दुई सय ५८ वर्ष पुरानो रीत तोडिएन।
काठमाडौंको चिनारी ‘जीवित देवी’ कुमारी रथयात्रा त्यसरी नै सम्पन्न भयो, जसरी हुँदै आएको थियो।
एक महिना अघिसम्म पनि धुकचुकै थियो।
भुइँचालोले लडेको काठमाडौंमा जात्रा कसरी निकाल्ने? जात्रा हिँडाउनुपर्ने साँघुरा भित्री गल्लीका पुराना घर चोइटिएका छन्। मक्किएका छन्। काठे टेकोको भर छ। हजारौं जात्रालु रथको अघिपछि गुटुटुटु दौडिँदा थर्किएर घर गर्ल्यामगुर्लुम ढल्न के बेर!
वसन्तपुर परिसरका धेरै प्राचीन मन्दिर ढलिसके। कुमारी घर, महादेव–पार्वती मन्दिरसहित एकाध सम्पदाले मात्र भुइँचालो थेग्न सके। भग्नावशेषबीच कुमारी, गणेश र भैरव रथयात्रा कहाँबाट चलाउने? राष्ट्रप्रमुखले कहाँबाट दर्शन गर्ने? जात्रालुहरूको घुइँचो कसरी व्यवस्थापन गर्ने?
प्रश्न थुप्रै थिए।
उत्तर एउटै थियो।
‘कुमारी रथयात्रा हाम्रो सांस्कृतिक पहिचान हो,’ एक महिनाअघि इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले भनेका थिए।
‘यस्तो विपदमा जात्रा देखाउन सके संसारभरि सन्देश जानेछ– भुइँचालोले काठमाडौं लडेको छ, गलेको छैन।’
***
गौतमरत्न इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष मात्र होइनन्। उनी ती थोरै सदस्यमध्ये एक हुन्, जो कुमारीघरभित्रै बस्छन्।
उनी कुमारीघरका ‘चिताइदार’ हुन्।
‘चिताइदार भनेको?’
‘पहरेदार,’ उनले एकै शब्दमा भने।
उनका अनुसार, कुमारीको दैनिक पूजाआजादेखि सबै विधिव्यवहार चिताइदारबाटै गरिन्छ। कुमारीको रेखदेख, स्याहार, खानपिन, पढाइलेखाइ लगायतको जिम्मा पनि चिताइदारकै हुन्छ।
सबभन्दा महत्वपूर्ण कुरा, गौतमको कूलले यो जिम्मेवारी पाएको त्यति नै वर्ष भयो, जति कुमारी रथयात्राको इतिहास। अर्थात्, २ सय ५८ वर्ष।
राजा जयप्रकाश मल्लले विसं १८१४ मा कुमारीसँग सम्बन्धित तीन महत्वपूर्ण परम्परा बसालेका थिए।
पहिलो, वसन्तपुर दरबारको ‘गद्दी बैठक’ सामुन्ने मल्लकालीन काष्ठकला, वास्तुकला र चित्रकलाले सुशोभित कुमारीघर निर्माण गराए।
दोस्रो, सुनको जलप लगाइएको तीनतले पगोडा शैलीको रथ निर्माण गरी प्रत्येक वर्ष कुमारी रथयात्रा चलाउन थाले। कुमारीसँगै गणेश र भैरव रथयात्रा पनि त्यही बेला सुरु भयो।
र, तेस्रो, कुमारीको दैनिक सेवा, स्याहार र पूजाअर्चनाका लागि चिताइदार नियुक्त गरे।
जसरी काठमाडौंका १८ महाविहारमध्ये शाक्य कूलको निर्धारित लक्षणले युक्त कन्यालाई विधिपूर्वक कुमारी बनाइन्छ, त्यसैगरी धर्मचक्र महाविहार, वटुबहालको शाक्य परिवारबाट पुस्तौंदेखि चिताइदार नियुक्त गरिँदै आएको गौतम बताउँछन्।
चिताइदार कूलकै दुर्गा शाक्यले ‘हाम्रो संस्कृतिमा देवी तुलजा र कुमारीको स्थान’ किताबमा लेखेकी छन्, ‘कुमारी भवानीका रूपमा सुकन्या छनौटदेखि नित्य पूजा तथा आरतीको व्यवस्था, जात्रापर्व, देवी कुमारीको स्याहारसुसार, कुमारीघरको सुरक्षा, कुमारीको हाउभाउमा कुनै भिन्नता आए सम्बन्धित निकायमा जानकारी पुर्याउनु र कुमारीको निम्ति आवश्यक सुविधा उपलब्ध गराउनु चिताइदारको दायित्वभित्र पर्छ।’
