बेपत्ता बिरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आइतबार रोल्पा सदरमुकाम लिवाङमा बेपत्ता नागरिकका आफन्तले गरेको दिपावली।
मेघमाली बुढा। कोटगाउँ ३ रोल्पा। उमेर ५७ वर्ष। तत्कालीन १० वर्षे सशस्त्र यूद्धकी पीडित।
२०५८ साल चैत्र १५ गते घरबाट लगेर छेउको गाउँमा गोली होनर उनका श्रीमानलाई मारियो। एक छोरी दुई छोराकी आमा मेघमालीले मन थामेर छोरा छोरी हुर्काउन पढाउन कसर छोडिनन्।
दाङमा पढ्ने भाईलाई भेट्न रोल्पाबाट झरेका मेघमालीका छोरा हिराबहादुर बुढालाई उतै कतैबाट तत्कालीन शाही नेपाली सेनाले बेपत्ता बनायो २०५९ सालमा। श्रीमानको हत्याको पीडा बोकिरहँदा सेनाले छोरा बेपत्ता बनाए। विक्षिप्त मेघमाली आज पनि हरेकवर्ष जस्तै अन्तराष्ट्रिय बेपत्ता दिवस सफल बनाउन सदरमुकाम धाउँछिन्।
‘छोरा आउला भन्ने आश छैन। सुरु सुरुमा त आश लाग्थ्यो अब त आशै मर्यो। श्रीमान काँग्रेस भएकाले मारिए। विचरा ग्वाला गोठालो जान्थे, घरगाउँ गर्थे। के बिगारेका थिए र मारे माओवादीले? त्यस्ता सोझाले पनि सिआईडि गर्छन?’ एकै सासमा गुनासो गरिन मेघमाली।
‘मरेको लास वरीपरी कागजमा सुराकी लेखेर ढुंगाले च्यापेर छोडेका थिए।’ त्यसो गर्नेहरुको हो थाहा छ मेघमालीलाई। तर आगामी पुस्ताका लागि विगत भुल्न बाध्य छिन्।
‘उनीहरु जस्तो गर्न त भएन नि। माओवादी देख्दा नि मन दुख्छ। सरकार भन्दा नि मन दुख्छ । एउटाले श्रीमान मारे एउटाले छोरा।’
संविधान के हो? संविधान सभा के हो ? कुनै जानकारी छैन मेघमालीलाई। कसैले केही भनेका नि छैनन्।
‘रेडियो सुन्दा फेरि पहिला जस्तो हुन थालेको झैं लाग्छ। अस्ति कता पुलिस मारे रे। मस्तै दिन भयो कताकता बन्द पनि भइरा'छ रे। सानो देश छ भन्छन्, त्यही पनि मिल्दैनन्। जनता पनि नेपाली, सेना पुलिस पनि नेपाली। अब त मिले नि हुन्थ्यो।’ सामान्य गाउँघरमा कृषि पेशा गरेर हुर्केकी मेघमाली दार्शनिक जस्तैगरी बोल्छिन् छोरा, श्रीमान्, समाज र देशबारे।
‘त्यही भारतमा कतिका नेपालीहरु सेनामा छन् रे। तर हाम्रोमा त सेना, पुलीस सबै नेपाली छौं नि। किन एकले अर्कालाई मार्नु पर्यो होला।’ छोराको लास भए नि सास भए नि हेर्ने अपेक्षा अझै कतै कुनामा राखेकी मेघमाली बोल्दाबोल्दै आँखा टिलपिल पार्छिन्।
लिवाङ ४ की प्रतिमा थापा। गभर्वती थिइन् श्रीमान ढाटे थापा बेपत्ता पारिँदा। बाबुको अनुहार समेत नदेखेको छोरो अहिले ७ मा पढ्ने भइसकेको छ।
