलुस थिएन। भीड उपद्रवी भइसकेको थियो। प्रहरीलाई इङ्गित गर्दै दिइएका गाली र गतिविधि कतिसम्म भद्दा थिए भने त्यसलाई सङ्केतमा पनि उल्लेख गर्न सकिन्न। कतिपय तन्नेरीका हातमा पेट्रोल बम देखिन्थ्यो भने एकपटक त आन्दोलनकै घाइतेलाई ओसार्न आएको नेपाल रेडक्रसको एम्बुलेन्सलाई भीँडले घेरेर चकनाचुरै पारिदियो। टाउकोमा हात राखेका त्यसका चालकको सायद टाउकै फुटिसकेको थियो।
यताबाट ढुङ्गाको वर्षा चल्दै थियो। जवाफमा उताबाट रबरका गोली र अश्रुग्याँस आइरहेका थिए। एकजनालाई बुलेट नै लागेको भन्दै चारैतिरबाट झुण्ड्याउँदै लगेको पनि देखियो। तर, तल ओर्लेर सोध्न पाइएन। उनको खुट्टाबाट रगत निस्कँदै थियो।
घरका छत छतमा बसेकाहरुको सहानुभूति आन्दोलनकारीतर्फ नै थियो। उनीहरु पानीको फोहरा दिएर अश्रुग्यास पीडित आन्दोलनकारीलाई सघाइरहेका थिए।
यसैबीच दिउँसो तीन बजेदेखि कफ्र्यूको सूचना एफएमहरुबाट बज्न सुरुभए। प्रहरी र आन्दोलनकारी बीचको दोहोरो झडप भने अँध्यारो हुनेबेलासम्मै चलिरह्यो।
***
राजुले मलाई किन सडकमा असुरक्षित देखे त्यो मेरो निम्ति बुझ्न नसकिएको प्रश्न बनिरहेको छ। त्यसो त यो तनाव बढ्दै गयो भने यसले अघिल्लो मधेस आन्दोलन जस्तै पहाडे विरोधी रुप लिन पनि सक्छ भन्ने अनुमान कतिपयले गर्न थालिसकेका छन्। तर, अहिलेसम्म त्यसको कुनै संकेत देखिएको छैन। किन ?
यो प्रश्न लिएर म दिपक शाक्य भेट्न पुगेँ। वीरगन्जको सामाजिक क्षेत्रमा पनि उत्तिकै परिचित त्रिविविका प्राध्यापक जसले केहि दिनअघि मात्र मधेस आन्दोलनको पक्षमा भब्य पहाडे जुलुसको आयोजना र नेतृत्व गरेका थिए।
‘मधेसमा जन्मे हुर्केका हामी प्रत्येकले इमान्दारीपूर्वक बोल्ने हो भने मधेसी माग सहजै बुझ्छौं,’ उनी भनिरहेका थिए, ‘यसपाला हामीले पुरापुर साथ दिएपछि उनीहरुको मनोबल पनि बढेको छ र विश्वास पनि कमाएका छौं।’
पहाडे समूदायलाई कुनै नोक्सान नपुर्याई राज्यसँग आफ्नो माग राख्न खोज्छन् भने उनीहरुलाई सघाउनु मधेसका प्रत्येक सचेत नागरिकको कर्तव्य रहेको शाक्यको भनाई छ।
‘संविधानमार्फत् सम्मानजनक हैसियत राखेर राष्ट्रको मूलधारमा सहभागी हुन चाहन्छौं भनेर माग्छन् भने मधेसी कसरी गलत भए?’ शाक्यको प्रश्न थियो, ‘यसपालाको आन्दोलनमा परिपक्वता देखिएपछि उनीहरुलाई एक्लै पर्न दिनुहुँदैन भनेर ऐक्यवद्धताको पहल थालेको थिएँ।’
पहिले वीरगन्जकै नेवार समूदायको मात्र र्याली निकाल्ने तयारी गरेका शाक्यको प्रयास अघि बढेपछि नचिताउँदो रुपमा अन्य समूदायले पनि सहभागीता देखाए र लगभग सम्पूर्ण वीरगन्जकै हरेक तप्काका पहाडेहरु पहिलोपटक मधेसीका हक अधिकारका खातिर जुलुसमा निस्के।
‘डाँडा काटेर आएका भाइ भारदार र तिनका कारिन्दाहरुले मधेसमा जुन जमिन्दारी भोग गरे त्यसैको निरन्तरता अब चल्दैन,’ शाक्य भन्छन्, ‘हामी त्यही परम्पराबाट हुर्केर आएको भए पनि बदलिएको समयको मागलाई अब आत्मसात गर्नै पर्छ।’
पछिल्लो समयमा यता बसोबास गर्दैआएका चेतनशील पहाडे समुदायले यो कुरा आत्मसात गर्न थालेका छन्। नसक्नेहरु धमाधम बसाइँ सरेर जाँदै पनि छन्। तर, काठमाडौं आफैँ र उसले पठाएका हाकिमहरुले भने पुरानै अवस्थाको निरन्तरता गराउन खोज्दा परिस्थिती बिग्रने गरेको शाक्यको धारणा छ।
अहिलेसम्म संयमित मधेसी समूदाय र चेतनशील पहाडे समूदायकै कारण यसपालाको आन्दोलनले साम्प्रदायिक रुप लिन नपाएको कुरामा यतिबेला सबै एकमत छन्। तर, यति हुँदाहुँदै पनि नेतृत्वको अभावमा भीँड अनियन्त्रित भइदिए कुनैबेला केहि भइ पो हाल्ला कि भन्ने त्रास चाहिँ सबैको मन मनमा छ।
...
