आमरण अनसनको नवौं दिनसम्म सरकारले प्रा.डा. गोविन्द केसीको माग सुनुवाई नगरेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुले अनसनको समर्थनमा र्याली निकालेका छन्। प्रतिष्ठानको जुनियर रेजिडेण्ट वेलफेयर सोसाइटीका चिकित्सव विद्यार्थीहरुले र्याली निकालेका हुन्। प्रतिष्ठान हाताबाट निस्किएको र्याली धरानको भानुचौक आइपुगेर कोणसभामा टुंगिएको थियो।
कोणसभासँगै ‘सेभ डा. गोविन्द केसी’ लेखेर मैनबत्ति प्रज्वलन गरेका थिए। डा.केसीको समर्थनमा सबै लाग्नु पर्ने विद्यार्थीहरुले कोणसभामा बताएका छन्। स्वास्थ्य क्षेत्रमा हुने माफियाकरणको विरोधमा आरमण अनसन बसेका डा. केसीको समर्थन आम नेपालीहरुले गर्नुपर्ने सोसाइटीका अध्यक्ष सूर्य रिमालले बताए।
उनले भने ‘सरकारले सहमति गरिसकेको कुरालाई लिएर फेरि अनसन बस्नु सरकारको कतिसम्म लज्जाबोध नभएको रहेछ भन्ने खुल्छ।' उनले आम जनताले जसरी अहिले चिकित्सकमाथि विश्वास गरेको छ। अवका दिनमा उत्पादन हुने चिकित्सकमाथि यसरी विश्वास हुने आधार नहुने भएकाले डा. केसीले त्यसैको विरोधमा अनसन बसेको बताए।
‘अब आउने चिकित्सक नाम मात्रैका हुने छन् यही स्थिति रहे।' उनले भने ‘डा. केसीको आन्दोलन जनताको लागि हो। त्यसैले सबै तह र तप्काबाट सहयोग गर्नुस्।’ डा. रोहित कर्णलेसमेत सबैले सहयोग गर्न आग्रह गरेका थिए।
र्यालीमा ब्लड डोनेसन कमिटी र फिजिसियन फर सोसियल रेस्पोन्सीविलिटी नेपाललेसमेत सहभागिता थियो।