अरुको बुवा देख्दा रहर गर्ने छोराको रहर पुरा गर्न फर्की पो हाल्छन् कि जस्तो लाग्छ उनलाई। बुढी सासु र नजन्मिएको छोराको मुख हेरेर बाँकी जीवन जिउँदै छिन् प्रतिमा। २०/२२ वर्षको उमेरमा भारत मजदुरी गर्न हिडेका श्रीमान होलेरीबाट बेपत्ता बनाइएपछि आशैआशमा जिउँदै गरेकी प्रतिमाका पीडा अहिले झन बढ्दै छन्।
‘बिहे गरौँ भने पनि छोरो अनि घरमा बुढी सासु। उनीहरुकै मुख हेरेर बसेँ। दु:ख त कति भोगेँ कति।’
संविधान के हो भन्ने कसैले नबुझाएकी प्रतिमा रेडियोले बन्द, अन्दोलन आदि सुनाउँदा दिक्क मान्न थालेकी छिन्।
बुधय कामीलाई २०५६ सालको माघमा माओवादीले बेपत्ता बनाउँदा २२ वर्षा थिए टोपेन्द्र सुनार। डकर्मी काम गर्ने बुवा काठ चिरिरहेको ठाउँबाट कता लगिए कता। ‘के को सुराकी गर्नु विचरा। प्रहरी गाउँमा आएको बेला भात पका भन्यो। खाना खाए। त्यही खाना नै बुवा बेपत्ता बनाउने कारण बन्यो।’
संविधानको ‘स’ पनि नबुझेका सुनारलाई कसैले आजसम्म थाहै दिएको छैन त्यसबारे। ‘बेपत्ताका परिवारलाई सीपमुलक तालिमहरु दिएर कुनै रोजगारिको अवसर पाए हुन्थ्यो। अझै शान्ति भएको छैन भन्छन्। सबै मिले हुन्थ्यो ।’ टोपेन्द्र भन्छन्।
कोर्चावाङ ३ की दिलकुमारी बुढा। श्रीमान् बिरामी भएपछि औषधी उपचारका लागि काठमाडौं पुगिन् २०६० सालमा। हात, खुट्टा दुख्ने व्यथाले भेटेका श्रीमान्लाई भर्ना गरिएकै अस्पतालको बेडबाट सेनाले लगेपछि लास पनि दिएन सास पनि दिएन।
‘घर रोल्पा भन्दा बित्तिकै सेनाले लग्थ्यो। बालाजु ब्यारेकमा लगेका हुन् भन्थे। भेट्न दिएन । धेरै पटक ब्यारेक गए। हार मानेर फर्किए।’ श्रीमान दलबहादुर गुरुङ बेपत्ता बनाइएपछि अहिले २ छोरी हुर्काउन ठूलो कष्ट छ दिलकुमारीलाई।
‘खान पुग्ने सम्पत्ति नि छैन। हे भगवान ! जीवन कसरी चलाइया छ कसरी, बखान गर्नै सक्दिनँ। थोरै जमिन छ, दाइभाइ छिमेकीले जोतिदिन्छन्।’ एक हल गोरु, २/३ वटा कुखुरा, २/३ वटा बाख्राले आफ्नो अनि २ छोरीको जीवन चलाउँदै छिन् दिलकुमारी।
संविधान के हो? आए के नआए के? कुनै जानकारी छैन उनलाई। ‘छोरीको अगाडी बाबाको फोटो देखाउनै हुँदैन। रुन थाल्छन्।’ हेर्न मन लाग्दा छोरीहरुबाट लुकेर हेर्छिन् उनी।
माओवादीले जीवनमा लगाएको गुन भनेको राहत लिन जाँदा कागज पत्र मिलाइदिएका थिए। अरु केही गरिदिएको अनुभव छैन दिलकुमारीसँग।
नेताहरुलाई संकेत गर्दै ‘उनीहरु त मिल्दा हुन नि? हामीलाई यस्तो गराए। बरु पहिला शान्ति थियो। हेर्नुस् तो २०/२२ दिन बन्द छ रे। हामी किसानलाई उस्तै छ। हामी त छिमेकी छन्, भोकै मर्दैनौँ। बजारकालाई के भा होला? तिनीहरु पनि त नेपाली हुन्।’ तराई आन्दोलन र त्यसबाट पीडितप्रति सहानुभुति छ उनको मनमा। ‘२ वर्षको बच्चालाई नि मारे भन्छ रेडियो। के भा' होला त्यो ठाउँमा।’