चिताइदार परम्पराको महत्वपूर्ण पक्ष के भने, यो पद महिलालाई मात्र दिइन्छ। पूजाआजादेखि स्याहारसुसारको चाँजो मिलाउन एक जनालाई गाह्रो पर्ने हुनाले उनको परिवारै संलग्न हुने चलन छ। त्यही भएर सबै सदस्यलाई ‘चिताइदार’ भन्ने गरिन्छ।
‘राजाको निधनपछि शासनको बागडोर जेठो छोरामा गएजस्तै चिताइदार पद जेठी बुहारीमा हस्तान्तरण हुने परम्परा छ,’ गौतम भन्छन्।
चिताइदार सातौं पुस्तामा चलिरहेको छ। सातौं पुस्ताका रूपमा ज्ञानदेवी शाक्यले यो जिम्मेवारी निर्वाह गरिरहेकी छन्। उनी गौतमकी आमा हुन्।
वंशावलीअनुसार राजा जयप्रकाश मल्लबाट चिताइदार पद पाउने श्रीलक्ष्मी शाक्य पहिलो हुन्। त्यसपछिका पुस्तामा जितालक्ष्मी, थिरलक्ष्मी, पञ्चलक्ष्मी, बेतीमाया र इन्द्रमाया हुँदै ज्ञानदेवीमा यो परम्परा सरेको हो।
***
कुमारी र चिताइदारको दैनिकी
चिताइदार परिवारको दिनचर्या कुमारीकै सेवा र रेखदेखमा बित्छ।
दिनको सुरुआत कुमारीको नित्य पूजाका लागि सर्जाम व्यस्थाबाट हुन्छ। कुमारीघरमा रहेका सबै देव–देवीलाई चढाउन भोगको प्रबन्ध मिलाइन्छ। नित्य पूजा निम्ति कुमारीलाई नुवाइधुवाइ गराउने, कोरीबाटी गरेर वस्त्र पहिराउने र शृंगार गर्ने काम चिताइदार ज्ञानदेवी र उनका छोरी–बुहारीले गर्छन्।
कुमारीको शृंगार आध्यात्मिक भावनाले परिपूर्ण हुन्छ। त्रिनिनयन र त्रिकोणात्मक रातो टीका लगाउने परम्परा छ। पूजाको निम्ति त्रिकोण मुद्राको आसनमा बसालिन्छ।
‘वज्रयान परम्परामा रातो वर्णसहितको त्रिकोण मुद्रामा अलौकिक शक्ति रहेको वर्णन छ,’ दुर्गा शाक्यले आफ्नो पुस्तकमा लेखेकी छन्।
कुमारीले रथयात्रा तथा अन्य अवसरमा पहिरिने आभूषण पनि विशिष्ट हुन्छन्। यसमा रातो र सक्कली तासको चौबन्दी चौलो र जामा, शिरमा जालीदार रातो धागो, मौलिक र कलात्मक तायो, त्रिकोण आकारको साधारण र नवरत्नजडित मुकुट, तुलसी पत्ता लच्किएको सिंगुली माला (नरमुण्ड मला) प्रमुख छन्। जन्त्रका माला, घुंघुरु, बाला, चुरा, जभि, नागमाला र बेरुवा औंठी पनि लगाइन्छ।
शृंगार र बिहानको नित्य पूजापछि भोजनको समय हुन्छ।
भोजन तयार गर्दा शुद्धतामा विशेष ध्यान पुर्याउनुपर्ने गौतम बताउँछन्। ‘उहाँलाई चिताइदारबाहेक अरूले पकाएको खुवाइँदैन, कहीँकतै लसपस नहोस् भनेर ख्याल गर्नुपर्छ,’ उनी भन्छन्, ‘हामी वा हाम्रा केटाकेटी बाहिर भोजभतेरमा गएका छौं भने कुमारीघर फर्केपछि नुहाउनैपर्छ।’
