महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाललाई सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सम्मान गरेका छन् । जिउदो सहिद, दुर्गा प्रसाद भट्टराई प्रतिष्ठानले आज काठमाडौंको शान्तिनगरमा गरेको कार्यक्रममा खनाललाई मन्त्री पण्डितले सम्मान गरेका हुन् ।
महानगरको सुरक्षाका लागि खनालले प्रशंसनिय काम गरेको भन्दै उनलाई सम्मान गरिएको हो । सो अवसरमा मन्त्री पण्डितले गुन्डा नाइके कुमार घैटेविरुद्ध प्रहरीले चालेको कदम सही भएको बताएका छन् ।
समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीले पहिले अपराध हेर्नुपर्ने र त्यसलाई राजनीतिसँग जोड्न नहुने मन्त्री पण्डितले बताए ।
प्रहरीले समाजमा अराजक गतिविध गर्ने अरु घैटोहरु पनि फुटाउनुपर्ने बताएका थिए । अपराधीलाई राजनीतिले संरक्षण गर्न नहुने भन्दै उनले अपराध निर्मूल गर्ने काममा आफूले सधै सहयोग गर्ने प्रतिबद्धता जनाए ।