जंकोट ५ की सोङग्रा पुन। उमेर कति भयो थाहा छैन। छोरा जगत पुन युद्धकालमा नै बेपत्ता भए। दाङबाट हराएका छोरालाई कसले बेपत्ता बनायो भन्ने पनि उनलाई थाहा छैन।
‘म ता मस्तै (धेरै) वर्ष पुगेँ। अब जानेबेला भयो। श्रीमान नि मरे। तीनटी छोरी छन्। कान्छीसँग बस्छु। छोरो आउँछ की? आस छ।’ छोरो आउने आशामा बाटामा नयन ओच्छाएर बसेकी छिन् सोङग्रा पुन।
संविधान के हो, किन बनाइँदै छ, कहिले बन्छ केही पनि थाहा छैन उनलाई।
४० वर्षिया ओमसरा सुनार। वडाचौर ८ रोल्पा। १५/१६ वर्ष अगाडी १५/१६ वर्षको छोरालाई सेनाले लगेको समय सबैभन्दा पीडादायक बन्यो। संविधान के हो भन्ने समेत नबुझेकी उनी छोरा आउने आशा अलिअलि भएको सुनाउँछिन्। ‘कसलाई के भन्ने सर! सिधा छोरोलाई कता लगे कता?’
तेवाङ २ की ६० वर्षिया अनि बिक। श्रीमान बुद्धिराम बिकलाई माओवादीले लगेका, कता लगे कता। बेपत्ता बनाएको सालसमेत ध्यान नभएकी उनी छातीभरी पिडा बोकेर बसेकी छिन्।
‘अब त आउलान जस्तो नि लाग्दैन। मस्तै वर्ष भयो लगेको। छोराहरु भिन्दै बस्छन्। एउटी बोली नभएकी छोरी छ, उसैसँग बसेकी छु।’ अनि आफ्नो पीडा सुनाउँछिन्।
अन्तराष्ट्रिय बेपत्ता दिवस मनाउन सदरमुकाम लिवाङ पुगेका यी प्रतिनिधी पात्र। आफन्त बेपत्ता पारिएपछि मन भरी पीडा बोकेर बसेका छन्।
यी सबैलाई संविधान के हो भन्ने थाहा छैन। संघीयता, सिमाङ्कन, नामाङ्कन त झन टाढा। यी तिनै पात्र हुन्, जसले संविधान सभाका लागि आफ्नो परिवारका सदस्य गुमाए। आज यी नै पात्रलाई अँध्यारोमा राखेर गरिएको राजनीतिबाट प्राय: मृतक, बेपत्ता परिवार अनभिज्ञ छन्।
आर्थिक अवस्था असाध्यै कमजोर रहेका प्राय: यी बेपत्ता परिवारसँग आफ्नो आम्दानीको श्रोत केही छैन्।
‘कसैले आफूलाई सहिद परिवार भन्न रुचाउछँन भने कसैले अहिले पनि आउँछ कि भनेर आस गरेका छन्।’ बेपत्ता परिवारसँग काम गरिरहेको 'हातेमालो कार्यक्रम'की मनोसामाजिक कार्यकर्ता अञ्जु वली बताउँछिन्।
‘कतिले त चाडबाडमा १ मुठ्ठी चामल बढी हाल्छन् भाँडोमा, आउँछ कि भनेर। कहिलेकाँही ढोका ढकढक गर्यो भने आयो कि भनेर ढोका खोलेर हेर्छन्।’ पीडित परिवार बोलेको आवाज सुनाउँछिन अञ्जु।
द्विविधामा बाँचेका बेपत्ता परिवारको पिडामा अहिले सम्म राज्यले किस्ताकिस्तामा दिएको ५ लाखबाहेक सान्त्वना दिन समेत कोही फर्किएका छैनन्।
६५ जना बेपत्ता रहेको रोल्पामा कतिले त राहत लिनका लागि मृतक स्वीकार गरेका छन । अहिले सरकारी तथ्याङ्क हेर्ने हो भने ३३ जना बेपत्ताको सुची छ भने मृतकको ९४६।