– ए बाबु, मेरो एउटा इन्टरभ्यू लिइ दे न। शुक्रबारदेखि रेशम फिलिलि हलमा लाग्दैछ। प्रचार–प्रसार चाहियो...
‘अहिले त अलिक व्यस्त थिएँ दाइ’
(वास्तवमै व्यस्त थिएँ, त्यहाँमाथि अहिले फिल्मी कुरा कसले पढ्ला?)
– भाउ खान्छस्? मलाई परेको बेला ठूलो मान्छे बन्न खोज्छस्?
‘अरु कसैले गरिदिए हुँदैन?’
– वीरगन्जको घन्टाघरदेखि काठमाडौंको धरहरासम्मलाई जोड्ने गरी मेरो संघर्ष तँ बाहेक अरु कल्ले देखेको छ?
यहाँनिर माधव दाइ अर्थात् अहिले चल्तीका फिल्म निर्माता माधव वाग्लेको कुराले घोत्लिन बाध्य पा¥यो। अचानक थुप्रै याद बटारिएर आउन थाले।
मेरो दिमाग ०५३ सालतिर दौडियो। कसैको बहुमत नपुगेको संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई त्योबेला गजब दाउ लागेको थियो। हातमा १९ वटा सिट भए पनि पालैपालो राप्रपाकै प्रधानमन्त्री। त्यसैगरी सांसदजति सबै मन्त्री।
यस्तोमा वीरगन्जेली मन्त्री राजीव पराजुलीको निजी सचिव भएर पुल्चोकमा व्यस्त रहने गर्थे माधव दाइ। दुःखको कुरा के भने माधव दाइबाहेक पराजुलीकै निजी सचिव दाबी गर्ने वीरगन्जकै अर्का दुई जना पनि त्यहीँ थिए। यस्तो अवस्थामा मन्त्री पराजुलीले अलिक वास्ता गर्ने किसिमका कुनै पनि वीरगन्जेली पुल्चोक पुग्नेबित्तिकै तीनै जना ‘निजी सचिव’को तानातानमा पर्थे।
वीरगन्जतिर एउटा भनाइ छ ‘मरता क्या नहीँ करता?’ यस्तै परिबन्दले माधव दाइ मन्त्री निवास छिरेका थिए। अमलेखगन्जतिर कंक्रिटको पोल बनाउने विश्व बैंकको ठेक्कामा उनलाई २२ लाख घाटा लागेको थियो। यस्तो बेला के गरौं र कसो गरौं कै तालमा उनी रन्थनिएका थिए।
‘कृषि विकास बैंकको आठ लाख ऋण, त्यहाँमाथि भएको घर पनि बन्धकमा,’ माधव दाइ सम्झन्छन्, ‘मन्त्रीको छेउछाउ बस्दा केही उपाय लागिहाल्छ कि भन्ठानेको त्यहाँ पनि गञ्जागोलमा पो फस्न थालेँ।’
केही समयमै माधव दाइ वीरगन्ज र पुल्चोक दुवैतिर देखापर्न छाडे। अचानक गायबै भए। त्यसको निकैपछि थाहा भयो, माधव दाइ त कता कसो मिलाएर जापान पो हुत्तिएछन्।
‘१२ वर्ष जापान बस्दा मेरो केवल दुईवटा काम थियो,’ माधव दाइ अहिले सम्झन्छन्, ‘एउटा पैसा कमाउने, अर्को सिनेमा हेर्ने।’ उनका अनुसार दिनमा कम्तीमा पाँचवटा सिनेमा छुट्दैन थियो।
जापानको जुन स्टोरबाट सिनेमा लिन्थे त्यहाँ आएको एउटा परिवर्तनले उनी चकित परे। भर्खर जापान पुगेको बेला त्यो स्टोरका चारमध्ये तीन भागमा हलिउडका सिनेमा अटाएको थियो भने उनी फर्कने बेलासम्म त्यसको ठाउँ कोरियन सिनेमाले ओगटिसकेको थियो। जबकि कोरियन सिनेमा पहिले त्यहाँ भेटिन पनि मुश्किल पथ्र्यो।
‘संसारभरका दर्शकले जतासुकै बने पनि राम्रो सिनेमा खोज्दा रहेछन्,’ उनले त्यहाँ सिकेको ज्ञान सुनाए, ‘सिनेमामा पहिचानै नभएको मुलुकले पनि केही वर्षमै विश्व बजार हल्लाउन सक्दो रहेछ।’
***
कुम्भ मेलामा हराएका चिनारु ठ्याक्कै १२ वर्षपछि भेटिँदा कस्तो होला?