२००७ सालको आन्दोलनका निम्ति २००४ सालदेखि नै रक्सौल बस्दै आएका कृष्णप्रसाद भट्टराईले गरेको मलजलकै आधारमा त्यो क्रान्तिकै सुरुवात विन्दु बन्न पुगेको थियो वीरगन्ज। त्यसपछि वीरगन्जले कुनै आन्दोलनको अगुवाइ लिएको यसपटक नै हो। त्यतिबेला जसरी ‘भुँडे पण्डीतजी’ले किसुनजी र उनका सहयोगीलाई खाना खुवाएर सहयोग गरेका थिए त्यसैगरी यतिबेला त्यो अग्रसरता लिएका छन् महेश अग्रवालले। त्यतिबेला पनि रक्सौल धर्मशालामा बस्ने भट्टराई र उनका टोलीलाई लाञ्छना लगाइएको थियो, त्यसरी नै अहिले सिमानामा धर्ना बस्नेहरु लाञ्छित छन्।
तैपनि आइतबारसम्म धर्ना जारी थियो र वीरगन्जको अवस्था सामान्य बन्दै गइरहेको थियो।
तर, सोमबार बिहान अन्धकारमै गएको नेपाली प्रहरी टोलीले दशगजाको पुलमाथि बसेका धर्नाकारीहरुलाई आक्रमण गर्नुको साथै त्यहाँ लगाइएका टेन्टहरु कब्जा गरेर ल्याए। अघिल्लो दिन रक्सौलमा चुनाव भएकाले बोर्डर सिल गरिएको थियो। त्यसैले प्रहरी आक्रमणबाट भागेका प्रदर्शनकारीहरु रक्सौलतर्फ पनि पस्न पाएनन्। केहि घन्टाको निम्ति नाका खुला भयो। लामो समयदेखि उता फर्कन अनेक प्रयत्न लगाइरहेका केही भारतीय ट्रकहरु उता पस्न सफल पनि भए।
तर, यो घटनाको समाचार फैलिनेबित्तिकै गाउँगाउँबाट मानिसहरु फेरि ओइरिन सुरुभए। मुख्य सडक प्रहरीको कब्जामा भए पनि उनीहरु खेतैखेत पुलमा जम्मा भए। त्यतिन्जेल चुनावले गर्दा २४ घन्टाको निम्ति सिल गरिएको भारतीय सीमा पनि खुलिसकेको थियो। मान्छे त्यताबाट पनि आए। यसरी त्यो संख्या दस हजारजति पुग्यो। धर्ना फेरि सुरु गराइयो र जुलुस वीरगन्जतर्फ बढ्न थाल्यो। वीरगन्जकै थुप्रै स्थानमा झडप चलिरहेकै थियो। तर, सिमानाको मितेरी पुलबाट आएको त्यो ठूलो जुलुसलाई भने जसरी पनि रोक्न खोज्दा एकजना भारतीयको गोली लागेर मृत्यु भएको छ।
यसरी प्रहरी प्रशासनको फितलो प्रयास उत्तिनै खेर तुहिए पनि त्यसले उठाएको आक्रोशले मधेस आन्दोलनमा झनै आगो थपिदिएको छ।
‘अब यो आन्दोलन रहेन,’ व्यापारी गणेश लाठ भन्छन्, ‘यसले विद्रोहको रुप लिएको छ, जसको समाधान अझ जटिल बन्दै गएको छ।’
के कारण स्थानीय प्रशासनले यस्तो प्रत्युत्पादक र सहजै तुहिने कदम उठाएको थियो?
यसको जवाफ माग्न प्रमुख जिल्ला अधिकारीलाई पटक पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन्।
***
यी हरफहरु लेख्दालेख्दै घाम चर्किसकेको छ। सहरका विभिन्न भागहरुमा कफ्र्यू तोडेर नारावाजी हुनथालेको रिपोर्ट आउन थालेका छन्। र, कफ्र्यूले थुनिएका कोठाभित्र सुनिदैछ बेला बेलामा पड्किएको आवाज...