दोलखा सदरमुकाम चरिकोटको नजिकै पर्छ ढाँडखर्क गाँउ। चरिकोट बजारको सातदोबाटो चोकबाट १५ मिनेट ओरालो झरेपछि पुगिने यो गाँउमा रहेका अधिकांश घर भूकम्पका कारण भत्किएका छन्। केही भत्किएका घरका सामग्रीहरु पन्छाइएको छ, केही पन्छाउन बाँकी। भूकम्प गएको ६ महिना बितिसक्दा पनि अझै टहरामा बसिरहेका छन् स्थानीय।
६५ वर्षकी मीनमाया तामाङले टहरामै वर्षा कटाइन्। हिँउदमा टहराको बसाई थप कष्टकर हुने पिरलो छ उनलाई, 'जस्ताले छाएको टहरोमा जाडो कसरी कट्ला?'
गाँउकै मनमाया श्रेष्ठ हिउँदमा नयाँ घर बनाउने योजनामा छिन् श्रेष्ठ। नयाँ घर कस्तो बनाउने? श्रेष्ठजस्तै गाँउलेहरुको प्रश्नको जवाफ आजसम्म कसैले दिएको छैन।
“घर त बनाउन हुन्थ्यो कस्तो बनाउने अझै टुङ्गो छैन।” सरकारले भूकम्प गएको ४ महिनापछि गाँउमा १५ हजारका दरले राहत वितरण गर्यो। ढिलो गरी प्राप्त राहत रकम टहरा बनाउने ज्यामीलाई खाजा खुवाउँदै खर्च भयो। गाँउमा राहतस्वरुप खाद्यान्न, एकथान ब्लाङ्केट र पालभन्दा अरु केही नपाएको श्रेष्ठले बताइन्।
बैशाख १२ को भूकम्प र त्यसका परकम्पबाट अति प्रभावित १४ जिल्लामध्ये १ हो दोलखा। यहाँका ४८ गाविस र २ नगरपालिकाको अवस्था ढाँडखर्ककै जस्तो छ। नयाँ घर बनाउने छलफल भने सुरु भएको छ गाउँमा।
'परम्परागत घर बनाउँदा बलियो नहुने रहेछ। गाँउमा भूकम्प थेग्ने तालिम सञ्चालन भए त्यस्ता मानिस लगाएर घर बनाउन हुन्थ्यो,'जफे गाविसका दिपक कार्कीले भने। विभिन्न संस्थाहरुले गाँउ गाँउमा अस्थायी आवासका लागि जस्ता तथा अन्य निर्माण सामाग्री उपलब्ध गराएका छन्। यसले पनि धेरै समय नधान्ने पिडितहरु बताँउछन्। मालु गाविसका राजन पोखरेल भन्छन्, 'तीन तलामा चलेको जिविका साँघुरो टहरामा चलाउनुपर्दा साह्रै सकस छ।'
भूकम्प प्रतिरोधी घर निर्माण गर्न नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाले जिल्लाका १० गाविसमा डकर्मीहरुलाई लक्षित गरी तालिम सञ्चालन गरेको छ। तालिमका सहभागि भूकम्प प्रतिरोधी घरहरु निर्माण गर्नका लागि उत्साहि छन। शहरे गाविस वडा नं. ७ का कुमार मिजारको पेशा नै डकर्मी हो। उनी पनि रेडक्रसले सञ्चालन गरेको डकर्मी तालिममा सहभागी भए। उनी भन्छन “परम्परागत रुपमा घर बनाँउदा भन्दा भूकम्प प्रतिरोधी घर बनाउँदा गारो लगाउने कुरामा विशेष ध्यान दिनुपर्ने रहेछ।”
भूकम्पप्रतिरोधी संरचना बनाउन तालिम प्राप्त जनशक्तिको अभाव भएका कारण गाँउमा पुर्ननिर्माण काममा धेरै समय लाग्ने उनी बताँउछन्।
जिल्ला दैवीप्रकोप उद्धार समितिको सिफारिसअनुसार जिल्लाका १० गाविसमा स्वीस रेडक्रस सोसाईटीको सहयोगमा तालिम सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाईटि दोलखा शाखाका मन्त्री गोकर्ण पोखरेलले बताए, 'यसले थोरै मात्रामा भए पनि सुरक्षित पुननिर्माणका लागि सहयोग गर्छ।'
पुर्ननिर्माणको काम अघि बढाउन स्थानिय बासिन्दाहरुले घरको नक्सा तथा डिजाइन माग गरिरहे पनि हालसम्म जिल्लास्थित कुनै सरकारी निकायले उपलब्ध गराएका छैनन्। जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक एवं प्रमूख जिल्ला अधिकारी देबेन्द्र लामीछानेले जिल्लामा भवन निर्माण सम्बन्धी काम गर्न भवन निर्माण डिभिजन कार्यालय स्थापना भएकोले नक्सा लगायतका काम कार्यालयमार्फत हुने जानकारी दिए, 'नागरिकहरुले भवन निर्माणबारे कार्यालयमार्फत जानकारी लिन सक्छन।'