– ए बाबु, तँ कान्तिपुरमा छस्। होइन?
एकछिन त वर्षौंपछि माधव दाइको आवाज सुनेर आनन्द लाग्यो।
‘छोडिसकेँ। अहिले नागरिक दैनिकमा।’
– अच्छा खैर छोड्। जहाँ भए पनि मलाई तँसँग काम परेको छ।
‘के काम?’
– एउटा सिनेमा बनाएको छु। ‘फस्र्ट लभ’। त्यसको पब्लिसिटी तैँले हेरिदिनु प¥यो।
‘के नचाहिने कुरामा लाग्नुभएको दाइ? अरु कुनै ब्यापार गर्नुभए हुन्थ्यो।’
– अब मैले के गर्नुपर्छ र पर्दैन भन्ने पाठ नपढा। फलाना फलाना पत्रकारले पैसा लिएर पब्लिसिटीको पूरै जिम्मा सकार्दा रहेछन्। तँ त मेरो भाइ। अरुलाई दिनुभन्दा तँलाई दिन्छु। काम गर्छस् कि गर्दैनस्?
‘म यस्तो काम गर्दिनँ।’
– समाचार पनि छाप्दैनस्?
‘अफिसमा आउनुस्। लेख्ने साथीसँग भेट चाहिँ गराइदिन्छु।’
माधव दाइ आए र मैले मित्र सन्तोषसँग भेट गराइदिएँ। त्यसपछि छापियो– छापिएन वा के भयो, कुनै मतलब राखिनँ।
एकैपटक केही महिनापछि एउटा भेटघाटमा नेपथ्यका मुख्य गायक अमृत गुरुङका मुखबाट त्यही सिनेमाको नाम सुनेँ।
‘नेपाली सिनेमा पनि राम्रा राम्रा बन्न थालेछन्,’ अमृत दाइको भनाइ थियो, ‘एउटा फस्र्ट लभ भन्ने सिनेमा हेरेको गजब लाग्यो।’
मेरो दिमाग फनक्क घुमेर त्यसका निर्माता माधव दाइतिर पुग्यो।
उनै माधव दाइ जसले जापानमा १२ वर्ष बिताएर आएपछि नेपालमा व्यस्तताको निम्ति सिने क्षेत्र रोजेका थिए। र, त्यही सिनेमा जसका निम्ति म उनीसँग पन्छिन खोजेको थिएँ।
‘जापानबाट फर्केपछि त्यत्रो ठक्कर खाएको ठेकेदारी पेसामा फेरि लाग्ने मन थिएन,’ सिने क्षेत्रमा जोडिनुको कारण अथ्र्याउँदै उनी भन्छन्, ‘अनेक विकल्प खोजिरहेकै बेला नरेन्द्रसँग हिँड्न थालेँ।’ अढाइ दसकभन्दा लामो समयदेखि फिल्म
वितरक रहँदै आएका वीरगन्जकै घनिष्ठ साथी नरेन्द्र महर्जन अब काठमाडौं बस्न थालेका थिए। यसरी दुई वर्षसम्म घुम्दा घुम्दै महर्जनमार्फतै फिल्म उद्योगदेखि लिएर यसको बजारसम्मका मान्छेसँग हिमचिम बढ्दै जान थाल्यो।
‘चिनजान बढ्दै थियो तर मसँग पहिचान थिएन,’ माधव दाइ भन्छन्, ‘यस्तोमा सिनेमा बनाउने निधो गरेको थिएँ।’
सुरुमा चल्तीका निर्देशक उज्ज्वल घिमिरेलाई भेटे। काम भएन। उनलाई असाध्यै मनपरेको सिनेमा ‘सानो संसार’का निर्देशक आलोक नेम्वाङले पनि वास्ता गरिदिएनन्। प्रणव जोशी भेटेपछि उनलाई अर्को प्रतिभाशाली फेला पारेजस्तो भयो। तर, कहिल्यै सिनेमा नबनाएका प्रणवले पारिश्रमिकै १० लाख र मुनाफाको पनि १५ प्रतिशत हिस्सा मागिदिए।
