मधेसी मोर्चाका कार्यकर्ताहरुले नेपाली कांग्रेस महोत्तरीको पार्टी कार्यालयमा तोडफोड गरेका छन्। यस्तै आधा दर्जन सरकारी कार्यालयमा ढुंगामुढा गरेका छन्।
सयौंको संख्यामा रहेका मधेसी मोर्चाका नेता कार्यकर्ताहरुले जलेश्वर ६ स्थित नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका हुन्।
तोडफोडबाट नेका पार्टी कार्यालयको मुलगेट, झ्याल, ढोका , पार्टीको वोर्ड र शौचालय क्षतिग्रस्त भएको छ। प्रदर्शनकारीहरुले कार्यालय छेउमै रहेको ढुँगा र ईटाले हानेर कार्यालय भित्रको कोठाको ढोका तोडेर कोठा भित्र रहेको भाडावर्तन र ग्याँस सिलिण्डर समेत बाहिर फालिदिएका छन्।
कांग्रेस कार्यालयभन्दा दुई सय मिटर नजिक सशस्त्र प्रहरी बिट छ। घटना हुँदा प्रहरीले बचाउन सकेन। तोडफोडपछि घटना स्थल पुगेका सशस्त्र प्रहरीको थप वललाई प्रर्दशनकारीहरुले फर्काएका थिए।
प्रर्दशनकारीहरुले जलेश्वरस्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समितिको कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला निर्वाचन कार्यालय र राप्रपा पार्टी कार्यालयमा पनि ढुंगामुढा गरेका छन्।
ढुंगामुढाबाट ती कार्यालयहरुमा सामान्य क्षति भएको छ भने प्रदर्शनकारीहरूले निर्वाचन कार्यालय महोत्तरीको नाम उल्लेखित वोर्ड हटाएर नालामा फालिदिएका छन्।
यसअघि मधेसी मोर्चाका नेता कार्यकर्ताले मधेस विरोधी मुर्दावाद, मधेसी एकता जिन्दावाद लगायतको चर्का नारावाजी गर्दै नगर परिक्रमा गरेका थिए। जलेश्वरको महेन्द्र चौक, शंकर चौक, खैरा चौक , नगरपालिका चौक , वस स्टैण्ड चौकहरुमा टायर बालेर विरोध जनाएका थिए।
अनिश्चितकालिन बन्दको क्रममा विहान र वेलुका केहि खुकुलो रहँदै आएको सदरमुकाम जलेश्वर मंगलबार बिहानैदेखि पूर्णरुपमा ठप्प भएको छ।
महोत्तरीमा लगातार १८ दिनदेखिको बन्दका कारण यहाँका जनजीवन अस्तव्यस्त भएको छ।
सदरमुकाम जलेश्वर लगायत ग्रामीण क्षेत्रमा रहेका उद्योग, कलकारखाना, व्यापार, शैक्षिक संस्थालगायतको सबै ठप्प छन्। बन्दका कारण दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेपछि सामानको मूल्य अकासिएको छ भने बन्दले व्यापार व्यवसायसमेत बन्द रहेको व्यापारी बताउँछन।
सीमाङ्कनको विरोधमा उत्रिएका संघीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी,तमलोपालगायतका मधेसवादी दलले आह्वान गरेको अनिश्चितकालीन तराई मधेस बन्दको मंगलवार १८ औँ दिन पनि बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले एक दर्जनभन्दा बढी सवारीसाधनमा तोडफोड गरेका छन्।