टर्कीको समुन्द्री किनारामा भेटिएको एक मृत बालकको तस्बिरले अहिले सामाजिक सञ्जालमा विश्वभर चर्चा पाएको छ। सो तस्बिरमा टिसर्ट र हाफ पाइन्ट लगाएको एक मृत बालक समुन्द्री किनारमा घोप्टो परेको देखिन्छन्।
टर्कीका सञ्चारमाध्यमका अनुसार उनी अभिभावकसँग द्वन्द्वग्रस्त मुलुक सिरियाबाट भागेर युरोपियन मुलुक ग्रिस जान लागेका थिए। शरणार्थी बोकेको एक डुंगा भूमध्यसागरमा केही दिन अघि डुबेको थियो। त्यही घटनामा बालकपनि समुन्द्रमा डुबेका थिए।
मृत बालकको तस्बिर सार्वजनिक भएपछि अधिकारकर्मी, परीवेक्षक र पत्रकारले सिरिया युद्धको कठोर तस्बिर आएको भन्दै युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायले पहल गर्नु पर्ने समय आएको प्रतिक्रिया दिएका छन्।
युरोपियन युनियनका नेताहरू कसरी आफ्नो भूभागमा आउने शरणार्थीलाई रोक्न सकिन्छ भन्ने बारे छलफल गर्न जम्मा भएका बेला बालकको तस्बिर सार्वजनिक भएको हो। सिरियाबाट भागेर युरोपमा जान खोज्ने धेरै शरणार्थीको भूमध्यसागरमा डुंगा डुबेर मृत्यु हुने गरेको छ।