‘त्यतिबेला चल्तीको मानिने निर्देशक शिव रेग्मीले ६ लाखमा काम गर्थे,’ माधव दाइ भन्छन्, ‘जबकि म्युजिक भिडियो मात्र बनाएका प्रणव त्यति धेरै पैसा मागिरहेका थिए।’
कुरा नमिलेपछि जुन ठाउँमा प्रणवलाई भेटेर फर्कँदै थिए, त्यसैको तल उनी अर्का युवा निर्देशक सिमोस सुनुवारसँग ठोक्किन पुगे। सिमोसले बनाएको ‘मिसन पैसा’मा प्रयोग भएको एनिमेसन ग्राफिक्सबाट उनी प्रभावित भएका रहेछन्।
उनैसँग कामकुरो पनि मिल्यो।
सिनेमाको निम्ति धेरैले ल्याएको स्क्रिप्ट मन नपरेपछि माधव दाइ आफैँले एउटा कथा बनाएर त्यसलाई स्क्रिप्टमा ढाल्न प्रचण्डमान श्रेष्ठलाई दिएका थिए।
‘त्यो स्क्रिप्ट मार्फत् म आफैँलाई कति पानीमा छु भनेर जाँच्न पनि चाहन्थेँ,’ आफूले बनाएका सबै सिनेमामा कास्टिङ डाइरेक्सनसमेत गर्ने उनी भन्छन्, ‘सिनेमाले चिताएको भन्दा सफलता पायो।’ ७५ लाख रुपैयाँ खर्च गरेर बनाएको उनको यो पहिलो सिनेमा नै मुलुकका ६३ वटा हलमा चल्यो र ९० लाख रुपैयाँभन्दा बढी कमाइ ग¥यो।
***
अहिले वीरगन्जको घन्टाघर उभिएकोभन्दा ठीक पूर्वतर्फ कुनै समय सहरकै भव्य ल्यान्डमार्क थियो, ‘सुवर्ण महल’। तीनतिरबाटै जंगलले घेरिएको रातो रंगको भब्य दरबार। हिरण्य शम्शेर बडाहाकिम भएर आएपछि बनाइएको त्यो राणाकालीन दरबार कुनै समय वीरगन्जकै शक्तिको प्रमुख केन्द्र थियो। आज पनि सहरको गरिमा बढाइरहेका थुप्रै संस्थाको जग यस दरबारमै गरिएको निर्णयले बसालिएको थियो। राजनीतिका हिसाबले त यसको महत्वको झन् कुरै भएन। चाहे त्यो बडाहाकिम हिरण्य शम्शेरका कारण होस् वा उनकै छोरा एवं नेपाली कांग्रेसका अग्रज नेता सुवर्ण शम्शेरका कारण। सहरभरिले सुन्नेगरी हरेक घन्टा ठूलो फलाम ठोकेको अवाज त्यहीँबाट निस्कन्थ्यो। फूलपातीको बढाइँ त्यसैको परिसरबाट सुरु हुन्थ्यो।
तर, राणाकालपछि त्यो विशाल भवन जिर्ण बन्दै गयो र यसका ठूल्ठूला कोठा सरकारी कार्यालयका कर्मचारीको क्वार्टरमा परिणत भए।
देशभरबाट आएका रंगीविरंगी कर्मचारीको परिवारले भरिएको त्यो दरवार जिर्ण भए पनि जहिल्यै गुलजार देखिन्थ्यो। खेलकुदका कार्यक्रम त्यहीँ हुन्थे, साँझ परेपछि अगाडि सेतो पर्दा लगाएर ख्याट ख्याट आवाजमा प्रोजेक्टर पनि त्यही भवन अगाडिको फराकिलो चौरमा चल्थे। देखिने चाहिँ उही राजाहरु घोडा चढेको र जयजयकार गरिएका श्यामश्वेत दृश्यहरु।
सुवर्ण महलमै हुर्किएका माधव दाइका अनुसार उनले त्यो प्रोजेक्टरबाट आमा, हिजो आज भोलि, परिवर्तनदेखि लिएर माइतिघरसम्म हेर्न भ्याएका थिए।
