राष्ट्रिय मानव अधिकार आयोगले सीमाङ्कन लगायतका विषयलाई लिएर विभिन्न जिल्लामा लामो समयदेखि भइरहेको बन्द, हड्ताल र विरोध प्रदर्शनका क्रममा मानव अधिकार हनन्का घटनाहरु बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।
शान्तिपूर्ण रुपमा आन्दोलनमा सहभागी हुन पाउने अधिकार संविधान तथा अन्तर्राष्ट्रिय मानवअधिकार कानूनले प्रदान गरे पनि आन्दोलनका क्रममा लाठी र घरेलु हातहतियारको प्रयोग, ढुङ्गामुढा, आगजनी, तोडफोड गर्ने, बालबालिकाको प्रयोग, हत्या र अंगभंग हुने परिस्थिति सिर्जना हुनु मानव अधिकारको आधारभूत सिद्धान्त विपरीत भएको उसले जनाएको छ ।
आज एक बिज्ञप्ति जारी गर्दै उसले प्रदर्शनको क्रममा भइरहेको आन्दोलनमा नागरिकको जनधनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले गोली चलाउँदा अस्पताल क्षेत्र लगायत विभिन्न स्थानमा घाइते र मृत्यु समेत भएको पाइएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
त्यस्ता कार्य तत्काल बन्द गरी वार्ता र संवादलाई प्राथमिकता दिदै आन्दोलनलाई शान्तिपूर्ण बनाउन आयोग नेपाल सरकार तथा आन्दोलनकारी दुवै पक्षको ध्यानाकर्षण गराउँदछ, बिज्ञप्तिमा भनिएको छ ।