तीन दिदीबहिनीमा उनी माइली हुन्। दुई जना दाइहरू पनि थिए। दिदीबहिनीसँगभन्दा उनको संगत दाइहरूसँग धेरै हुन्थ्यो। माछा मार्न, पौडी खेल्न र अरु खेल खेल्न उनी दाइहरूकै पछि लाग्थिन्। तर जब अलि टाढै जानुपर्ने काम पथ्र्यो। दाइहरू जान्थे। उनी छुट्थिन्। म किन जान नपाउने? उनी मुर्मुरिन्थिन्। ‘केटी मान्छे भएर यसो गर्नु हुन्न, त्यसो गर्नु पर्छ’ भनेर लामै फेहरिस्त सुनाउँथे उनका अभिभावक। अभिभावकका कुराले आफू पनि सबै कुरामा सक्षम छु, जे गर्न पनि स्वतन्त्र छु, जस्तोसुकै काम गर्न पनि तयार छु भन्ने सोच राख्ने उनी खिस्रिक पर्थिन्।
विद्रोहको राँको त उनको मनमा बल्थ्यो तर त्यो प्रष्फुटन नभइकनै सेलाएर जान्थ्यो।
‘महिला मान्छे, त्यति टाढा गएर काम गर्न गाह्रो पो हुने हो कि‘ केही हप्ताअघि उनी सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति सिफारिस भएपछि प्रधानमन्त्री एंव विश्वविद्यालयका कुलपति सुशील कोइरालाले ब्यक्त गरेको चिन्ताले उनलाई आधा शताब्दी अघिको याद आँखामा झलझली नाच्यो। जतिबेला उनलाई छोरी भएकै कारण दाइहरूसँग टाढा जाने अनुमति थिएन। आज फेरि उनलाई महिला भएकै नाताले काम गर्न नसक्ने चिन्ता प्रकट भयो। उनले प्रधानमन्त्रीलाई विश्वस्त पार्ने कोशिस गरिन् ‘म जसरी पनि मेरो जिम्मेवारी पुरा गर्छु। तपाईं ढुक्क हुनुहोस्।’ उनको आश्वासनले कोइराला ढुक्क भए सायद, केही दिनअघि सरकारले भुषण श्रेष्ठलाई सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्त गर्यो। ४ वर्षमा कार्यकाल सकिने उपकुलपति नियुक्ती कुनै ऐतिहासिक घटना होइन्। तर भुषण श्रेष्ठका हकमा यो नियुक्ती अवश्य पनि ऐतिहासिक हो। उनी नै नेपालको पहिलो महिला उपकुलपति बनेकी छन्।
तर उनलाई आफ्नो नियुक्ती ऐतिहासिक हो भन्ने लाग्दैन्। ‘पहिलो, दोस्रो के भएँ मलाई चासो भएन। तर महिला पुरुष समान भनेर कानुनमा लेखिएको छ। यो जिम्मेवारी पाएपछि संविधानका धारामा मात्र होइन, व्यवहारमा पनि हामी समान रहेछौं भन्ने लाग्यो’ उनले भनिन्।
वि.स. २०१३ सालमा काठमाडौंको ज्ञानेश्वरमा जन्मिएकी हुन् श्रेष्ठ। उनी हुर्कदै गर्दा बनेको हो उनको घर नजिकै महेन्द्र भवन स्कुल पनि। सरकारी अड्डामा जागिरे उनका बुवा जब तराईका जिल्लाहरूमा जान्थे। स्कुलमा पढाउने शिक्षकहरू सीमापारिबाट मगाएको देख्थे। अझ अंग्रेजी पढाउने त धेरै नै। ‘त्यसैले बुवा काठमाडौं आएपछि हामी सबै भाइबहिनीलाई पढ्नुपर्छ मात्र भन्नुहुन्थ्यो’, बिहिबार ललितपुरको महालक्ष्मीस्थानमा रहेको सुदूरपश्चिम विश्वविद्यालयको सम्पर्क कार्यालयमा श्रेष्ठले आफ्नो विगत सम्झिइन्, ‘घर नजिकै नयाँ बनेको स्कुल, छोराछोरी दुवैले पढनु पर्छ भन्ने बुवाको इच्छा, अनि त पढ्नका लागि के चाहियो र?’
