एचआईभी संक्रमित १४ वर्षीया गंगाकुमारी साउँदको विद्यालय पढ्ने इच्छा थियो। उनी कैलालीको श्रीपुर गाविस लालपुरस्थित चण्डेश्वरी निमाविमा कक्षा ६ मा पढ्दै थिइन। पढ्ने इच्छा भएर मात्रै कहाँ हुन्छ त्यसका लागि घरपरिवार र समाजको सहयोग हुनुपर्यो। अझ एचआईभी संक्रमित गंगा जस्ता बालबालिकाका लागि त्यो सहयोग पाउनु ठूलै चुनौती हुने गर्छ।
यस्तैमा एउटा गैरसरकारी संस्थाले उनी जस्तै एचआईभी संक्रमित बालबालिकाहरुलाई खाने बस्ने व्यवस्थाका साथै पढाई दिने प्रस्ताव राख्यो। उनले गैरसरकारी संस्थाको प्रस्तावलाई सहजै स्वीकार गरिन्। किनकी उनले धेरै पढ्ने इच्छा पालेर बसेकी थिईन। त्यही इच्छालाई मूर्तरुप दिन उनी धनगढीस्थित गैरसरकारी संस्था राईट् अफ लाईफको सम्पर्कमा पुगिन्।
उनी मात्रै हैन कैलालीका विभिन्न गाविसका १२ जना बालबालिका गंगाको झैं पढ्ने इच्छा बोकेर संस्थाको सम्पर्कमा पुगे। संस्थाले पनि राम्रै बन्दोबस्तका साथ पढाई दिने भनेकै थियो तर उनीहरुको इच्छाका सामु पहाड बनेर विद्यालय उभिए। उनीहरुलाई धनगढीस्थित निजी र सरकारी विद्यालय कसैले पनि भर्ना गर्न मानेन।
संस्थाले धेरै विद्यालयमा बालबालिकाको अध्ययनका लागि हार गुहार गरेपनि कसैले सुनुवाई गरेनन्। कतिपयले सुरुमा हुन्छ भनेपनि अन्तिम समयमा आएर हुँदैन भन्दै फर्काई दिए।
'मैले धेरै विद्यालयलाई बालबालिकालाई भर्ना गरिदिनुस्। जति खर्च लाग्छ म तिर्न तयार छुँ भने तर कसैले मानेन' संस्थापक प्रकाश पौडेलले भने–'अहिले संस्थामै शिक्षक राखेर अनौपचारिक रुपमा पढाईरहेको छुँ।'
'बालबालिकाले पढ्न नपाउँदा उनीहरुको दिमाखमा नराम्रो असर पर्ला भनेर अनौपचारिक शिक्षाको बन्दोबस्त गरेको हुँ' उनले भने।
संस्थाले शिक्षकको व्यवस्था गरी संक्रमित बालबालिकाहरुलाई बिहान ८ देखि १० र दिउसो ३ देखि ५ बजेसम्म आफ्नै कार्यालयमा अनौपचारिक शिक्षा दिईरहेको छ।
संस्थाको संरक्षणमा कैलालीको गोदावरी, चौमाला, श्रीपुर, मालाखेती, बलिया गाविसका बालबालिकाहरु रहेका छन्। उनीहरु ३ देखि १४ वर्ष उमेरसम्मका छन्। उनीहरु अधिकांशका आमाबुबाको एचआईभी/एड्सबाट ज्यान गैसकेको छ।
कुनैपनि निजी विद्यालयले भर्ना लिन नमाने पछि संस्थाले नजिकै रहेको नवदुर्गा माविमा बालबालिकाको पठनपाठनको व्यवस्थाका लागि पहल गरेको थियो। नवदुर्गा माविले समेत सुरुमा भर्ना गर्ने आश्वासन दिएपनि पछि अस्वीकार गरेको संस्थापक पौडेलले बताए।
'नवदुर्गाका प्रधानाध्यापकले सुरुमा हुन्छ भनेर आश्वासन दिए' उनले भने–'तर पछि सकिदैन भनेर भर्ना गर्न मानेनन्।'
तर नवदुर्गा माविका प्रधानाध्यापक समरबहादुर चौधरीले बालबालिका समयमा नआएका कारण भर्ना गर्न नसकिएको बताए।
'मैले शैक्षिक सत्रको सुरुमै आउनु होला भनेको थिए' चौधरीले भने–'तर उहाँहरु असार महिनामा भर्ना गर्न आउनु भयो। त्यसैले भर्ना गर्न सकिएन।'
उनले सबै बालबालिकाको पढ्न पाउने अधिकार प्रति आफू सचेत रहेको भन्दै ढिलो भर्ना गर्दा पाठ्यपुस्तक उपलब्ध गराउन समस्या हुने देखेर भर्ना गर्न नसकेको बताए।
'सबै विद्यार्थी भर्ना भैसकेका थिए र पाठ्यपुस्तक पनि वितरण गरिसकिएको थियो' उनले भने–'यो बारेमा व्यवस्थापन समितिमा कुरा राख्छु। यदि समितिले हुन्छ भन्यो भने संक्रमित बालबालिकालाई भर्ना गर्न तयार छुँ।'
संक्रमित बालबालिकाको संरक्षण र पठनपाठनका लागि संस्थालाई बेल्जियम दम्पत्तिले सहयोग गर्दै आईरहेका छन्। संस्थाले संक्रमित बालबालिकाको पठनपाठन मात्रै नभई उनीहरुको औषधी उपचार, खाने र बस्ने व्यवस्था समेत गर्दै आएको छ।
संस्थामा रहेका सोनु मिजार, गंगाकुमारी साउँद, विमला विक, हिमाल शाही र सीता बोगटीले एआरभी र कोटि्रन सेवन गर्दै आएका छन् भने अन्यले कोटि्रन मात्रै सेवन गर्ने गरेका पौडेलले बताए। एआरभी र कोटि्रन एचआईभी संक्रमित व्यक्तिले सेवन गर्ने औषधी हुन्।