भोजन तयार गर्न छुट्टै भोजनगृहको व्यवस्था छ। त्यो कोठा सफासुग्घर गरेर चोखो बनाइएको हुन्छ। त्यहाँ चिताइदार परिवारबाहेक अरू छिर्न पाउँदैनन्। पकाउने पनि चिताइदारहरूले नै हुन्। गौतमका अनुसार भोजनमा साकाहारी र मासांहारी सबैखाले परिकार हुन्छन्। कुखुराको मासु र अन्डा भने चल्दैन। ‘ती त हामी चिताइदार पनि खाँदैनौं,’ उनी भन्छन्।
कुमारीलाई इन्द्रजात्रा, पूजाआजा वा विशेष समारोहमा चाँदीको थालमा खुवाइन्छ। अरू बेला पित्तलको थाल प्रयोग हुने गौतम बताउँछन्।
भोजनपछि पालो आउँछ, पढाइलेखाइको।
दिनहुँ १२ देखि ४ बजेको समय पढाइका लागि छुट्ट्याइएको हुन्छ। यस अवधिमा कौशी तोषखाना र गुठी संस्थानद्वारा नियुक्त सरकारी शिक्षक आएर कुमारीलाई पढाउने गर्छन्।
‘२०३५ सालसम्म ‘प्राइभेट’ कक्षा सञ्चालन गरिन्थ्यो । त्यसयता सरकारी पाठ्यक्रमअनुसारै पढाइँदै आएको छ,’ गौतम भन्छन्, ‘स्कुलमा जसरी औपचारिक शिक्षा दिइन्छ, यहाँ पनि त्यही लागू हुन्छ।’
कुमारीलाई पढाउन दिनहुँ एक जना शिक्षक आउने गर्छन्। विषयअनुसार शिक्षक फरक पर्छ।
कक्षा सकिएपछिको समय ‘फ्री टाइम’ हो । त्यसबेला कुमारी अरू सामान्य केटाकेटीजस्तै क्यारम बोर्ड, ब्याडमिन्टन लगायत खेल्ने गौतम बताउँछन्। कुमारीसँग खेल्न चिताइदारका केटाकेटी वा बाहिरका अरू केटाकेटी आउँछन्। लेखपढ पनि यही बेला हुन्छ। चिताइदारका केटाकेटी र कुमारी सँगसँगै ‘होमवर्क’ गर्छन्।
त्यसपछि केही बेर भक्तजनलाई दर्शन दिएर बेलुकी ८ बजेतिर खाना खुवाइन्छ। सामान्यतया ९ देखि साढे ९ बजे सुत्ने समय हुन्छ।
कुमारीको दैनिकीसँग प्रत्यक्ष जोडिने चिताइदार परिवारको बसोबास पनि कुमारीघरभित्रै हुन्छ। गौतमलाई त आफ्नो पुर्ख्यौली घरसम्म थाहा छैन। उनीहरूको घर भनेकै कुमारीघर हो। उनीहरूका बालबच्चा हुर्किने, बढ्ने त्यहीँ हुन्। बिहे–ब्रतबन्धका लागि भने वटुबहालको धर्मचक्र महाविहार प्रयोग गर्दै आएका छन्।
सामान्यतया कुमारीका रूपमा छनौट भएर कुमारीघर प्रवेश गर्दा कन्याको उमेर अढाई–तीन वर्षभन्दा बढी हुँदैन। त्यस्ती कन्या लगभग १२ वर्ष नहुँदासम्म कुमारीकै रूपमा रहने परम्परा छ। उनका आमाबाबुले पनि अरू भक्तजनजस्तै दर्शन गर्ने हो। सानैमा आमाबाबुबाट छुट्टिएर चिताइदारकै रेखदेखमा बस्ने हुँदा स्वाभाविक रूपले आत्मीय सम्बन्ध गाँसिएको हुन्छ।
सबभन्दा नरमाइलो त्यतिखेर हुन्छ, जब कुमारी निवृत्त भएर आफ्नो परिवारमा फर्कन्छन्। त्यतिबेला कुमारीघरमा रुवाबासी नै हुने गौतम सम्झन्छन्।
‘छुट्टिने बेला त बिजोगै हुन्छ,’ उनी भन्छन्, ‘लगभग सात–आठ वर्ष सँगै बसेका हुन्छौं, हामीले नै हुर्काएका हुन्छौं, छोरीलाई विदा गर्दाजस्तै रुवाबासी हुन्छ।’
कुमारीघर नियमित आइरहने भक्तालु राजन महर्जन कुमारी र चिताइदार परिवारबीच भावनात्मक सम्बन्ध गाँसिने बताउँछन्। ‘आमाछोरीजस्तै बसेका हुन्छन्, एकैचोटि छुट्टिनुपर्दा नरमाइलो हुन्छ,’ उनी भन्छन्, ‘हामी नियमित आइरहने भक्तजनलाई त कति खल्लो लाग्छ, उहाँहरूलाई कस्तो होला!’
