गए राति प्रर्दशनकारीहरुले रौतहटको रङ्गपुर प्रहरी चौकी तोडफोड तथा आगजनि गरेका छन।
प्रहरी चौकी भित्र रहेको प्रतिक्षालयमा आन्दोलनकारीले आगजनी गरेका छन् भने भवनमा समेत तोडफोड गरेका छन्। २ सय भन्दा बढीको समूहमा आएका आन्दोलनकारीले चौकीमा ढुङ्गामुडा गर्दै तोडफोड गरेका थिए।
उनीहरूले तोडफोड गरेको प्रहरी चौकीमा प्रहरी बस्दैनन्। सहायक निरीक्षक श्याम तामाङको नेतृत्वमा आठ जना प्रहरी कार्यरत रहेको रङ्गपुर चौकीमा आक्रमणको लागि ठूलो संख्यामा आन्दोलनकारी आईरहेको पूर्व सूचना पाए पछि प्रहरी बाहिरीएका थिए।
चन्द्रनिगाहपुरबाट १२ किलोमिटर दक्षिण पश्चिममा रहेको सो प्रहरी चौकीमा प्रदर्शनकारीले गोल घरमा आगो लगाएको र तोडफोडका कारण भवनमा समेत क्षति पुगेको ईलाका प्रहरी चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक मनोजकुमार यादवले बताए।
दिउँसो समेत प्रर्दशन गरेका आन्दोलनकारीले राति भने प्रहरी चौकी जलाएका हुन्। यता रौतहटको मध्य बजार गरूडामा हिजो साँझ ५ बजे देखि लगाइएको कर्फयू आज बिहान ४ बजे बाट हटाइएको छ।
सोमवार दिउँसो भएको गरूडामा भएको झडपमा सुरक्षाकर्मीले चलाएको रबर बुलेटको छर्रा लागेर ६ जना घाइते भएका थिए। घाइते मध्ये स्थानीय दिलिप जयसवाल लाई थप उपचारका लागि राति नै नारायणी उपक्षेत्रिय अस्पताल वीरगन्ज लगिएको थियो।