सन् २०१२ मा गिनिज बुक अफ वर्ल्ड रेकर्डसले चन्द्रबहादुर डाँगीलाई विश्वकै होचा मानिसको उपाधि दियो।
०.५४६ मिटर अर्थात् १ फिट साढे नौ इन्च उचाई भएका नेपालको दुर्गम ठाउँमा ७२ वर्षअघि जन्मिएका डाँगी त्यसपछि विश्वभरी चिनिए।
डाँगी विश्वकै जीवितमध्ये सबैभन्दा होचा मात्र नभएर अहिलेसम्म भेटिएमध्येकै सबैभन्दा होचासमेत भएको गिनिजले पुष्टि गरेको थियो।
विश्वकै जीवित होचा फिलिपिन्सका जुनरी बलविङ र भेटिएमध्येकै होचा १ फिट १० इन्चका स्वर्गीय गुल मोहम्मदको रेकर्ड तोडेर विश्वकै होचा मानिस बने नेपालका चन्द्रबहादुर डाँगी।
उनको उचाई नाप्न लन्डनबाट गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रधान सम्पादक क्रेग ग्लिन्डेसहितको टोली काठमाडौँ आएका थिए। लैनचौरको सिवेक (क्लिनिक ट्राभल मेडिसिन सेन्टर) मा उनको उचाइ मापदण्ड अनुसार २४ घण्टामा तीन पटक नापियो।
त्यतीखेर ७२ वर्षीय डाँगीको उचाइ देखेर गिनिजका प्रधानसम्पादक नै अचम्ममा परेका थिए। गिनिजको ५७ वर्षको इतिहासमा सबैभन्दा बढी उमेरका होचा व्यक्ति बनेका कारण उनको नाममा अर्को रेकर्ड पनि जोडियो।
सन् १९३९ नोभेम्बर ३० मा सल्यानको कालीमाटीमा उनको जन्म भएको थियो। दाङको रिमखोलीमा आफ्ना भतिजाहरूसँग बस्दै आएका उनलाई काठको काम गर्ने ठेकेदारले भेटेपछि उनी चर्चामा आएका थिए।
करिब २०० घरधुरी रहेको उनको गाउँमा टेलिभिजनको सुविधा पनि छैन। घर बाहिर कहिलै ननिस्किएका उनी विकट क्षेत्रमा रहेकै कारण ७२ वर्षसम्म कतै देखा परेका थिएनन्।
उनको परिवारमा ५ दाजुभाइ र २ दिदीबहिनीमा दुई दाजुभाइ र २ दिदीबहिनीहरू सामान्य उचाइका छन्। अरु ३ जना दाजुभाइ भने ४ फिटभन्दा कम उचाइका छन्। सातौँ सन्तानको रूपमा जन्मिएका उनलाई विवाह गर्ने र छोराछोरी पाउने इच्छा कहिलै भएन।
सामान्य हिँडडुल गर्नसक्ने र भर्याङ चढ्नसक्ने उनी आफ्नो काम आफैँ गर्थे। नाम्लो र ढाकीहरू बुन्न सिपालु उनी गाईवस्तु चराउँदै नाम्दो डोको र ढाकीहरू बुनेर समय बिताउँथे।
उनी सधैँ आफ्नो दारी खौरन्थे। नेपाली टोपी कहिलै छुटाउँदैनथे। शारीरिक बनोटको उनको टाउको सामान्य थियो। शरिर भने सानो। उनको उचाइ कहिलेदेखि बढ्न रोकियो भन्ने उनी र परिवारलाई थाहा कहिलै थाहा भएन। थोरै उचाइ भएका मानिसहरू कम आयूका हुन्छन् भन्ने कुरालाई उनले गलत सावित गरिदिए। उनले गिनिज बुकमा नाम लेखाउनु अघि आफूले कहिल्यै औषधि उपचार र जाँच नगराएको उनले बताएका थिए।
उनको खान्की भनेको थोरै मात्रामा भात, तरकारी र कहिलेकाँही मासु खानु हो। यतिका वर्षसम्म हट्टा कट्टा भएर बाँच्नुको कारण उनी आफ्नो खाने तरिका भएको बताउँदै आएका थिए। उनको तौल साढे १४ किलो मात्र थियो।
रिमखोलीमै रमाइरहेका डाँगी आफ्नो उचाइ नपाउन पहिलो पटक राजधानी आए। यसअघि कहिलै आफ्नो गाउँ छाडेर अर्को गाउँसम्म नगएका उनी जहाज चढेर काठमाडौं आउँदा अतिनै रमाए।
काठमाडौं आएपछि रेकर्ड राखेर घुम्न र यात्रा गर्न पाउने र सहज हुने विश्वास भएको सबैसामु बताएका थिए। नभन्दै त्यस्तै भयो पनि।