आत्मीय सम्बन्धकै कारण निवृत्त कुमारीहरू चिताइदारलाई भेट्न बारम्बार आइरहने उनको भनाइ छ।
परम्पराअनुसार पनि कुमारी जात्रा तथा अन्य अवसरमा चिताइदार तर्फबाट निवृत्त कुमारीलाई छोरीचेलीजस्तै निम्ता गरिन्छ। यसरी आएका बेला पूर्व कुमारीहरूबाट नयाँ कुमारीको खुट्टा ढोगेर सम्मान गर्ने चलन छ। चिताइदारहरूले पनि पहिलेजस्तै पूर्व कुमारीको खुट्टा ढोगेर सम्मान गर्छन्।
‘पूर्व कुमारी भेट्न आउँदा बिहे गरेकी छोरीचेली घर फर्केजस्तै लाग्छ,’ गौतम सुनाउँछन्।
एकचोटि कुमारी भइसकेपछि जीवनभर विवाह गर्नुहुन्न र गरेमा पतिको मृत्यु हुन्छ भन्ने अन्धविश्वास पत्याएर बसेकाहरू पनि प्रशस्तै छन्। यथार्थमा, धेरै पूर्व कुमारीले विवाह गरेर पारिवारिक जीवन बिताइरहेका छन्।
‘कतिपय अन्धविश्वास हामीले तोड्न सकेका छैनौं, उहाँ जीवित देवी हो, तर उहाँको पनि दैनिक जीवन सामान्य केटाकेटीको जस्तै हुन्छ,’ गौतम भन्छन्।
‘कथन र यथार्थबीचको भेद हटाउन कुमारी कथा बुझ्नुपर्छ। आफ्नो संस्कृति, सभ्यता र त्यसको कथा थाहा नपाउनु कुइराको काग हुनुजस्तै हो।’
***
कथा–इतिहास
कुमारीघर निर्माण, रथयात्रा थालनी र चिताइदारको व्यवस्था २ सय ५८ वर्षअघि राजा जयप्रकाश मल्लले गरेका भए पनि कुमारी परम्परा लिच्छिवि कालदेखिकै हो।
कुमारी संस्कृतिविद् दुर्गाका अनुसार अन्न र जलका देवता रातो मच्छिन्द्रनाथको नेपाल (काठमाडौं) प्रवेशसँगै कुमारी प्रतिस्थापन गर्ने परम्परा बसेको हो। मच्छिन्द्रनाथलाई काठमाडौं ल्याउँदा कोदुवाल दह आइपुगेपछि उनले भनेछन्, ‘कुमारी प्रतिस्थापन नभएसम्म म बुङमती प्रवेश गर्दिनँ।’
त्यसपछि तान्त्रिक बन्धुदत्त बज्राचार्यले आफ्नै छोरीलाई बुङमतीमा कुमारीका रूपमा प्रतिस्थापन गरेको किम्बदन्ती छ।
बुङमतीमा आजभन्दा १४४० वर्षअघि नै कुमारी परम्परा बसेको दुर्गाको भनाइ छ। उनले कलिगत सम्बत ३६७६ मा रातो मच्छिन्द्रनाथको काठमाडौं प्रवेश भएको किताबमा उल्लेख गरेकी छन्। अहिले कलिगत सम्बत ५११६ हो।
यसैअनुसार लिच्छवि राजा गुणकामदेवले कन्या केटीलाई कुमारी बनाई पूजा गर्ने परम्परा बसाएको दुर्गाको किताबमा छ। मल्लकालमा काठमाडौं, पाटन र भक्तपुर तीनै राज्यमा दरबारको राजकीय कुमारी र टोलटोलमा स्थानीय कुमारी थापना गरी नित्य पूजा गर्ने परम्परा सुरु भएको पाइन्छ।
काठमाडौं उपत्यकामा तान्त्रिक पद्धतिअनुसार विधिवत थापना गरिने कुमारीमध्ये वसन्तपुरको ‘राजकीय’ कुमारी जीवित देवीका रूपमा विश्वप्रसिद्ध छ। यसअतिरिक्त नित्य पूजा हुने कुमारीमा मूबहाः कुमारी, क्वाबहाः, तानाबहाः, किलागः, चाबहिल, टोखा, हःबहाः, सोनिम्ह, एकान्त, वने लाय्कू, टिबुक्छेँ, बुङमती र त्रिशूली कुमारी छन्।
वसन्तपुरको कुमारीघरमा प्रतिस्थापित कुमारीलाई इष्टदेवी तुलजा भवानीको प्रतीकका रूपमा समेत मानिँदै आएको छ।
यससँग सम्बन्धित अर्को किम्बदन्ती पनि दुर्गाले उल्लेख गरेकी छन्।
विसं १३८१ मा सिमरावनगढका राजा हरिसिंहदेव तुलजा भवानीसहित नेपाल (हाल काठमाडौं उपत्यका) आएका थिए। त्यसै बेला हरिसिंहदेवकी रानी देवलदेवीले भादगाउँको दरबारमा तुलजा भवानी स्थापना गरेकी थिइन्। त्यसपछि मल्ल राजाहरूले तुलजा भवानीलाई इष्टदेवीका रूपमा मान्न थाले।
