थारु समुदायका नेताले तराईमा भइरहेको आफ्नो आन्दोलन नियन्त्रणमै रहेको बताउँदै आएपनि आन्दोलनका क्रममा हुने दुर्व्यवहार र हिंसाका घटनाहरुको जिम्मा भने लिने गरेका छैनन्।
नयाँ बन्ने संविधानमा आफ्ना मागहरु समेट्न भन्दै यातायात तथा बजार बन्द गर्दै आएका थारु संगठनका अगुवाहरुले कैलालीमा हिंसात्मक गतिविधि हुँदा पनि आन्दोलन नियन्त्रणमै रहेको स्पष्टिकरण दिए तर त्यहाँ भएको हिंसाको जिम्मा लिएनन् बरु घुसपैठ भनेर पन्छिए।
नेताले बोल्ने र कार्यकर्ताले गर्ने कुरा अलग भएपछि त्यसको मारमा सर्वसाधारणसँगै पत्रकारहरु पनि परेका छन्। बन्दका क्रममा केही दिनयता दुर्व्यबहार भोगिरहेका सुनसरीका पत्रकारहरुले अब भने पत्रकार सम्मेलनमै आक्रोश पोख्न थालेका छन्। उनीहरुले आन्दोलन आफ्नो नियन्त्रणमा नरहेको थारु नेताहरुले स्वीकार गर्नुपर्ने, या त घटनाको जिम्मा लिएर दोषीलाई कारवाही गर्नुपर्ने माग गरेका छन्। कतिपय पत्रकारले त दुर्व्यवहारकै कारण आन्दोलनको विषयमा समाचार लेख्नै छाडेका छन्।
२१ गते लोकतान्त्रिक फोरम अध्यक्ष विजयकुमार गच्छदारसहितका नेताहरुले इटहरीमा सम्बोधन गर्ने सभाको बारेमा जानकारी दिन शनिबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुले आफूमाथि गरिएको दुर्व्यबहारबारे जानकारी दिँदै जवाफ मागे। इटहरीदेखि विराटनगरको झण्डै २२ किलोमिटर सडक खण्डमा पर्ने खनार, दुहबी, निमुवालगायतका ठाउँमा बन्दकर्ताबाट दुर्व्यवहारको सामना गर्नुपरेको पत्रकारको गुनासो छ।
‘म सबैजसो थारु अगुवाहरुसँग नियमित सम्पर्कमा छु,' इटहरीका पत्रकार सचिन पोख्रेलले भने, ‘तर केही दिनअघि विराटनगरबाट फर्किँदै गर्दा निमुवामा म चढेको मोटरसाइकल रोकेर दुर्व्यवहार गरियो।' उनले ठाउँ ठाउँमा बन्दकर्ताहरुलाई झेल्दै इटहरी आइपुग्दा तनावबाट गुजि्रएको अनुभव सुनाए। ‘थारु नेताहरुको नाम लिँदा उनीहरुलाई पनि काट्छौं भन्ने प्रतिक्रिया बन्दकर्ताले दिए,' पोख्रेलले भने, ‘आन्दोलन तपाइहरुको नियन्त्रणमै छ भन्ने त देखिएन।'
पत्रकार महासंघ सुनसरीका पूर्व सचीव अमर खड्कासँग पनि बन्दकर्ताले गरेको दुर्व्यबहारको तितो अनुभव छ। ‘खनारमा म चढेको मोटरसाइकल रोके, मैले पत्रकार हुँ भन्दा कार्ड देखाउन भने,' उनले भने, ‘कार्ड देखाउँदा पाँच मिनेट जति कार्ड नियन्त्रणमा लिएर तल्लो स्तरको शब्द प्रयोग गरेर दुर्व्यवहार गरे।' खनार, दुहबीमा त्यसरी दुर्व्यवहार गर्ने व्यक्ति आन्दोलनकारीकै जिम्मेवार तहको नेता भएकोसमेत खड्काले बताए।
अन्नपूर्ण पोष्टको त सवारी साधन नै तोडफोड गरेको बताउँदै पत्रकार रत्न आचार्यले ठाउँ ठाउँमा दुर्व्यवहार सामना गर्नुपर्दा समाचार लेख्ने जाँगर नै मरेको बताए। यस्तै सगरमाथा टिभीका पत्रकार ध्रुव ढकाललाई त समाचार आउनैपर्ने धम्कीसमेत दिए। ‘रिलायन्समा भइरहेको आन्दोलन खिँचिरहेको थिएँ,' ढकालले भने, ‘भरे टिभीमा आएन भने क्यामेरा फुटाइदिन्छु भनेर थर्काए।'
पत्रकार सम्मेलनमा सहभागि पत्रकार पदम अधिकारीले थारु अगुवाहरुलाई आन्दोलनको आवश्यकताको बारेमा बुझाउन नसकेको आरोप लगाए। ‘तपाइहरुले राजनीतिक दलहरुलाई त बुझाउन सक्नुभएन सक्नुभएन,' उनले भने, ‘पत्रकारहरुलाईसमेत आफ्नो आन्दोलनको बारेमा बुझाउन चुक्नुभयो र सडकमा उत्रिएका कार्यकर्ताले पनि संयम राख्न सकेनन्।'
इटहरीका अर्का पत्रकार प्रेम बाँस्तोलाले मिडियादेखि एम्बुलेन्ससम्मलाई दुःख दिइएको गुनासो गरे। पत्रकार भनेर परिचय दिँदा दिँदै र कार्ड देखाउँदा देखाउँदै पनि एक किलोमिटर मोटरसाइकल डोर्याउन बाध्य पारिएका उनले भने, ‘मोटरसाइकल डोर्याउँदैमा राज्य पाइन्छ भने देशभरीका पत्रकारले डोर्याइदिन्छन्।' उनले प्रेसमाथिको दुर्व्यवहारले बन्दकर्तालाई नै घाटा हुने बताउँदै भने, ‘समाचार कभर नगरेको भनेर गुनासो पनि गर्ने अनि अर्कातिर हतारमा सञ्चारकै काम गर्न हिडिरहेको त्यही प्रेसको सवारीसाधन तोडफोड गर्ने र डोर्याउन लगाउने गर्छन्, कसरी आउँछ समाचार?'
सभाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सबै पत्रकारले बन्दमा दुःख दिइएको गुनासो गरेपछि थरुहट आन्दोलनका इटहरी संयोजक तेजनारायण चौधरीले सुरुमा त दुर्व्यवहार दिएको हुनै नसक्ने बताए। तर थप पत्रकारले गुनासो गरेपछि गुनासो आंशिक मात्र सत्य रहेको बताउँदै थप कुरा बुझेर दुर्व्यवहार नगर्न सर्कुलर गर्ने बताए। उनले प्रेसलाई दुर्व्यवहार गर्ने वा दुःख दिने संगठनको योजना नरहेको बताउँदै भने, ‘कसैले दुर्व्यवहार गरे भने त्यसको भागिदार तपाइ नै हुनुपर्छ भनेर आजै सबैतिर सर्कुलर गर्छु।'
अन्य संगठनको बन्दका क्रममा चौक बजारमा मोटरसाइकललाई अवरोध गरेपनि सहायक मार्गबाट जान सल्लाह दिने गरेको बताउँदै पत्रकारहरुले थारु आन्दोलनमा भने जिम्मेवार नेताको अनुपस्थितीमा पत्रकारमाथि दुर्व्यवहार हुने गरेको गुनासो गरेका छन्। उनीहरुले पत्रकारलाई स्वतन्त्रतापूर्वक समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरण बनाउनसमेत माग गरेका छन्।