पहिरोका कारण अवरुद्ध धुन्चे स्याफ्रु खण्डको पासाङल्हामु मार्ग खुला भएको छ।
रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार १३ गते साँझबाट पहिरोका कारण अबरुद्ध स्याफ्रु–५ खोपाङ भीरमा गएको पहिरो डिभिजन सडक कार्यालय नुवाकोटको सक्रियतामा सडकको ट्र्याक खुलाउने कार्य सम्पन्न भएको छ।
पहिलो चरणको ट्र्याक खुलाई रोकिएका केही सवारी साधन पार गराइसकिएको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी थापाले सडकलाई दिगोपन बनाउन प्राविधिक अध्ययन भइरहेको बताए।
गल्छी–रसुवागढी–केरुङ राष्ट्रिय राजमार्ग भएका कारण सडक व्यवस्थित गर्न प्रहरी प्रशासनलगायत सडक कार्यालयको ध्यान खापाङ भीरपाखोतर्फ केन्द्रित भइरहेको पनि सहायक प्रजिअ थापाले जानकारी दिए। रासस