मल्ल राजाहरूसँग एक प्रकारको तान्त्रिक यन्त्र थियो। त्यसको शक्तिद्वारा उनीहरू तुलजा भवानीसँग प्रत्यक्ष वार्ता गर्थे रे। राजकाजसम्बन्धी सरसल्लाह लिन्थे रे। र, समयसमयमा पासासमेत खेल्थे रे।
एकदिन राजा त्रैलोक्य मल्लकी छोरी गंगादेवीले तान्त्रिक यन्त्र खोलेर हेरिछन्। त्यो यन्त्र कुनै स्त्रीले हेर्न हुँदैनथ्यो रे। तुलजा भवानीले रिसाएर राजालाई भनिछन्, ‘अबदेखि तिमीहरूले मेरो प्रत्यक्ष दर्शन पाउने छैनौ। बरु म कुमारीका रूपमा आई तिमीहरूलाई आवश्यक सल्लाह दिनेछु।’
यति भनेर उनले आदेश दिइछन्, ‘शाक्य कूलकी कन्यालाई कुमारी बनाउनू।’
अनि, तुलजा भवानी अन्तर्ध्यान भइन् रे।
पछि कान्तिपुरका अन्तिम मल्लराजा जयप्रकाशलाई एक रात सपनामा कुमारीबाट आज्ञा भयो रे, ‘तिम्रो राज्यभोगको समय समाप्त हुन लाग्यो, आफ्नो राज्य अवधि बढाउने इच्छा भए मेरो लागि स्थायी बासस्थान बनाइदिनू र रथयात्रा चलाउनू। यति गरे तिम्रो राज्यभोग १२ वर्ष बढ्नेछ।’
जयप्रकाश मल्लले सपनामा पाएको त्यही आदेशअनुसार विसं १८१३ फागुनमा कुमारीघरको जग हालेको भनाइ छ। यसको निर्माण ६ महिनापछि १८१४ भदौमा पूरा भएको थियो।
उनले त्यसै वर्षबाट कुमारी, गणेश र भैरव रथयात्रा सुरु गराए। चिताइदारको व्यवस्थासमेत गरे।
र, यसैको प्रभावले जयप्रकाशको राज्यकाल १२ वर्ष थपियो भन्ने भनाइ छ।
‘मल्लकालमा नयाँ सिक्का निकाल्दा कुमारीलाई चढाइसकेपछि मात्र चलनमा ल्याइन्थ्यो,’ दुर्गा भन्छिन्, ‘कुमारीकै नाउँबाट देशमा आयव्ययको लेखापरीक्षण गर्ने कुमारी चोक अड्डा स्थापना भएको थियो।’
यो अड्डा ‘महालेखा परीक्षक’ का रूपमा प्रचलित छ।
‘बालबालिकाको हृदय पवित्र हुन्छ। छल, कपट, राग, द्वेषको भावना हुँदैन। त्यसैले, तुलजा भवानीले कुमारीको रूप धारण गरेकी हुन्। र, शाक्य कूलकी कन्यालाई कुमारी बनाएर तुलजा भवानीको प्रतीकका रूपमा पूजा गर्ने चलन चल्दै आएको हो,’ दुर्गाको भनाइ छ।
****
काठमाडौं हारेको दिन
काठमाडौं हारेको दिन
इन्द्रजात्रा, कुमारी रथयात्रा र काठमाडौंबीच आधुनिक नेपालको महत्वपूर्ण इतिहास जोडिएको छ।
यो काठमाडौं हारेको दिन हो।
यससँगै रथयात्रामा एउटा परिवर्तन पनि आएको पाइन्छ।
विसं १८२५। काठमाडौं इन्द्रजात्राको उल्लासमा थियो। राजादेखि सैनिक र सर्वसाधारणसम्म जात्रा र भोजमा रमाइरहेका थिए।
गोरखाका चतुर राजा पृथ्वीनारायण शाहले ठम्याए, कान्तिपुर जित्ने मौका यही हो।
उनले यसअघि कान्तिपुरको प्रवेशद्वार ठमेलसम्म आएर मल्ल राजालाई चुनौती दिइसकेका थिए। त्यसबेला गोरखाली सैनिक आफैं पछि हटेकाले मल्लराजा जयप्रकाशले इन्द्रजात्रा रोकेर लडाइँको निम्ति सतर्क हुनुपर्ने आवश्यकता नदेखेको इतिहासकार बाबुराम आचार्यद्वारा लिखित ‘नेपालको संक्षिप्त इतिहास’ मा उल्लेख छ।
जयप्रकाशले सहर छिर्ने सबै प्रवेशद्वार बन्द गराएर साबिकअनुसारै इन्द्रजात्रा मनाउने निर्णय गरे।
पृथ्वीनारायण यही चाहन्थे। उनी मौकाको ताकमा बस्न थाले।
