जिल्ला जनस्वाथ्य कार्यालय कञ्चनपुरले यहाँका स्वास्थ्य संस्थामा औषधिको चर्को अभाव रहेको जनाएको छ।
कार्यालयका अनुसार कञ्चनपुरका रहेका तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र, १८ वटा स्वास्थ्य चौकी, सात वटा नगर स्वास्थ्य केन्द्र तथा आठ वटा सामुदायिक स्वास्थ्य इकाइमा विगत तीन महिनायता औषधिको चर्को अभाव रहेको छ।
“औषधि सकिएको लामो समय भइसकेको छ, बन्द, हड्तालले अभाव झन् बढ्दै गइरहेको छ” – जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख हजारी चन्दले भने।
आर्थिक वर्ष सुरु भएको तीन महिना बितिसक्दा पनि औषधि खरिदका लागि बोलपत्र आह्वान हुन नसक्दा औषधि अभाव अझै चर्किने खतरा रहेको छ ।
“स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिसमेत छैन,” निमित्त प्रमुख चन्दले भने, “न त माथिल्लो निकायबाट औषधि खरिदका लागि पैसा नै आएको छ ।” जनस्वास्थ्यले मातहतका स्वास्थ्य संस्थामार्फत सेवाग्राहीलाई निःशुल्क वितरण गर्नुपर्ने ३६ प्रकारका औषधि पुर्ान नसक्दा बिरामी मर्कामा पर्दै आएका छन् ।
जनस्वास्थ्यमा मौज्दात रहेको औषधिसमेत सकिसकेको छ ।
आपूर्ति महाशाखालाई पटकपटक लिखित रुपमा औषधि उपलब्ध गराउन आग्रह गर्दा पनि औषधि नपाइएको उनको भनाइ थियो। रासस