‘सिनेमाको भूत त्यसै बेलादेखि मेरो दिमागभित्र सवार भएको हो,’ माधव दाइ भन्छन्, ‘नेगेटिभ काटेर टर्चलाइटले देखाउनेदेखि लिएर कमिक्सका चित्र काटेर मिलाउने कामसम्म गर्न थालेँ।’
यसरी तयार पारेका सिनेमा हेर्न सुवर्ण महलमा बस्ने थुप्रै कर्मचारी परिवारका बगालै छोराछोरी पर्याप्त हुन्थे। त्यसरी बनाइएका सिनेमा अनुभव आज पनि काम लागेको उनी सुनाउँछन्।
‘त्यतिबेला कमिक्सका टुक्रा काटेर जुन मिलाउने काम गथ्र्यौं त्यसैलाई त स्टोरीबोर्ड भन्दा रहेछन्,’ उनी थप्छन्, ‘अनि त्यो काम नलाग्ने दृश्यहरुलाई जुन हामी कैँचीले काटेर फाल्थ्यौं त्यसलाई नै एडिटिङ भन्दा रहेछन्।’
यसरी जानेको अनुभवले नै निकैपछि काठमाडौं आएर ‘फस्र्ट लभ’ तयार पारेका निर्मातालाई त्यसभन्दा अगाडि पनि बढ्नु थियो।
साथी अविनाशविक्रम शाहले एकजना प्रतिभाशाली नवयुवक फेला पारेको सुनाए। त्यसपछि ती युवक अर्थात् निश्चल बस्नेतसँग माधव दाइको सजिलै भेट भयो।
‘उनी एउटा सर्ट फिल्मको प्रस्ताव लिएर आएका थिए,’ सम्झन्छन्, ‘‘साढे बाह्र बजे’ नामको त्यो सर्ट फिल्मबारे यी नवयुवकले जुन जोशका साथ रोचक शैलीमा कथा सुनाए मलाई गजबै लाग्यो।’
माधव दाइले त्यसलाई लामै सिनेमा बनाउने र नाम पनि फेर्ने काम गरे। अघिल्लो सिनेमाभन्दा पनि थोरै बजेटमा यसको निर्माण सम्पन्न गरिदिने प्रस्ताव त झनै आकर्षक लाग्यो। यसरी जन्मियो नेपाली सिने उद्योगमा हलचल ल्याउने फिल्म ‘लुट’।
त्यसभन्दा अगाडिसम्म राम्रै चर्चा पाएको नेपाली सिनेमाले पनि काठमाडौं भरका हलहरुबाट एकमुस्ट ६० लाख रुपैयाँ सेयर पाउने गरेकामा पहिलोपटक ‘लुट’ ले केवल एउटै हल क्यूएफएक्सबाट त्योभन्दा बढी उठाएको थियो। ५५ लाख ६० हजार रुपैयाँमा तयार भएको त्यो सिनेमाले साढे चार करोड रुपैयाँ कमाएको थियो।
‘नेपाली फिल्मको इतिहासमै पहिलोपटक संसारभर जहाँ जहाँ नेपाली जाति पुगेका छन् त्यहाँ त्यहाँ नेपाली सिनेमाको प्रदर्शन भयो,’ उनी भन्छन्, ‘कुनै समय जापानको गिञ्जामा रजनीकान्तको सिनेमा हेरेर मैले नेपाली सिनेमाबारे जुन कल्पना गरेको थिएँ त्यसलाई आफैँले साकार पार्न सकेँ।’
‘लुट’ले तयार पारेको यो बाटोबाट अब प्रत्येक नेपाली निर्माताले सिनेमा बनाउने बेला विदेशको प्रदर्शनलाई पनि जोड्न थालेको देख्दा माधव दाइलाई आनन्द लाग्छ। उनी लुटको सिक्वल बनाउन केही वर्षदेखि तत्पर छन्। त्यसका निम्ति डेढ सयभन्दा बढी स्क्रिप्ट सुनिसके। तर, कसैले ल्याएको स्क्रिप्टले पनि उनलाई चित्त बुझेको छैन।
...
