शहरे गाविस वडा नं. ८ कि मसली खड्कालाई अहिले शौचालय निर्माणको कामले भ्याईनभ्याई छ। दशैं अगावै शौचालय निर्माणको काम सक्नेगरी उनी काम गरिरहेकी छिन्। चाडपर्वका बेला आफन्तहरुको जमघट हुने भएकाले शौचालय नभई नभएको उनले बताईन्। “आफुलाई त जसोतसो चलेकै थियो। पाहुनाहरुका लागि शौचालय भएन भने त बेईज्जत हुन्छ।”
बैशाखमा गएको भूकम्पले उनको घर भत्काईदियो। घरसँगै जोडिएको शौचालय पनि भत्कियो। घर बनाँउदा र खेती गर्दा अहिलेसम्मको समय वित्यो।
गाँउमा उनीजस्तै अरुहरु पनि शौचालयको निर्माणमा जुटेका छन्। कोही मर्मतमा जुटेका छन्। उनीहरुलाई मर्मत गर्नका लागि सामुदायिक विकास मञ्च नेपाल दोलखाले सामाग्री सहयोग गरिरहेको छ।
संस्थाकी कार्यक्रम सहसंयोजक मिनुका सुवेदीले संस्थाले पूर्ण रुपमा क्षति भएकाहरुलाई प्यान सिमेन्ट पाईप र छानाका लागि जस्ता तथा छाना भत्किएकाहरुलाई छाना र प्यान भत्किएकाहरुलाई प्यान र सिमेन्ट सहयोग गरेको जानकारी दिईन्। उनका अनुसार गाविसमा रहेका ६ सय ९३ घरमध्ये १ सय ४३ घरमा भएका शौचालयहरु पूर्ण रुपमा क्षति भएका छन् भने ३ सय १४ घरका शौचालयमा सामान्य क्षति पुगेको छ।
चाडपर्वका बेला आफन्तहरु जमघट हुने भएका कारण धेरै जना शौचालय मर्मतमा जुटेको बताँउछन् जफे गाविसमा लिलामान तामाङ। आफुलाई भए त जस्तो भए पनि हुन्थ्यो पाहुना आँउदा काम गर्न गाह्रो हुने भएका कारण शौचालय निर्माण गर्न लागेको तामाङले जानकारी दिए। शहरे गाविसमा जस्तै उनको गाविसमा पनि सामुदायिक विकास मञ्च दोलखाले भत्किएका चर्पिहरु पुनर्निर्माण कार्यक्रम सञ्चालन गरिरहेको छ।
देशमा भएको ईन्धन अभावका कारण गाँउमा चलिरहेको कार्यक्रममा प्रभाव परेको छ। कार्यक्रमकी स्थानिय सहजकता शकुन्तला कार्की दशैंअगाडी नै कार्यक्रम सकिने लक्ष्य राखिएको भएतापनि ईन्धन अभावका कारण सामाग्री वितरण गर्न नसकिएकोले लक्ष्य पुरा नभएको बताँउछिन्। स्थानीयहरुले आफुले गर्ने काम गरिसकेका छन्।
गंगामाया थापामगर बुढ्यौली उमेरका बाबजुद शौचालय निर्माणको काममा सक्रिय छिन्। गएको वर्ष गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने क्रममा गाविसले सहयोग गररेर बनेको शौचालय भूकम्पले पूर्ण रुपमा क्षति पुर्याएपछि उनी शौचालय बाहिर दिसापिसाब गर्न बाध्य भएकी थिईन्। अहिले सामुदायिक विकास मञ्चले सञ्चालन गरेको सर्फ कार्यक्रमअन्तर्गत शौचालय निर्माण हुने भएपछि उनलाई ठूलो राहत मिलेको छ। “शौचालयमा दिसापिसाब गर्ने बानी विग्रेला कि भन्ने थियो। त्यसो भएन।”
भुकम्पका कारण धेरै शौचालयहरुमा पनि क्षति पुगेको छ। जिल्लामा ८९.३० प्रतिशत शौचालयमा क्षति पुगेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय चरिकोटले जानकारी दिएको छ।