उनी पनि दिदीबहिनीसँगै महेन्द्र भवन स्कुलमा पढ्न थालिन्। त्यही स्कुलबाट २०३० सालमा एसएलसी पास गरिन्। कलेज पढिन्। त्रिभुवन विश्वविद्यालयबाट २०३९ सालमा इतिहास विषयमा स्नातकोत्तर सकुञ्जेल उनी आफूलाई सौभाग्यशाली नै ठान्थिन् किनकि विद्यालय, क्याम्पस र विश्वविद्यालय पढ्न धेरै टाढा जानु पर्दैनथ्यो। त्योभन्दा पनि ठूलो उनका बुवा आमाले छोराछोरीको पढाइका लागि कहिल्यै कुनै सम्झौता गरेनन्।
सानैदेखि आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने सोच राख्ने भुषणलाई मास्टर डिग्री सकेपछि जागिर खानु त थियो नै। केही खास बन्ने लक्ष्य नराखेकी उनले साथीभाइको सल्लाह अनुसार लोक सेवा आयोगको जाँच दिइन्। लिखितमा पास पनि भइन्। ‘तर इन्टरभ्यूमा त कस्तो होच्याउने खालका प्रश्नहरू सोधे’, उनले भनिन् ‘अन्तर्वार्तामा गइसकेपछि मलाई सरकारी नोकरीप्रति नै घृणा लागेर आयो।’
सरकारी नोकरीप्रति वितृष्णा जागेपछि उनले एक गैर सरकारी संस्थामा जागिरका लागि आवेदन दिइन्। लिखितमा पास भइन्। अन्तर्वार्ता पनि राम्रै गरिन्। तर उनको नाम निस्केन। उनले चुपचाप नतिजा स्वीकारिनन्। सरासर संस्थाको हाकिमको कोठामा गइन् र सोधिन्– सबथोक राम्रै गरेकी थिएँ तर मेरो नाम निस्केन, किन?
हाकिमले उनको प्रश्नको सिधा जवाफ फर्काएछन्– हामीलाई जिल्ला जिल्लामा गएर डाटाहरू संकलन गर्ने मान्छे चाहिएको हो। तपैं केटी मान्छे, त्यस्तो काम सक्नुहुन्न भन्ने सोचेर तपैंको नाम निकालेनौं। हाकिमको स्पष्टिकरणमा उनले कुनै प्रतिप्रश्न सोधिनन्। ‘मेरै लागि भने होलान् सोचें‘ उनले भनिन्।
तिनै हाकिम त्रिभुवन विश्वविद्यालयमा पनि काम गर्दा रहेछन्। २०४० साल साउनमा उनले भुषणलाई नयाँ जागिर गर्न बोलाए– भुषण, तिमी भोलिदेखि विश्वविद्यालयमा इतिहास पढाउन आउनु। उनी अर्को दिनदेखि विश्वविद्यालयमा पढाउन थालिन्। वर्ष दिन नबित्दै त्रिवि सेवा आयोगको परीक्षा पास गरिन्। २०४१ सालको जेठमा खुला प्रतिष्पर्धाबाट उनी सहायक प्राध्यापक पदमा नियुक्त भइन्।
त्यसपछि उनको जीवन चक, डस्टर र विद्यार्थीसँगै बित्न थाल्यो। जीवनमा ठूलो उतारचढाव भएन। पार्ट टाइमबाट सुरु गरेको अध्यापन जब उनी विभागीय प्रमुख बनिन् त्यति बेला खुसीको पारो बढ्यो। पढाउन थालेको २० वर्षपछि उनी विभागीय प्रमुख बनेकी थिइन्। वि.स.२०६१देखि २०६४ सम्म उनले शिक्षा शास्त्र केन्द्रीय विभाग हाँकिन्।
तर बेलाबेलामा नेपालका विभिन्न जिल्लामा जाँदा त्यहाँकी महिलाले भोगेका र सहेका पीडा देखेर उनको मानसपटलमा भने उतारचढाव मच्चिरह्यो। बैवाहिक सम्बन्धमा बाँधिएर सुदुरपश्चिमको डोटी पुग्दा सुदुर पहाडी बस्तीका महिलाको हालतले उनलाई झन् धेरै कुरा सिकायो। ‘पहाडमा महिलाहरूले झेलिरहेका संघर्ष देख्दा म त सौभाग्यशाली रहेछु जस्तो लाग्यो‘ उनले भनिन् ‘धेरै जनाले त छोरीलाई स्कुल नै पठाउँदैनन्। पठाएपनि छोरालाई बोर्डिङमा छोरीलाई सरकारीमा पठाउँछन्।‘