‘लुट’को सफलता पछि माधव दाइले ‘छड्के’ र ‘मिशन पैसा २’ ल्याए। ‘छड्के’ले त जसोतसो लगानी उठायो। ‘मिशन पैसा’मा भने उनी नराम्ररी डुबे। डुब्नुबाहेक यो क्षेत्रमा लागेदेखिका उनका पार्टनर नरेन्द्र महर्जनसँगको साथ पनि यसै सिनेमाबाट टुट्यो।
‘छड्केमा जुन प्लट लिइएको थियो त्यो नै काम लागेन,’ उनी भन्छन्, ‘मिशन पैसा भने चार वर्ष लगाएर तयार पारिएकाले रिलिज हुने बेलासम्म बासी भइसकेको थियो।’ मिशन पैसाको सुटिङ अवधिभर आफू बिरामी परेर अस्पताल बस्नुपरेकोमा पनि उनलाई थकथकी लागिरहेको छ।
एक करोड २० लाख रुपैयाँ लगाउनुका साथै भएभरका नामचलेका कलाकार समेटेर बनाएको ‘छड्के’ डुब्दा उनलाई पर्नु पीर परेको थियो।
‘मिडियाले त यति गाली गरे मानौं मैले ठूलै अपराधै गरेको हुँ,’ उनी भावुक हुँदै भनिरहेका थिए, ‘जीवनमा दुईपटक रोएँ। एउटा बुवा बित्दा, अर्को छड्के रिलिज हुँदा।’
त्यसयता माधव दाइले अन्य नौ जना फिल्मकर्मीसँग मिलेर अर्को कम्पनी ‘पपकर्न मुभिज’ पनि थालिसकेका छन्। आफ्नो निजीबाहेक यो दोश्रो कम्पनीबाट पनि उनी प्रमुख कार्यकारी रहेको टिमले ‘कबड्डी’, ‘टलकजंग भर्सेज टुल्के’ जस्ता सिनेमा तयार पारेर सफल व्यापार गरिसकेको छ।
***
‘कहाँ छस् रे आजकल? सफ्फा गायब भइस...’
फस्र्ट लभको बेला नागरिकको कार्यालयमा भेटिएका माधव दाइ त्यसपछि एकैपटक लामो अन्तरालपछि नायक एवं निर्देशक अनुप बरालको बिहेमा देखिए।
– हिजोआज पनि कागजमै अखबार पढ्ने गर्नुभएको होला, अनि के भेट हुन्थ्यो?
साथीहरुको बीचबाट मैले ठट्यौलो जवाफ दिएँ जसलाई माधव दाइले बुझेनन्। कसैले अथ्र्याइदिए–‘सेतोपाटी’।
बुझ्न त अझै बुझेका थिएनन्। तै पनि बुझेजस्तो गरेर हाँसे माधव दाइ। कालो चश्माले आँखालाई ढपक्कै ढाकेको थियो। रात चढ्दै गयो–ह्वीस्कीका गिलास रित्तिदै गए। माधव दाइका एकपछि अर्का बखान चल्न थाले। वीरगन्जका दाइहरुको ‘दाइपना’ जहिले पनि वीरगन्जका भाइहरुको अघिल्तिर अलिक बढी नै जागरुक हुनेगर्छ। माधव दाइ मात्र किन पृथक् हुन्थे?
हामी बसेकै लहरमा एउटी चर्चित र सुन्दर नायिका आइपुगिन्। माधव दाइ मेरो छेउबाट लसक्क उनीतिरै गए। यसो तान्न खोजे, नायिकाले अप्ठेरो मानेजस्तो गरिन्। तानेर मात्र पुगेन गालामा ओँठै जोड्ने हिसाबले घाँटी तन्काए। त्यो बेलाको ठीक अवस्था कस्तो थियो भने माधव दाइ त्यो दृश्य ‘यो वीरगन्जियाले हेरोस्’ भन्ने कामना गरिरहेका थिए। ओँठ उता भए पनि आँखा यता थियो। म भनेँ ‘त्यो देखौं पनि र हेर्न भ्याएको जस्तो नदेखियोस् पनि’ भन्ने उपायमा थिएँ। उता सकसमा थिइन् नायिका। यो अवस्था धेरै खराब नहोस् भनेर म लुसुक्क अन्त लागेँ।