इन्द्रजात्रा पर्व सात दिन मनाइन्छ। जात्राको तेस्रो दिन काठमाडौंको तल्लोटोलमा रथयात्रा गर्ने चलन छ। यसलाई नेवारीमा ‘क्वःने याः’ भनिन्छ। यो दिनको रथयात्रा वसन्तपुरबाट मरु, चिकँमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्यूमत, कोहिटी र भीमसेनस्थान हुँदै वसन्तपुर पुगेर टुंगिन्छ।
दोस्रो दिन माथिल्लो टोलमा गरिने रथयात्रालाई नेवारीमा ‘थःने याः’ भनिन्छ। यो दिन वसन्तपुरबाट सुरु रथयात्रा प्याफल, कम्पूकोट, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, प्यंग थां (न्हाय्कं त्वाः), असन, बालकुमारी, केलटोल, इन्द्रचोक, मखन टोल र हनुमानढोका हुँदै वसन्तपुर पुगेर टुंगिन्छ।
त्यो वर्ष अघिल्लो दुई दिनको रथयात्रा सम्पन्न भइसकेको थियो। तेस्रो दिनको यात्रा बाँकी थियो, जसलाई ‘नानीचा याः’ भनिन्छ। यो दिन वसन्तपुरबाट सुरु भई प्याफल, नरदेवी, किलागल, भेँडासिं, इन्द्रचोक, मखन र हनुमानढोका हुँदै वसन्तपुर पुगेर यात्रा सकिन्छ।
पृथ्वीनारायणले काठमाडौं हान्न तेस्रो दिनको जात्रा छाने।
जुनेली रातमा कुमारी रथयात्रा जारी थियो। कान्तिपुरबासी जात्राको उधुम रमाइलोमा मग्न थिए। जयप्रकाश मल्ल र उनका मन्त्री केही सैनिकका साथ कुमारी यात्रा क्रममा सहरको दक्षिणी भेग पुगेको इतिहासकार आचार्यको किताबमा छ।
त्यही बेला गोरखाली सैनिकले धावा बोले।
दक्षिणी द्वार खुला छाडेर बाँकी सबैतिरबाट एकैचोटि गोरखाली सेना कान्तिपुर छिरे। नरदेवीतिरबाट फौजको नेतृत्व स्वयं पृथ्वीनारायणले गरेका थिए। राजभवन सुरक्षामा खटिएका सैनिकले रोक्ने प्रयास त गरे, तर सकेनन्। यस क्रममा दुवै पक्षका ८–१० सैनिक हताहत भए। खबर सुनेर राजा जयप्रकाश मल्ल दक्षिणी प्रवेशद्वारबाट भागेर ललितपुरका राजा तेजनरसिंह मल्लकहाँ आश्रय लिन पुगेको आचार्यले उल्लेख गरेका छन्।
गोरखाली फौजबाट काठमाडौं विजयको यो ऐतिहासिक घटनापूर्व कुमारी रथयात्रा तीन दिन लगालग हुने गरेको थियो। अकस्मातको आक्रमणले त्यो वर्ष तेस्रो दिनको यात्रा बीचैमा स्थगित भएको दुर्गाको भनाइ छ।
काठमाडौंका जनताको मन जित्न चौथो दिन पृथ्वीनारायणले घोषणा गरे, ‘म यहाँ प्रचलित सबै संस्कृति र परम्परा स्वीकार गर्छु।’
यति भनेर जीवित देवी कुमारीको टीका ग्रहण गर्दै नानीचा याः जात्रा पुनः सञ्चालन गराएको दुर्गाले उल्लेख गरेकी छन्।
‘त्यही बेलादेखि तीन दिन क्रमबद्ध मनाइने रथयात्राको तेस्रो शृंखला चार दिनपछि आश्विनकृष्ण चौथीका दिन मनाउने परम्परा चलेको हो,’ उनको भनाइ छ।
***
वैशाख १२ को सम्झना
त्यस दिन गौतम कुमारी घरमा थिएनन्। क्षेत्रपाटीको एक पार्टी प्यालेसमा कुमारी परम्परासम्बन्धी छलफलमा भाग लिइरहेका थिए।
भुइँचालोलगत्तै उनले कुमारीघरमा फोन घुमाए। कसैसँग सम्पर्क भएन। बरु खबर आयो, काष्ठमष्ठप, वसन्तपुर दरबार लगायत सबै मन्दिर ढलेर माटोमा मिलिसके।
गौतमको ओठमुख सुक्यो। भुइँचालोले जमिन कामिरहेकै थियो, गोडा पनि लगलग काम्न थाले। सोचे– वसन्तपुरका प्रायः सबै मन्दिर एकै कालखण्डका हुन्। दरबारदेखि काष्ठमण्डपसम्म ढलेपछि कुमारीघर कसरी बच्यो होला!
