जात्रैजात्राले भरिएको यो देशमा गाईजात्राको छुट्टै महत्व र रौनक छ। मनभित्रको पीडा तथा आक्रोश पोख्ने दिनका रूपमा पनि लिन सकिन्छ
गाईजात्रालाई। यो पर्व नेवार समुदायले वर्ष दिनभित्र मरेका मान्छेको सम्झनामा मनाइन्छ।
'म पनि आज रमिता हेरौं न' भनेर निस्किएँ गाईजात्रा हेर्न। पहिला बसन्तपुर दरबार स्क्वायर पुगेँ। यताउता आफ्ना आँखाहरू डुलाएँ। त्यहाँको रमिता हेरेँ।
त्यसपछि कीर्तिपुरतिर हान्निएँ। सुनेको थिएँ, त्यहाँको गाईजात्राको माहोल नै छुट्टै हुन्छ भनेर।
अनौठो नै थियो कीर्तिपुरमा गाईजात्राको रमिता। मानिसहरू आफैलाई
हाँसोको पात्र बनाएर विभिन्न रुपरङमा ढालेका थिए। कोही भगवान बनेका थिए, कोही आफैंलाई राक्षस बनाएर हिँडेका थिए। घरघरबाट जात्रा हेर्नेहरूको लर्को नै लागेको थियो। सबैजना आआफ्नो धूनमा मस्त भएर रमाइरहेका थिए।
लाग्थ्यो! कुनै कुराको पनि दुखपीडा थिएन। बस्, हाँस्दै रमाइरहेका थिए। सोचेँ, जात्रा भनेको त यही हो, सबैलाई एकै ठाउँमा भेला गर्ने र एकैछिनका लागि भए पनि पिरव्यथा भुल्ने। गज्जव थियो त्यो
माहोल र रमिता।
इतिहास पल्टाएर हेर्दा आफ्नो छोराको शोकमा डुबेकी रानीलाई मल्लकालीन राजा प्रताप मल्लले सारा संसारले उनीजस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन आफ्ना जनतालाई आआफ्नो घरमा मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली नगर परिक्रमा गर्नू भनेर आज्ञा दिए। त्यतिले पनि रानीको मन शान्त पार्न नसकेपछि उनले विभिन्न प्रकारका प्रहसन र व्यंग्यात्मक कार्यक्रम गरेर रानीलाई फुल्याउन खोेजेका थिए।
मैले वसन्तपुर र कीर्तिपुरमा खिचेका तस्बिरहरू यस्ता छन् :