***
‘नम्रता श्रेष्ठ सहरीया युवतीको भूमिकामा मात्र जम्छिन्,’ माधव दाइ भन्छन्, ‘मैले नै परिचय गराएको ऋचा शर्मा र अर्की नायिका प्रियंका कार्कीले विविधतापूर्ण भूमिका निभाउन सक्छन्। केकी पनि ठीकै छिन्।’ तर, जति जे भने पनि नायिकाका मामलामा हामी कमजोर अवस्थामै रहेको उनको ठहर छ।
नायकहरुमा भने सौगात मल्ल, दयाहाङ राई र कोशिस क्षेत्री उनलाई मनपर्छन्। एक त खासै स्टारडम नै विकास नभएको र त्यसमाथि रेखा थापा र राजेश हमाल पुराना भइसकेका कारण हामीकहाँ एउटै पनि स्टार नरहेको उनको ठहर छ।
निर्देशकमा निश्चल, निगम र प्रणव उनलाई ठीक लाग्छन्।
‘सबैको आ–आफ्नै विशेषता हुन्छ,’ उनी भन्छन्, ‘देशभक्ती पाराको सिनेमा बनाउनु परेछ भने म मनोज पण्डितलाई लिन्छु।’
यसरी ‘लुट’, ‘छड्के’ र ‘रेशम फिलिलि’सम्ममा नयाँ निर्देशकहरु जन्माउने यी निर्मातालाई पछिल्लो समय चलचित्र विकास बोर्डले ल्याउन थालेको नीतिले पार्नुसम्म चिन्तित पारेको छ।
‘जतिसुकै प्रतिभाशाली भए पनि पुराना निर्देशकले सन् २०१५ को दर्शक चाहना पूरा गर्नै सक्दैन,’ उनी भन्छन्, ‘नत्र त निर्देशनको काम म आफैँले सम्हालिहाल्थेँ।’
उनको भनाइमा निर्माताले निर्देशकलाई चिन्न सक्नुपर्छ र निर्देशकले अहिले तत्काल समयलाई।
‘म त हिरा खोज्ने जौहरी हुँ,’ उनी भन्छन्, ‘मेरो सिनेमा निर्देशन गर्नसक्ने प्रतिभाशाली युवक भेटेँ भने त्यसको निम्ति जुनसुकै लडाइ लडेर भए पनि उबाट सिनेमा बनाएरै छाड्छु।’
***
‘ए कतार, कतार, कतार...’
एउटा विमानको पछिल्लो ढोकामा बसेर पूरै कण्डक्टर शैलीमा भित्तो ठटाउँदै कुनै युवक चिच्याइरहेको थियो। मानौँ भनिरहेको छ, ‘ए रत्नपार्क, रत्नपार्क, रत्नपार्क...’
सिनेमाहलमा कुनै नयाँ नेपाली फिल्मको यो ट्रेलर देखेर मेरो शरीरका सबै नशाहरुबाट एकैपटक रक्तसञ्चार तीब्र भए। फिल्मको नाम थियो ‘रेशम फिलिलि’। त्यो हलमा बाँकीको सिनेमा हेरुन्जेल पनि अघि त्यही ट्रेलरकै दृश्य आँखामा घुमिरहेको थियो। मनमनै ‘काइदा जानेछन्...’ भन्ने लागिरह्यो।
त्यसको केही साता नबित्दै यु ट्युबमा एउटा नेपाली गीतले आतंक नै मच्चायो। त्यो गीत पनि ‘रेशम फिलिलि’कै थियो। कसको सिनेमा रहेछ भनेर खोज्दै जाँदा त यो पनि उनै माधव दाईको ...
पारी त्यो डाँडामा
हेर घाम लाग्यो घमाइलो
लाग्यो मलाई रमाइलो
तिमी र म घुम्न जाउँ न
गीत एकदम बेग्लै थियो। टिपिकल पाराको। मिठो सुनिने। युट्युबमा यस्तरी यसको रोग मच्चिएको थियो कि नाम टाइप गर्नेबित्तिकै ठूलै सूची तेर्सिने। सबैको हजार–लाख क्लिक। संसारभर फैलिएका नेपाली मात्र होइन कतै कतै त विदेशीले पनि गाउँदै र नाच्दै युट्युबमा हाल्न भ्याएका।
‘ग¥यो...माधव दाइले खायो...’