‘मेरो आँखामा झल्झल्ती कुमारी देवी नाच्न थाल्नुभयो, आमाबालाई सम्झेँ, दाजुभाउजू र केटाकेटी सम्झेँ,’ गौतम भन्छन्, ‘होसहोवासै हराएजस्तो भयो। जति सोच्थेँ, मुटुको ढुकढुकी उति बढ्थ्यो। सासै अड्किएजस्तो हुन्थ्यो।’
उनी धीर भएर क्षेत्रपाटीमा अडिरहन सकेनन्। एक घन्टामा जमिन थामिएझैं भयो। उनी कामेका गोडा सम्हाल्दै वसन्तपुरतिर दौडिए।
हारती होटलसम्म पुगेका थिए, फेरि भुइँ नाच्न थाल्यो।
उनी त अडिए, मन कहाँ पाएर अडिनु!
मनमा त्यसै कोलाहल मच्चिएको थियो। वरिपरि मान्छे जम्मै हतास देखिन्थे। कोही रुवाबासी त कोही हाँपदाँप गर्दै दुगुरिरहेका थिए। कोही भन्थे, ‘केही बचेन, सबै खत्तम भो।’
जति सुन्थे, दिमाग उति पिलोझैं टन्किएर आउँथ्यो। जिउमा चिटचिट पसिना छुट्थ्यो।
अलि बेरमा भुइँ थामियो।
उनी स्पिड कुदेको गाडीको चक्काझैं सासै रोकेर बेपरवाह दौडिन थाले।
देशया मरु झ्याः पुग्दा पर वसन्तपुर क्षेत्र धुलोको मुस्लोले डम्म ढाकिएको देखे। चराको कोलाहलले आकाशै गड्गडाएझैं भान भइरहेको थियो। कुकुरहरू ठूलो स्वरले भुक्दै पछाडिका दुई खुट्टामुनि पुच्छर लुकाइरहेका थिए। वसन्तपुरतिरबाट आइरहेकाहरू अनुहार खुट्ट्याउनै नसकिने गरी धुलोले पुरिएका थिए।
उनी झन्झन् हतासिए। सास झन्झन् बढ्यो। गोडा झन्झन् काम्न थाल्यो। पसिना झन्झन् चिट्चिटायो।
‘परैबाट वसन्तपुरको त्यस्तो बिजोग देखेर मेरो सुद्धिबुद्धि गुम भएछ,’ उनी सम्झन्छन्, ‘केही बेर त हिँड्नै सकिनँ, टोलाइरहेँ।’
मान्छेको कोलाहलले मात्र उनको तन्द्रा भंग भएछ। उनी फेरि मुठ्ठी कसेर दौडिन थालेछन्।
जतिजति नजिक पुग्थे, धैर्यको बाँध चिरा पर्दै जान्थ्यो। धुलोकै बीचमा उनले देखे, मन्दिर लडेका छन्। मान्छे दौडिरहेका छन्। घाइते गुहार माग्दैछन्। कोही भग्नावशेषमा अड्किएका मान्छे तान्दैछन्। कोही पसिनाले लुछुप्पै भिजेका देखिन्छन् त कोही रगतले। कोही पानी पिउँदै छन्, कोही पिलाउँदै। कसैका हात मात्र बाहिर देखिन्छन्, कसैका खुट्टा झुन्डिरहेका छन्।
गौतमका आँखा आँसुले डम्म भरिए।
टिलपिल आँखा परपरसम्म फिँजाए। धुलेबादलभित्र हराएको कुमारीघरको धमिलो दृश्य फ्याट्ट मुस्कुरायो।
त्यत्रो विनाशबीच पनि कुमारीघर सकुशल थियो। जुन भुइँचालोले वसन्तपुरका धेरैजसो प्राचीन सम्पदा लडायो, त्यसले कुमारीघरमा खासै क्षति पुर्याएको थिएन।
उनी सारा भग्नावशेष नाघ्दै कुमारीघर छिरे। भित्र उनको परिवार कुमारीलाई सुरक्षा दिँदै एकठाउँ डल्लो परेर बसेको थियो।
‘माँले बचाउनुभयो, त्यत्रो हलचल हुँदा पनि भित्र कतै केही भएनछ,’ गौतम भन्छन्, ‘कुमारी देवी डराएको, आत्तिएको पनि हामीले देखेनौं। उहाँलाई भित्रै सुरक्षित कोठामा राख्यौं।’
अहिले कुमारीघरलाई सुरक्षा निम्ति बाहिरदेखि भित्रसम्म काठको टेका दिइएको छ। झट्ट हेर्दा केही नभएजस्तो देखिए पनि मर्मत गर्नु जरुरी भएको गौतम बताउँछन्।
