सिरहाको लहान नगरपालिका– २० स्थित सिंग्राहीका एक युवकले आज बिहान आफ्नै बहिनीमाथि गोली चलाएका छन् ।
गोली लागेर स्थानीय २३ वर्षीया रेणुकुमारी महतो गम्भीर घाइते भएकी छन्। घाइते रेणुलाई उपचारका लागि विराटनगर लगिएको छ। रेणुको बिहे गत वर्ष सिरहाको चौहर्वामा गरिदिइएको थियो, तर त्यहाँबाट भागेर सिंग्राहीस्थित घर अगाडि नै प्रेम विवाह गरी आएको झोँकमा दाजुले नै गोली चलाएर मार्ने प्रयास गरेको स्थानीयको भनाइ छ।
स्थानीय सन्तोष महतोले भने,“पहिले रेणुमाथि गोली प्रहार भयो। तर कपालमा हल्कामात्र लाग्यो। त्यसपछि धारिलो हतियारले रेणुको हात र टाउकोमा प्रहार गरेर अवस्था गम्भीर बनायो।”
गोली चलाउने उमेश साह भने फरार भएका छन् ।
यता इलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले रेणुमाथि गोली प्रहार नभई धारिलो हतियारमात्र प्रहार गरेर गम्भीर घाइते बनाएको बताएका छन्। उनले घटनाबारे विशेष अनुसन्धान भइरहेको पनि बताए। रासस