तस्विर सौजन्यःथानेश्वर गुरागाईँ
गिनिज बुकमा संसारकै होचो ब्यक्तिको रुपमा नाम लेखाएका दाङका चन्द्रबहादुर डाँगीको निधन भएको छ। सर्कसको कार्यक्रमका लागि अमेरिका गएका डाँगी अस्वस्थ भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा डाँगीको निधन भएको पारिवारिक स्रोतले सेतोपाटीलाई जानकारी दिएको छ।
अमेरिकाको ल्याण्डन बि जोहन्सन ट्रपिकल मेडिकल सेन्टरमा उपचारका लागि भर्ना भएका डाँगीको शुक्रबार निधन भएको उनका भतिजा दोलख डाँगीले सेतोपाटीलाई बताए।
१९९६ साल मंसिर १५ गते दाङमा जन्मिएका डाँगी २०६८ फागुन १४ गते गिनिज बुक अफ वर्ल्ड रेकर्डसले विश्व कै जिवित होचा व्यक्ति भएको पुष्टि गरेको थियो।
डाँगीको उचाइ ५४.६ सेमी थियो। गिनिज बुकको आधिकारिक साइटमा उल्लेख भए अनुसार उनी विश्वमा अहिलेसम्म भेटिएकामध्ये नै सबैभन्दा होचा प्रमाणित भएका हुन्। उनको निधनपछि पनि गिनिज बुकबाट उनको नाम हट्ने छैनन्। उनी संसारमै अहिलेसम्म भेटिएका सबैभन्दा होचा व्यक्ति हुन्।
यो कीर्तिमान यसअघि भारतका गुल मोहम्मदको नाममा थियो जसको उचाइ ५७ सेमी थियो। जीवित व्यक्ति मध्ये सबैभन्दा होचाको कीर्तिमान चाहिँ यसअघि फिलिपिन्सका जुन्रे वालाविङको नाममा थियो। डाँगीको तौल १२ किलोग्राम रहेको थियो।