राष्ट्रिय मानव अधिकार आयोगले कैलालीको टीकापुरमा भदौ ७ गते ८ जना प्रहरीसहित १ नाबालकको हत्या भएको घटनामा माओवादीका पूर्व लडाकुहरूको संलग्न रहेको देखिएको बताएको छ।
आयोगले बिहीबार जारी गरेको विज्ञप्तीमा घरेलु हतियार भाला, खुकुरी र बन्चरो प्रयोग गरी एसएसपी लक्ष्मण न्यौपाने सहितका सुरक्षाकर्मीको हत्या गरिएको उल्लेख गरेको छ।
‘जोशीपुर गाविसबाट आएका आन्दोलकारीहरूमा तत्कालीन नेकपा माओवादीका पूर्व लडाकुहरू पनि समावेश भएको बुझिएको छ। आन्दोलनमा अधिकांश युवा उमेर समूहका व्यक्तिहरू सहभागी रहेको बुझिएको छ’ आयोगको विज्ञप्तिमा भनिएको छ ।
‘प्रहरीतर्फबाट प्रदर्शनकारीहरूमाथि अश्रुग्याँस र गोली प्रहार हुन थालेपछि आक्रोशित हुँदै प्रदर्शनकारीहरूले प्रहरीको हत्या गरेको बुझिएको छ,’ विज्ञप्तीमा भनिएको छ,‘सामाजिक सद्भाव बिग्रिन नदिन थरुहटका कार्यकर्तालाई आग्रह गर्दा गर्दै एसएसपी न्यौपाने सहितका सुरक्षाकर्मीमाथि आक्रमण भएको छ।’
आयोगले टीकापुर जस्तो घटनाको पुनरावृति हुन नदिन तर्फ सजग रहन सरकार र आन्दोलनकारी पक्षलाई आग्रह गरेको छ।