बाढी पसेको भक्तपुरको बस्ती छिचोल्दै जाँदा पाल टाँगिएको चौरमा पुग्यौँ। महेश्वरी खेल मैदान हो यो।
हामी जहाँ रोकिएका थियौँ, चौरलाई जालीले बारेको थियो। त्यही जालीमा अडेस लगाएर राखिएका केही चिसा सामान माथि थियो एउटा ग्यास चुल्हो, हिलाम्य। कसैले असरल्लै पारेर आफ्ना सामान छोडेर ओत खोज्न गएको हुनुपर्छ।
हनुमन्ते खोला बिहिबार बिहानी पख बौलाउँदै यो चौरमा पसेको थियो रे।
चौर के भन्नु र भूकम्पपीडितको आश्रयस्थल थियो त्यो। वैशाख १२ गते धरती बेस्सरी हल्लिदाँ सातो गएपछि जगाती वस्तीका वासिन्दा त्यही चौरमा आइपुगेका थिए खाली हात।
भत्किएका र चर्किएका आफ्नै घर भन्दा सुरक्षित भयो चौर। घर जानै नसकेपछि पाल हालेर त्यहीँ बसे। ८ सय ३२ जना करिब ४० वटा पालमा जसो तसो दिन काटिरहेका थिए।
***
दिउँसोको साढे एघार बजे सृजना कुस्मा पालबाहिर निकालेको प्लाष्टिकको खाटमा बसेकी थिइन्। आफ्नो पिडौँलासम्म आएको हिलो धमिलै पानीले पुछिरहेकी। उनका बहिनीहरू पाल भित्र आफ्ना बाँकी सामान खोजिरहेका थिए। उनको छेउमा भिजेका कापी किताब थिए। उनकी बहिनी शर्मिला पाल भित्रबाट आइन् र तिनै कपी मुसारीन्, ‘यो मेरो व्यूटिसियन तालिमको नोट हो।’
त्यहीबेला भत्केको आफ्नो घरमा भिजेका सामान राख्न गएका उनका बुवाआमा आइपुगे। सृजनाका बुवा आएर भिजेको डसना बेस्मारी निचोरे। छेउमै बसेर आमाले हेरिरहेकी थिइन्। निचोरिसकेको डसना पनि बोक्न सकेनन्। दुवै जना हाँसे।
बाढीले उनीहरुको जिन्दगीलाई झन् भारी बनाएर छोडेको छ।
‘थाहै छैन अब कहाँ जाने,’ सृजनाले पर पर हेर्दै भनिन्, ‘यी भिजेका सामान राख्न त भत्केको घर छ।’
वैशाख १२ पछि उनीहरुले राहतमा मिलेको खाना खान पाएका छन्। ओत पाएका थिए, तर बिहिबार बिहानै हनुमन्ते खोलाले त्यही ओत पनि छिन्न भिन्न पारिदियो।
‘हामी सुतिरहेका थियौँ छेउको पालबाट बाढी पस्यो भन्दै चिच्याए,’ सृजनाले भनिन्, ‘उठेर सामान मिलाउँदा मिलाउँदै खोला त हामीलाई पनि डुबाउने गरि बढ्दै आयो,अनि भाग्यौँ।’
उनको अनुहार अध्यारो भयो।
‘यसका बाजेबराजुले बनाएको घर थियो त्यो, भूकम्पले आधा त भत्काइदियो,’ सृजनाकी आमाले फेरि आफ्नो घर सम्झिइन्। र घोप्टो परेर हिलोमा डुबेका सामान झिक्न थालिन्।
अर्को पालको बाहिर पट्टी थिइन् तारा नकर्मी। उनले लगाएको म्याक्सीभरि हिलो थियो।
‘खोला त हाम्रो घाँटी घाँटी आएको थियो,’ उनले भनिन्, ‘१२ गते देखि घर फर्केर पनि जान सकेनौँ, अब कहाँ जाने होला।’
केही दिनअघि नगरपालिकाका कर्मचारी पालमा बस्नेहरुलाई टहरा बनाइदिने बाचा गरेर गएका थिए। बलियो ओतको आशले शान्त भएको थियो भूकम्पले हल्लाएको मन। आज बिहान पुलिस आएको थियो। नगरपालिकाका तिनै कर्मचारीलाई देख्न पाए पनि हुन्थ्यो झैँ लागेको छ उनलाई।
उनीहरुको पसल थियो त्यै पसल नखोलेको पनि चार महिना बित्यो। राहतमा पाएका सामानको भरमा उनीहरुले दिन काटेका थिए।
‘आज त यी पालपनि डुबे ऊ त्यो पाल अड्याउने डण्डीको टुप्पो मात्रै देखिएको थियो,’ उनको अनुहार एकतमासको भयो।
बिहान ढल्किँदै गएपछि, बाढी थामियो हनुमन्ते खोलो आफ्नै सुरमा बग्न थाल्यो। अनि पालभित्र हिलोमा पुरिएका आफ्ना सामान निकाल्न थाले बस्तीका मानिसहरूले।
धेरैलाई थाहै थिएन ति चिसा भएका सामान कहाँ लगेर राख्ने। बेलुका ओत लाग्ने कहाँ हो थाहै थिएन।
‘उताबाट बादल कालो हुँदै आएको छ,’ ताराले आकाशतिर हेरेर छोराहरुसँग भन्दै थिइन्।
हामी निस्किँदै गर्दा दुई बच्ची गेट भित्र पस्दै थिए। एकजना बच्ची त स्कुल ड्रेसमै थिइन्। अर्कि गुलाबी जामा लगाएर डुबानमा परेको त्यो चौरमा आउन आँटेका।
‘तिम्रो पाल पनि यतै हो, स्कुल किन नगएको नि?’
उनले जवाफ दिइन, ‘स्कुलबाट आएको, हाम्रो घर त डुबेको छैन मेरी साथी रजनीको पालै डुब्यो। उसका त किताब पनि डुबे।’
‘अनि साथी स्कुल जान पनि पाइनन् हो?’
‘गएकी थिइ। स्कुलमा उसलाई एउटा पेन्सीलमात्रै मिल्यो।’
यति भनिसकेर उनिहरू आफ्नी साथीलाई खोज्न हिलाम्य मैदान तिर गए।