त्यसो त महिला पुरुष समानताको कुरा जुलुस, धर्ना, गोष्ठी, सेमिनार र संविधानका धाराभन्दा पनि हरेकको हृदयबाट बेसी आउनु पर्ने उनको बुझाई छ। विशेषगरी अभिभावकको हृद्धय छोराछोरीका लागि संङलो भइदियो र छोरी शिक्षाको ज्योतिबाट बञ्चित भइनन् भने महिलाहरू पनि धेरै अगाडि बढ्छन्। ‘मेरो बुवाका पालामा छोरीलाई स्कुल पठाउनु पर्छ भन्ने कानूनी वाध्यता थिएन तर उहाँलाई हृद्धयदेखि नै छोराछोरीलाई पढाउनु पर्छ भन्ने लाग्यो। आज हामी दिदीबहिनी पनि दाइहरूकै हाराहारीमा पुगेका छौं‘ उनले आफ्नो तर्क आफ्नै उदाहरणले पुष्टि गरिन्।
सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति भएपछि उनको मनमा दुई ओटा योजना बनेका छन्। पहिलो, अहिले चलिरहेका कार्यक्रमलाई प्रभावकारी तरिकाले सञ्चालन गर्ने। आफ्नो विश्वविद्यालयका उत्पादनलाई अन्य देशका विश्वविद्यालयका उत्पादनसँग प्रतिष्पर्धी बनाउने। दोस्रो, विश्व विद्यालयको शिक्षालाई रोजगारमूलक र व्यवहारिक बनाउने छ। ‘हामी महेन्द्र भवन स्कुलमा पढ्ता, खाना पकाउने, तरकारी गोडमेल गर्ने, बगैचा व्यवस्थित गर्ने (गार्डेनिङ) लगायतका सबै काम स्कुलमै सिकेका थियौं’ उनले भनिन् ‘तर अहिलेका पढेलेखेकाहरूलाई यस्ता कामको बारेमा जानकारी नै छैन्।’ रोजगारमुलक शिक्षा दिन नसक्नु नै नेपाली विश्वविद्यालयको कमजोरी रहेको उनको बुझाई छ। यी दुई योजना बोकेर विभिन्न ठाउँमा भइरहेको बन्द खुल्नासाथ उनी कार्यभार सम्हाल्न कञ्चनपुरको महेन्द्रनगर जाने तयारीमा छन्।
छोरी भएकैले दाइसँग बाहिर जान नपाएको, सरकारी जागिरको इन्टरभ्यूमा होच्याउने प्रश्न सोधेको, गैर सरकारीसंस्थामा जागिर नपाएको र उपकुलपति बन्न लाग्दा पनि शंकाको घेरामा परेको जस्ता अनुभवले उनलाई सिकाएको पाठ हो– समाज परिवर्तन हुन समय लाग्छ, आजको भोलीनै सबथोक हामीले चाहेजस्तो हुँदैन। त्यसका लागि निरन्तरता र धैर्यता चाहिन्छ।
उनले जीवनमा सिकेको पाठ जस्तै उनकै जीवनबाट पनि महिला दिदीबहिनीले कुनै पाठ सिक्न सक्छन कि? प्रश्न भूईंमा खस्न नपाउँदै उनले भनिन्– मेरो जीवनबाट सिक्ने पाठ भन्दापनि महिला पुरुष दुवैले सधैँ ख्याल गर्नुपर्ने कुरा शिक्षा हो। शिक्षा रत्न हो। परिवारका जुनसुकै सदस्यमा पनि त्यो रत्न भयो भने यसले शोभा दिन्छ। छोराछोरी भनेर विभेद नगरी परिवारका सबै सदस्यले त्यो रत्न पहिरिए सिंगो परिवार शोभनीय हुन्छ। उनले कुराकानीको विट मारिन्।
तस्बिरहरूः भरतबन्धु थापा/ सेतोपाटी