संयुक्त मधेसी मोर्चाले आह्वान गरेको आमहडतालका कारण महोत्तरीका अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ। विगत २१ दिनदेखिको आमहडतालका कारण अस्पतालमा स्टकमा राखेको ग्यासका सिलिन्डर सकिएपछि उपचारमा समस्या भएको हो।
अक्सिजनको सिलिन्डर एम्बुलेन्समा समेत राख्नुपर्ने भएको हुँदा अन्त पठाउनुपर्ने अवस्थाका बिरामीलाई बाहिर पठाउँदा झन ठूलो समस्या हुने जनस्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक गिरेन्द्र झाले जानकारी दिए।
आवश्यक पर्ने औषधि तथा अक्सिजनको अभावमा आन्दोलनका क्रममा गम्भीर घाइते भएर आउनेहरूलाई समेत उपचारमा समस्या उत्पन्न हुने निश्चित भएको जनस्वास्थ्य निरीक्षक झाको भनाइ रहेको छ। जिल्लामा औषधिको अभाव रहेको र बाहिरबाट आवश्यक औषधिसमेत आउन छाडेपछि बिरामी थप मर्कामा परेका जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ।
त्यस्तै बन्दको आज २१औँ दिन पनि जिल्लाको विभिन्न स्थानमा बिहानैदेखि प्रदर्शनकारीहरुले ठाउँठाउँमा टायर बाली प्रदर्शन गरेका छन् भने जिल्लामा रहेका बजार, पसल बन्द रहेका छन। जिल्लामा छोटो तथा लामो दूरीका सवारीसाधन पूर्णरूपमा ठप्प रहेको छ भने हाटबजार, कलकारखाना, उद्योग धन्दा, बैंक तथा वित्तीय संस्था, सरकारी तथा गैरसरकारी कार्यालय सबै प्रभावित भएका छन्।
बन्दको सबभन्दा ठूलो मारमा दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने मजदुर परेका छन्। उनीहरूले कति दिनदेखि पेटभरि खान नपाएको गुनासोसमेत गरेका छन्। रासस