डा. केसीको प्राण रक्षार्थ जुटेका बीपीका चिकित्सकहरु धरान १३ स्थित पूर्वाञ्चल क्षेत्रीय कार्यालय परिषर अघि धर्ना दिँदै। तस्बिरहरु : भोजराज
बिरामीको उपचारमा सदैब खटिने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु शुक्रबार क्षेत्रीप प्रशासन कार्यालयको धरानस्थित सम्पर्क कार्यालय अघि नाराबाजी गर्दै थिए।
सडकमै उभिएका चिकित्सकहरु भन्दै थिए ‘डा. गोविन्द केसी हाईहाई, मेडिकल माफिया बाईबाई, राजनीतिक भागबण्डा अन्त्य गर, भ्रष्टचार अन्त्य गर, माथेमा प्रतिवेदन लागू गर, हाम्रो स्वास्थ्य हाम्रो अधिकार, मेडिकल माफिया होसियार'।
यस्ता चर्का नाराबाजी करिव आधा घण्टा चलिरह्यो। प्रशासनको गेटमा प्रहरीहरु तैनाथ थिए। तर, चिकित्सकहरुले बेर्पबाह डा. केसीको प्राणरक्षार्थमा नाराबाजीसँगै सरकारलाई गाली गरिरहेका थिए।
डा. केसीको आमरण अनसनको १२ औं दिनसम्म पनि मागहरु सुनुवाई नगरेको भन्दै उनीहरु सडकमै उत्रिएर बिरामीको सेवासमेत गरे। अहिले धरानस्थित बीपीका चिकित्सकहरु डा. केसीको समर्थनमा दोस्रो पटक जुलुससहित धरान–१३, को सम्पर्क कार्यालय पुगेका हुन्।
चिकित्सकहरुले प्रधानमन्त्री सुशिल कोइरालासहित सरकारलाई समेत ज्ञापन पत्र बुझाएको छ। सम्पर्क कार्यालयका कर्मचारी उमेश काफ्लेमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठाएका हुन्। डा. केसीमा मागहरु तुरुन्तै कार्यान्वयन नगरे चिकित्सकहरुले स्वास्थ्य सेवा नै छाड्नेसम्मको निर्णयमा पुग्नको लागि राज्यले बाध्य नबनाउन चेतावनीसमेत दिएका छन्।
‘हामी यही ज्ञापन पत्र मार्फत सरकारलाई भन्छौं। हामीलाई डा. केसीको जीवन रक्षाको निम्ति आफ्नो कार्य बहिस्कार गर्ने लगायतका अप्रिय निर्णय लिन बाध्य नबनाऔं।' डा. गोविन्द केसी एक्यवद्धता अभियान धरानका डा. मधुर बस्नेतले भने।
सरकारले एकपछि अर्को गर्दै डा. केसीले उठाउनु भएका मुद्दा विपरीत निर्णय भइरहकाले यो निर्णयमासमेत पुग्न आफूहरु बाध्य भएको उनले बताए। ‘यो डा केसीको मात्रै माग होइन, यो ३ करोड नेपाली जनताको ढुकढुकीको आवाज हो। तसर्थ डा. केसीले उठाउनु भएका सम्पूर्ण मागहरु २४ घण्टाभित्र अविलम्ब पूरा गरियोस।'
गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा पाउने नागरिकको नैसर्गिक अधिकारको प्रत्याभूतिका लागि माथेमा प्रतिवेदनको अक्षरंश कार्यान्वयन लगायतका मागहरु पूरा गर्न डा. सूर्यप्रसाद रिमालले माग गरे। ज्ञापन पत्र पछि धरानको भानुचौकमा वृहत कोणसभासँगै सामान्य स्वास्थ्य चेकजाँचसमेत गरे। सांकेतिक स्वरुप उनीहरुले ७० जना भन्दा बढी आम जनताको स्वास्थ्य चाँज गरे। कोही स्वास्थ्य चाँजमा व्यस्त बने भने कोही कोणसभालाई सम्बोधन गर्न हतारिए।
उनीहरुले डा. केसीले गरिरहेको सत्याग्रहको बारेमा आम जनतालाई बुझाउनको लागि कोणसभा गरिएको थियो। डा. केसीले पछिल्लो समय पाँचौं पटकको आमरण अनसनको १४ दिन पछि माथेमा आयोग बनाउने सरकारले निर्णय गरेको थियो। त्यही निर्णयलाई कार्यान्वयन गराउनको लागि मात्रै डा. केसी तीन करोड नेपालीको मौलिक हक अन्तर्गत स्वास्थ्य पहुँचलाई लिएर छैठौं पटक आमरण अनसन बसेको बारे जानकारी गराएका थिए।
अहिले केसीको आरमण अनसन १२ औं दिनमा पुगिसकेको छ भने उनको स्वास्थ्य स्थिति दिनप्रतिदिन नाजुक बन्दै गइरहेको छ। तर, सरकारले भने माग सुनुवाई तर्फ कुनै पहल गरेको छैन्।