घर घरमा केटाकेटीले यही गीत गाएको देख्न थालेपछि मनमा अनेक तरंग खेल्न थाले।
‘यो गीत खोज्ने श्रेय मभन्दा पनि सिनेमाको मेरो पार्टनर विनयलाई जान्छ,’ माधव दाइ भन्छन्, ‘मानस श्रेष्ठले लेखेको यो गीत हामीभन्दा पहिले अरु फिल्ममेकरलाई पनि सुनाइएको रहेछ। तर, सुन्नेबित्तिकै मनपराउने काम हामीले ग¥यौं।’
कालीप्रसाद र आलमोडा राणाले कम्पोज गरेपछि त गीत झनै गजब सुनिन थालेको उनी बताउँछन्।
गीतमा स्वर चाहिँ अझै भरिएको थिएन।
विनय नै झम्सिखेलतिरको कुनै रेष्टुरेन्टमा पुग्दा त्यहाँ गाउने सोफिया बराइलीको आवाज सुनेर प्रभावित भएछन्। उनले उत्तिनैखेर बराइलीलाई यो गीतका निम्ति अनुबन्ध गरिदिए।
त्यसपछि यो गीतमा केही चर्चित नेपाली सेलिब्रिटीहरु जम्मा पारेर नाच्न लगाइयो। नाचेको दृश्यसहित गीत यु ट्युबमा हालियो।
अमेरिका बस्ने निकी कार्कीको स्वर पनि उत्तिकै मिठो रहेछ। उनले यही गीतलाई आफ्नो भर्सनमा राखेर गाइदिइन्। इमोसन पनि देखाउँदै। मोबाइलमै गाएर रेकर्ड गरेको त्यो भिडियो यु ट्युबमा अपलोड गरिछिन्। ‘त्यो अपलोड भएलगत्तै यो गीत त चरा उडेजस्तो उड्न थालिहाल्यो,’ माधव दाइ भन्छन्, ‘त्यसपछि त लहरै कस्तो चल्न थाल्यो भने मान्छे मान्छेले आफ्नो भर्सनमा गाउँदै नाच्दै रेकर्ड गर्दै र यु ट्युबमा राख्दै गर्न थाले।’
नेपाली संगीतको इतिहासमा यति चाँडै यति धेरै मान्छेमा फैलने अर्को सायदै कुनै गीत होला।
तर, त्यतिले पनि लहर थामिनेवाला थिएन।
‘त्यसको साता दिन नबित्दै अष्ट्रेलिया बस्ने केही तन्नेरीहरुले पार्कमा यो गीत लगाएर नाचेको भिडियो यु ट्युबमा हाले,’ उनी भन्छन्, ‘त्यसपछि त झन् संसारभर बेतोड कुद्न थाल्यो।’
कुन गीतलाई श्रोताले कसरी मनपराउँछन् भन्ने कुरा कहिलेकाहीँ कसैले अनुमानै लगाउन सक्दैन। यो गीत यसरी हजारभन्दा बढी भर्सनमा यु ट्युब भित्र लोड भइसकेको छ।
‘हामीले त त्यसपछि केही गर्नैपरेन,’ माधव दाइ भन्छन्, ‘मैले ६० लाख रुपैयाँ खर्च गरेको भए पनि सिनेमाको निम्ति यत्तिको पब्लिसिटी पाउनेवाला थिइनँ, त्यति फाइदा गराइदियो।’
तर, रिलिज भएको भोलिपल्टै महाभूकम्प गइदिनाले सिनेमाको भाग्य भने उत्ति चम्किलो हुनसकेन।
‘शनिबारको साटो आइतबार मात्र भुइँचालो गइदिएको भए पनि एक दिनमै म थप चालिस लाख कमाउँथे,’ माधव दाइ भन्छन्, ‘तर, सारा देस रोइरहेको बेला म मात्र जोगिएको भए हुन्थ्यो भनेर कसरी सोच्नु?’
बरु उनले फिल्म युनिटकै तर्फबाट गाउँ गाउँ पुगेर राहत बाँडे। विवेकशील नेपालीका तर्फबाट एक लाख नगद सहयोग पनि प्रदान गरे।
सिनेमाको भाग्य कतिसम्म खराब भइदियो भने भुइँचालोपछि पनि बल्लतल्ल यसै शुक्रबारदेखि राजधानीको हलमा पुनः रिलिजको मौका पाएकै बेला मुलुक राजनीतिक कारणले फेरि आक्रान्त बन्न पुगेको छ।
सिनेमाको भाग्य जस्तो भए पनि गीतले गरेको चमत्कार चाहिँ तै पनि माथि नै छ।
‘६० लाखको लागतमा बनेको यो सिनेमाको पैसा त विदेसमा देखाएरै कमाइसकेको छु,’ माधव दाइले भने, ‘भोलिबाट जति दिन जसरी चल्छ त्यो सबै पैसाले योभन्दा राम्रो अर्को सिनेमा बनाउन सघाउ पुग्नेछ।’
इन्द्रबहादुर राईको कथा ‘जार’ मा आधारित सिनेमा उनको अर्को ‘ड्रिम प्रोजेक्ट’ हो।