नाकाबन्दीपछि इन्धनको अभावसँगै तालिकामा रहेका रक्तदान कार्यक्रमहरु हुन छाडेपछि जिल्लामा रगतको अभाव भएको छ।
रक्तसञ्चार केन्द्र भरतपुरबाट सदरमुकामका अस्पतालहरुमा दैनिक १५० युनिटको हाराहारीमा रगतको माग हुने गर्छ। सबैभन्दा बढी कलेज अफ मेडिकल साइन्सेस र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रगतको माग हुने गरेको केन्द्रका प्रमुख रमेशकान्त पौडेलले बताए।
ती अस्पतालका अतिरिक्त जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, नारायणी सामुदायिक अस्पतालसहित नर्सिङ होमहरुमा पनि रगतको माग हुने गरेको उनले बताए। जिल्ला र बाहिरबाट आउने दुर्घटनाका घाइते र बिरामीको ठूला शल्यक्रिया जिल्लाका अस्पतालमा हुने भएकाले रगतको माग बर्सेनि बढ्दै गएको छ।
इन्धनको अभावमा मानिसको आवतजावतमा कठिनाइ भएपछि रक्तदान कार्यक्रम आयोजना गर्नेहरुले नियमित कार्यक्रम नगर्दा रगतको अभाव भएको उनले बताए।
बिरामीका आफन्तबाट रगत साटेर अत्यावश्यक बिरामीलाई मात्र रगत दिइएको छ । आफन्तहरु समेत आउन नसकेपछि कतिपयले शल्यक्रियाको समय पछाडि सारेको केन्द्रका प्रमुख पौडेलले बताए। पछिल्लो समय स्थानीय प्रशासनले पालो मिलाएर इन्धन दिन थालेपछि नियमित रक्तदान कार्यक्रम सुरु हुने क्रम भएकाले केही दिनमा पूर्ववत् अवस्थामा रगतको माग पूरा गर्न सकिने उनले बताए।
केन्द्रमा वार्षिक रुपमा ३५ हजार युनिट रगत माग हुँदै आएको छ ।