यस वर्षको कृष्ण जन्माष्टमीका दिन भोलि शनिबार पाटन दरबारस्थित कृष्ण मन्दिरको पूजामा सहभागी भक्तजनले डबलीमा रहेर पूजा गर्नुपर्ने भएको छ ।
भूकम्पका कारण मन्दिर जोखिममा रहेकाले पूजाका लागि आउने भक्तजनलाई मन्दिर प्रवेशमा रोक लगाइएको ललितपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत ताराबहादुर कार्कीले बताएका छन्।
वैशाख १२ गतेको विनाशकारी भूकम्पले विश्व सम्पदा सूचीमा रहेको पाटन दरबारस्थित कृष्ण मन्दिर जोखिम अवस्थामा रहेकाले पूजामा आउने श्रद्धालु भक्तजनलाई डबलीमा नै पूजाको व्यवस्था गर्न लागेको उनको भनाइ रहेको छ ।
भूकम्पले त्यहाँ रहेका चारनारायण र विश्वनाथको मन्दिर पूर्णरुपमा ध्वस्त भएका थिए । त्यससँगै रहेको भीमसेन मन्दिरसमेत जोखिम अवस्थामा रहेको छ ।
कृष्ण जन्माष्टमीका दिन कृष्ण मन्दिरमा राष्ट्र प्रमुखको उपस्थितिमा पूजा गरिने प्रचलन रहँदै आएको छ । यस दिन पूजामा सहभागी हुन पाटनका स्थानीयवासी, चापागाउँ, सुनाकोठी, हरिसिद्धी, लूभू, इमाडोल, सिद्धीपुर, खोकना, बुङ्मती, गोदावरीलगायतबाट उपत्यकाभित्रका भक्तजनको ओइरो लाग्ने गरेको छ । रासस