जनैपूर्णिमाको रात १२ बजे म ललितपुरको कुम्भेश्वर पुग्दा सर्वेश्वर महादेवको मूर्ति बाहिर निकालिँदै थियो । एकैछिनमा मूर्तिलाई नेवारी बाजागाजासहित कुम्भेश्वर परिसरमै रहेको पोखरीमा लगेर राखियो । जनविश्वास के छ भने सर्वेश्वर महादेवको दर्शन गरेपछि हजार धामको दर्शन गरेबराबर पुण्य कमाइन्छ । जनैपूर्णिमाको दिनमात्रै सर्वेश्वर महादेवको बाहिरै दर्शन गर्न पाइने रहेछ ।
जनैपूर्णिमाको दिन गोसाईंकुण्ड जान नसक्नेहरू यहाँ आउछन् । जनविश्वास त के पनि छ भने कुम्भेश्वरमा गोसाईंकुण्डको पानी बगेर आउँछ ।
राजा सिद्धिनरसिंह मल्लको पालादेखि यहाँ मेला लाग्ने गरेको इतिहास छ । त्यो बेला मन्दिर परिसरमा रहेको पोखरी सफा गर्दा महादेवको मूर्ति भेटिएपछि यहाँ मेला लाग्ने गरेको हो । रातिदेखि नै लाग्ने मेलामा गोसाईंकुण्डदेखि आएका झाँक्रीहरू आफ्ना बाजागाजासहित नाच्दै मन्दिर घुम्दारैछन् ।
जनैपूर्णिमाको दिन कुम्भेश्वर महादेवपछि पशुपतिनाथ मन्दिर परिसर पुग्दा त्यहाँ ल्याम्पोस्टहरु निभेकै थिएनन् । मिर्मिरे बिहानीमा एकाध भक्तजनहरु बल्ल आउन सुरु गरेका थिए ।
भक्तजनहरूले बागमतीमा स्नान गरेपछि नयाँ जनै र धागो पूजा गर्छन् । त्यसपछि भक्तजनहरूले जनै फेर्ने, रक्षाबन्धन बाँध्ने चलन छ । हिन्दुधर्मशास्त्रमा जनैलाई ज्ञानको धागो भनिन्छ । जनैका दुई शिखामध्ये एक शिखामा रहेका तीनवटा डोरीलाई ब्रम्हा, विष्णु र महेश्वर मान्ने गरिन्छ । अर्को शिखाका डोरीलाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ ।
जनै फेरेर आफ्ना गुरु वा ब्राम्हणको हातबाट रक्षाबन्धन लगाउने चलन पनि छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवहरूलाई देवगुरु बृहस्पतिले बचाएका थिए । उनले दानवराजा बलिलाई बाँधेर देवताहरूलाई बचाएको यो दिनलाई रक्षाबन्धन पनि भनिएको हो ।
मन्दिर परिसरमा ब्राम्हणहरु पूजाको तयारी गर्दै थिए । केही पुजारीहरु जनै, रक्षाबन्धनको धागो र अक्षता बिक्रीका लागि पसल पनि थाप्दै थिए ।
खासगरी जनैपूर्णिमालाई पुरुषहरूको चाड भनिन्छ । गुरुहरुले चेलाचेलीलाई रक्षाबन्धन लगाइदिने चलन छ ।
बगलामुखी भनिने ललितपुरको कुम्भेश्वर मन्दिरदेखि पशुपतिनाथसम्म जनैपूर्णिमाको चहलपहल सेतोपाटीका फोटो संवाददाता प्रकाश लामाले यसरी तस्बिरमा कैद गरेका थिए ।
पशुपतिनाथ परिसरमा एक वृद्धा रक्षाबन्धन लगाइदिँदै । तस्बिर: मधुकृष्ण न्यौपाने
पशुपतिनाथ परिसरमा जनैपूर्णिमाको दिन आएका भक्तजन । तस्बिर: मधुकृष्ण न्यौपाने