उनको रेकर्ड पुष्टि भएपछि उनी रातारात चर्चित बने। उनलाई हेर्नेको भीड लाग्न थाल्यो भने विभिन्न देशहरुमा कार्यक्रमहरुमा उनलाई निम्तो आउन थाल्यो। आफ्ना भतिजाहरू तिलक र दोलख डाँगीको पालैपालोको सहारामा उनी खुबै घुमे।
जीवनभरको उनको यात्रा गर्ने रहर पुरा हुँदै गयो। उनी लण्डन, अस्ट्रेलिया, अमेरिकालगायत युरोपका विभिन्न देशहरुसम्म पुगे र माया बटुले। ७२ वर्षसम्म आफ्नो गाउँ नछाडेका डाँगीले विश्व घुम्ने मौकाहरू पाइराखे।
उनले नाम र सम्मान कमाए। उनका लागि जीवनको यो जीवनकै ठूलो उपलब्धी थियो। यसै शिलशिलामा सन् २०१२ मै उनले विश्वकी सबैभन्दा होची महिला भारत नागपुरकी ज्योति अम्गेलाई भेटे। त्यस्तै सन् २०१४ मा गिनिज वर्ल्ड रेकर्डस् दिवसका दिन लण्डन पुगेर विश्वकै जीवित अग्ला सुल्तान कोसेनलाई पनि भेटे।
सधैँ हसिँलो मिजासमा रमाउने उनलाई सबैले ‘बाबै' भनेर बोलाउँथे। उनी यसमा दंग पर्थे र भन्थे ‘मलाई सबैले यति माया दिएका छन्, म एकदमै खुसी छु। मैले जीवनमा नसोचेको उपलब्धी र आनन्द पाएको छु।’
उनलाई गीत गाउने इच्छा थियो। उमेरका दिन सम्झेर उनलाई गीत गाउन मनलाग्थ्यो र कहिलेकाँही गुनगुनाउँथे पनि। उनको अनुशासन र व्यवहारले उनले देशविदेशका सबैलाई प्रभावित पारेका थिए। उनी जहाँ गए पनि, जसले भेटेपनि उनीबाट सबै प्रभावित बन्थे र उनी प्रेरणाका श्रोत बनेका थिए।
नेपालको दुर्गम स्थानमा जन्मे हुर्केका उनलाई आफूले नेपालको नाम विश्वसामू चिनाउने प्रयासमा एउटा खुडि्कलो थप्न सकेकोमा गर्व थियो। उनी आफूले कमाएको नाम र दाम आफ्नो परिवार र गाउँको लागि खर्चने इच्छा रहेको पनि बताएका थिए।
हालै आफ्ना भतिजा दोलख डाँगीसँग अमेरिकन सामोअा टापुमा हुन लागेकाे सर्कस कार्यक्रमका लागि गएका थिए। भारतको मुम्बई हुँदै अमेरिका उडेका थिए। उनलाई भारतको पहिलो भ्रमणको क्रममै मुम्बई एयरपोर्ट अति नै सुन्दर लागेको बताएका थिए।
विश्वका कुनाकुनासम्म पुग्ने इच्छा भएको उनले बताएका थिए र आफ्नो रेकर्डले त्यो सपना पुरा हुँदै गएको भनेका थिए।
तर कहिलेकाँही उनलाई हेर्न आएका मानिसहरुको भीडले उनलाई नर्भस गराउने गरेको पनि उनले बताएका थिए। जीवनभर एक कुनामा बसेका डाँगीका लागि अप्रत्यासिलो उपलब्धीले कहिलेकाँही अचम्मीत बनाउँथ्यो।
उनलाई नेपाली भाषामात्र बोल्न आउँथ्यो। उनको भाषा उनकै भतिजा दोलखले उल्था गरिदिन्थे र उनलाई आफ्नो कुममा बोकेर डुलाउँथे। डाँगी आफ्ना लागि पितासमान र सधैँ प्रेरणाका खानी भएका दोलखले बताएका छन्।
देशको नाम चिनाएर विश्व घुम्ने रहर भएका डाँगी विश्व घुम्ने सिलसिलामै हामी माझबाट विदा भए। सन् २०१५ सेप्टेम्बर ४ अर्थात् शुक्रबार उनले अमेरिकाको अस्पतालमा आफ्नो अन्तिम सास फेरेका हुन्।
पछिल्लो समय निमोनियाका शिकार बनेका उनी अमेरिकन सामोअा जानुअघि पनि विरामी थिए। विरामी हुँदाहुदै पनि उनी आफ्नो सपनाको अर्को अंश पुरा गर्न र उनलाई माया गर्नेहरुलाई भेट्न अमेरिका पुगेका थिए। तर उनलाई पनि थाहा थिएन की उनको भ्रमण त्यहीँ टुंगिने थियो। उनको देहान्तले सबैलाई मर्माहत बनाएको छ।