उनका अनुसार कुमारीघर बाहिर डाँची इँटा राखिएकाले नयाँजस्तो देखिएको मात्र हो, चार इन्ची पछाडि पुरानै गारो छ। ‘क्रिमपाउडर दलेजस्तो हो, भित्रको संरचना जम्मै पुरानो छ,’ उनी भन्छन्, ‘सरकारले पुनर्निर्माणमा ध्यान नदिई हुन्न।’
पुनर्निर्माणका लागि नक्सा तयार पारेर संस्कृति मन्त्रालय, गुठी संस्थान र भवन विभागमा बुझाइसकेको उनले बताए।
‘यो कुमारीघरको मात्र होइन, जीवित देवी र हाम्रो सांस्कृतिक धरोहरकै रक्षाको कुरा हो,’ गौतमको भनाइ छ, ‘इन्द्रजात्राको काम सकिएपछि पुनर्निर्माणमा लाग्नुपर्छ।’
***
इन्द्रजात्राको एक दिनअघि मैले गौतमरत्न शाक्यलाई फेरि भेटेँ।
कुमारीघरमै बिहान १० बजेको समय लिएको थिएँ। उनी आइपुग्दा १ बजेको थियो। त्यतिबेलासम्म खानाधरी खाएका थिएनन्। भन्दै थिए, ‘बिहानदेखि भोकै छु । तपाईं कुरेको कुर्यै भएर मात्र आको।’
भोको पेट र सास फेर्ने बेफुर्सदमा पनि उनको अनुहारमा सन्तुष्टिको उज्यालो थियो।
एक महिनादेखि चारतिर धाउँदै, मनाउँदै, फकाउँदै विधिपूर्वक कुमारी रथयात्रा नै गर्ने निधो जो भएको थियो।
यसबीच रथयात्राको सट्टा खटयात्राको विकल्प सुझाइयो। अन्य पर्वमा कुमारीलाई बाहिर निकाल्दा खटमा घुमाउने चलन छँदैछ। त्यही चलन इन्द्रजात्राको निम्ति पनि अँगाल्ने हो कि भन्ने छलफल भएकै हो। गणेश र भैरवलाई बोक्न खट बनाउने तयारी पनि थालिएकै हो।
गौतम, व्यवस्थापन समितिका अन्य र स्थानीयले भरसक रथयात्रालाई नै निरन्तरता दिन चाहे। उनीहरूले एक महिनाको छोटो अवधिमा जति सकिन्छ बाटो मर्मत गरे। ढुंगा ओछ्याएर उबडखाबड सम्याए। टेका लगाइएका घर रेकी गरे। स्थानीयसँग सरसल्लाह गरे।
र, साँझको सट्टा दिउँसै रथयात्रा सुरु गरेर चाँडै सक्काउने निधोमा पुगे।
‘भोलिबाट परम्परागत विधिअनुसारै रथयात्रा हुनेछ,’ गौतमले थाकेको अनुहार उज्यालो पार्दै भनेका थिए।
‘होए ... होए ... होए ...’
कुमारी रथयात्राको अन्तिम दिन बिहीबार महिलाहरूको रथ तान्ने पालो थियो। हुलका हुल महिला मोटो डोरीको सहायताले पगोडा शैलीको तीनतले रथ तान्दै थिए। एक युवक रथको अग्रभागमा उभिएर कराउँदै थिए :
‘होए ... होए ... होए ...’
अगाडि–पछाडि हजारौं जात्रालु रथ पछ्याउँदै उनकै स्वरमा स्वर मिलाइरहेका थिए।
नानीचा याः जात्राको फेरो मारेर बेलुकी ८ बजेतिर कुमारी रथ वसन्तपुर आइपुग्दा खुट्टा टेक्ने ठाउँ थिएन। अटेसमटेस भिडमा चेपिँदै रथयात्रासँगै मिसिएर अघि बढ्दा चिताइदार गौतमरत्न शाक्य कुमारीकै छेउ बसिरहेको मैले परैबाट देखेँ।
सँगै एक व्यक्ति जात्रालुको भीडमाथि फूल र अक्षता छर्दै थिए।
यतिखेर गौतम जात्राको थकान मेट्दै सोचिरहेका होलान्, आखिर हामीले देखाएरै छाड्यौं, भुइँचालोले काठमाडौं लडेको छ, गलेको छैन।
यो विपदमा पनि काठमाडौंको २ सय ५८ वर्ष पुरानो रीत जो तोडिएन।
तस्विरहरू प्रकाश लामा