गर्भपतन गराउने क्रममा महिलाको ज्यान गएपछि फरार रहेका खोटाङका एक व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् ।
गर्भपतन गराउन सहयोग गर्नेेक्रममा महिलाको मृत्यु भएपछि फरार रहेका ऐसेलुखर्क–४ का ६८ वर्षीय दलबहादुर गिरी सोमबार पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले गिरीलाई पक्राउ गरी अदालत दाखिला गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए ।
जिल्ला अदालत खोटाङले गिरीलाई २०५५ भदौ १५ गते ६ महिना कैद सजाय फैसला सुनाएको थियो । उनीमाथि २०५२ सालमा महिलाको गर्भपतन गर्न सहयोग गरेको अभियोग छ ।
यस्तै स्थानीय महिलालाई बलात्कार गरेर फरार रहेका उत्तरी गाविस ऐसेलुखर्क–२ का २६ वर्षीय टेकबहादुर तामाङलाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ ।
जबर्जस्ती करणी मुद्दामा तामाङलाई २०७१ माघ २२ गते जिल्ला अदालत खोटाङले नौ वर्ष १० महिना तीन दिन कैद सजाय तोकेको थियो ।
तामाङमाथि २०६७ सालमा ३५ वर्षीया महिलालाई बलात्कार गरेको अभियोग छ । रासस